अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा ३४ औँ अनेसास दिवस मनाइएको छ । जनवरी ११ शनिवारका दिन संस्थापक होमनाथ सुवेदीलाई अभिनन्दन गरी मनाइएको सो कार्यक्रममा तीन कृतिहरूको लोकार्पण गरिएको छ ।
कवि राम अधिकारीको कवितासङ्ग्रह ‘सपना र छायाहरू’ साहित्यकार होमनाथ सुवेदीको ‘नन्दा’ शोककाव्यको भिडियो संस्करण र वरिष्ठ पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यास लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै दाहालले मुलुकबाहिर बस्ने नेपाली नेपालको गहना नभएर धुकधुकी भएको भनाइ राख्नुभयो । नेपालीहरू संसारका अनेक मुलुकमा पुगेर साना साना नेपाल बनाउँदै आफ्नो जीवनयापन गर्दै नेपाललाई बलियो बनाएको बताउँदै अवको दुनियामा विश्वको जुनसकै कुनामा बस्न सकिने जनाउनुभयो । अहिलेको समयमा विश्वका अधिकांश मानिसहरू जन्मभूमिभन्दा छिमेकी भूमिमा बढी बसोबास गर्नथालेको उहाँको भनाइ थियो ।
विशिष्ट व्यक्तित्वको रूपमा सम्मानित भएका साहित्यकार तथा अनेसासका संस्थापक होमनाथ सुवेदीले अनेसास नेपाली भाषा, साहित्य, कला, सँस्कृति, सभ्यता र शिक्षालाई विश्वभर फैलाउने विशाल संस्था बनेको भन्दै यसलाई अनेसासमा लागिरहेका व्यक्तिहरूको जिम्मेवारी हुने भनाइ राख्नुभयो ।
विशिष्ट अतिथिको रूपमा बोल्दै अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनालले हाम्रा सन्ततिहरूलाई नेपाल र नेपाली भाषाबारे जानकारी गराउनु हाम्रो कर्तव्य हुने बताउनुभयो । ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको समीक्षकको रूपमा बोल्दै अनेसास पुरस्कारसमिति संयोजक तथा बीओटी उपसभापति तीर्थ पाण्डेले कृतिले आञ्चलिकता प्रस्तुत गर्न खोजेको र कृतिमा केही सीमाहरू रहे पनि अधिकांश सबल कविताहरू समावेश रहेको जनाउनुभयो ।
बीओटी सचिव तथा समीक्षक नारायण अधिकारीले उक्त कृतिको समीक्षा गर्दै सङ्ग्रहमा छोटा र लामा दुवै आकारका शक्तिशाली कविताहरू रहेको, कविले स्वदेश र विदेशका अवस्थालाई काम गरेको तर भाषिक रूपमा केही त्रुटिहरू देखिएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित भएका कवि राम अधिकारीले आयोजक संस्था डीसी च्याप्टरलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
अनेसास बीओटी महासचिव प्रकाश नेपालले कवि अधिकारीलाई शुभकामना दिँदै लोकार्पित कृतिबाट कवितावाचन गर्नुभयो ।
अनेसास केन्द्रका पूर्व अध्यक्ष भीम रेग्मीले सन १९ सय ९१ मा स्थापना गरिएको अनेसास आज विश्वका अनेक मुलुकहरूमा पुगिसकेको बताउनुभयो ।
अनेसासका पूर्व अध्यक्ष तथा बीओटी सल्लाहकार पुरु सुवेदीले ‘नन्दा’ काव्य नेपाली काव्यजगतमा नयाँपन लिएर देखापरेको जनाउनुभयो ।
अनेसास डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको अध्यक्षता र महासचिव जगन्नाथ पौडेलको सञ्चालन रहेको कार्यक्रममा साहित्यकार घनबहादुर थापा, अनेसास केन्द्रका सदस्य पुष्पा खनाल, साहित्यकार खिमानन्द आचार्य, कल्पना सुवेदी,न्याकका अध्यक्ष अरुण रूपाखेती, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्की, अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनाल,तिर्थ पाण्डे,प्रकाश नेपाल,समाजसेवी परशुराम भण्डारी, प्रेम पौडेल, कृष्ण भण्डारी, सुरेश पौडेल, दिनेश घिमिरे, देवराज जोशी, रामहरि फुयाल, सागर तिमिल्सिना, भरत रिजाल, शुभा नेपाल, गोमा न्यौपाने, सिर्जना खनाल, यसोदा भन्डारी, पुष्पकला घिमिरे, भीमविक्रम शाही, भुवनप्रसाद सिग्देल, धर्मेन्द्र शर्मा, शिवप्रसाद शर्मा, मैया शर्मा, राकेश तामाङ, रेसा काफ्ले, रञ्जु खनाल, यादव जोशीलगायत दर्जनौँ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने उपस्थित व्यक्तित्वहरूलाई अनेसास डीसी च्याप्टरका वरिष्ठ उपाध्यक्ष कवीन्द्र सिटौलाले स्वागत गर्नुभएको थियो भने सबैको प्रिय अनलाइन पत्रिकाका प्रधान सम्पादक विश्वराज थापाले प्रत्यक्ष प्रसारण गर्नुभएको थियो ।
प्रतिक्रिया