सर्वधन थुलुङ,-हाल ,बेलायत । बरिष्ट साहित्यकार डा. दामोदर पुडासैनी किशोरको उन्नाइसौँ कविता कृति -“मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” आद्योपांत हेर्ने मौका पर्यो । नेपाली साहित्य भण्डारमा यो पुस्तक फरक लेखन तरिका र फरक बिषय बोकेर आएकोले निकै महत्वपूर्ण र पठनीय बनेको छ ।
डा. पुडासैनीको यो कविता सङ्ग्रहमा जम्मा ५३ थान कबिताहरु छन् , जुन १६४ पृष्ठमा फैलिएको छ ।
डा. पुडासैनीले अमेरिका बसेर त्यहाँको परिस्थिति बुझेर लेंख्नुभएको कारण कबिता सङ्ग्रह आफैमा डायस्पोरिक मात्र छैन अमेरिकी परिवेश , अमेरिका र विश्व सँबन्ध , अमेरिकासँगको आकर्षण र विकर्षण सबै प्रष्टसँग बुझ्न सकिन्छ ।
यस सङ्ग्रहले ओगटेको दार्शनिक पक्ष , कविले लालित्यपूर्ण ढँगले निर्माण गर्नुभएका कविताले सबै पाठकले गहकिलो कृति पाएको महसूस गर्दछन् ।यो कृति यति गहन छ कि यसले सँसारलाई नै फरक ढँगले उचालेको छ यसको गहनताको बारेमा जति बयान गरेपनि कमनै हुन्छ , त्यो यहाँ सबै उतार्न सम्भव छैन।
डा. दामोदर पुडासैनी किशोरको मेन स्ट्रीटमा कुदिरेकी स्वास्नीमान्छे कविता सङ्ग्रहले मान्छेहरू बिदेशिनुको पीडा ,उनीहरू बिदेश पुगेपछि आफ्ना सपनालाई कसरी सामना गर्छ त्यो पूरा गर्नुको लागि अमेरिका मात्र होइन कि सँसारका व्यस्त शहरहरुका जिन्दगीबारे प्रष्ट चित्रण गरिएको देखिन्छ।
यो सङ्ग्रहले युद्धको कारुणिक बिचलनको वृतान्त खोलेको पाईन्छ , जसमा युद्धको बारेमा विशेष दोस्रो विश्वयुद्ध र त्यसपछिको युद्धको झल्को साथै हाल मध्यपूर्बी क्षेत्रको युद्धीय बिचरणले निम्त्याएको कोलाहल, भौतिक सँरचना र मानवीय बितन्डको बारेमा गहन प्रश्न समेत तेर्साएको छ कबिताले।
हाल बिश्वका शक्तिशाली हुँ भन्ने रास्ट्रले युद्धको नाममा गर्दै ल्याएको समकक्षी देखि निम्न ठानिने देशहरु माथिको हैकमवादी आम राजनीतिक र ब्यापारिक गतिविधि माथी उदाङ्गो पार्दै यस्तो स्वार्थी गतिबिधी प्रती खबरदारीर र पर्यावरणीय बिचलन प्रतिको घोर भर्त्सना नै लेखक डा. पुडासैनीको कवितामा लुकेको महत्त्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ। त्यस बाहेक यो सँग्रह ले युरोप अमेरिकाको ब्यस्त जीवन , बर्तमान जीवनको पीडा र बैज्ञानिक चमत्कारले मानवमा ल्याएको परिवर्तनलाई अत्यन्त मीठो र मननीय ढँगले काव्यात्मक स्वाद पस्किएको छ ।
बिदेशमा बसेर लेखिरहदा “यो मन त मेरो नेपाली हो” भन्ने गीतको पङ्तिले जस्तै यो सँग्रहमा डायस्पोरिक भावना प्रचुर पाइन्छ र कबिताले बसिरहेको ठाउँको, पारिवारिक मायामोहका आवेगहरु पोख्दै कर्णाली र फोक्सुन्डोको समेत उचालेको पाईन्छ ,जसले जो-जहाँ पुगे पनि देशको माया औधी रहन्छ भन्नू नै हो। यसरी देशको माया पोख्दै पुडासैनीले देश र सन्सारले बेहोर्नु परेको कोभिड जस्तो महामारीको झल्को,देश भित्रको सँयन्त्र र प्रक्रियालाई अनैतिक अबलम्बनको कारण रास्ट्रले ब्यहोर्नु परिरहेको शरणार्थी प्रकरणको अपचलन र लाजमर्दो कार्य र रास्ट्रले समयमा अप्राप्त रसायनिक खादले मोफसलको ह्रास, समाजले भोग्नु परेको मिटर ब्याजी कान्डको समेत कबिता मार्फत सम्बन्धित निकायलाई प्रहार गर्नु अर्को मीठो पक्ष मैले कबितामा पाएको छु।
पुडासैनीले अर्को आफ्नो नियात्रा पुस्तक “ग्रीष्मको नीलो बतास”मा काठमाडौ खाल्डोलाई बिबिध कारणहरुले हाल अजिङ्गरको मुख हुँदै गएको काठमाडौ भनेका छन झै हाल अमेरिकालाई पनि त्यस्तै कबितात्मक शैलिमा माछा पालिने पिजडा- एक्वारियम हो भनेको पाईन्छ।
यसरी:
“समुन्द्र खोज्दै आएका कुवाका माछाहरु
बिस्तारै जाकिएका छन् एक्वारियम भित्र
अक्सिजन बन्द गरिदिन्छ कि कसैले कुनै बेला
चिन्ताको श्वास घ्यार घ्यार चलिरहेछ।”
कबिता सङ्ग्रहले यति मात्र होइन देशको जनशक्ती दिनानुदिन बाहिर पठाउनु परेको दु:खद कुरा प्रती पनि चिन्तित भइ निराकरण गर्नु पर्ने सुचित समेत गरेका छ ।
समग्रमा, डा. दामोदर पुडासैनी किशोरको मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ , त्यसैले यो विशेष पठनीय छ ।
कबिताका शब्द र शैली विशेष भएकोले ग्राम बेँसी तिरका सामान्य मानस पटलले भने जोत्न, दाँदे लाउन अलिक सजिलो छैन। तर , हरेक सुन्दर चिजलाई बुझ्न केही न केही मेहनत त गर्नै पर्दछ । डा. दामोदर पुडासैनी किशोरका कविताहरू साँच्चै दाँते ओखरझैँ लाग्दछन् , पहिले भित्र पस्न गाह्रो , पसेपछि यति सुन्दर र मीठा छन् कि बयान गर्न गाह्रो पर्दछ ।
अन्तमा डा दामोदर पुडासैनीको
यो १९औँ पुस्तक मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे नेपाली साहित्यक्षेत्रको विशेष कृतिको रूपमा प्रकाशमा आएको छ । यो कविता सङ्ग्रह पूर्वीय र पश्चिमी जगतमा हाल प्रकाशित भइरहेका अरू काव्यकृतिहरूलाई प्रतिस्पर्धा गर्न र उछिन्ने हिम्मत राख्दछ ।यसकोलागि बरिष्ट साहित्यकार डा. दामोदर पुडासैनी किशोरलाई हार्दिक बधाई अर्पण गर्नै पर्छ ।
यसलाई अङ्ग्रेजी र अरू भाषामा प्रकाशित गर्न सके सँसारले नेपाली भाषामापनि यति गहकिला कृति निस्केको जानकारी पाउँने र यो कृतिबाट फाइदा लिनसक्नेथिए ।यति गहन कविता सँग्रहकोलागि कवि डा . दामोदर पुडासैनीलाई पुन: हार्दिक बधाई छ ।
प्रतिक्रिया