सोलुखुम्बु। अमेरिकाबाट यसैवर्ष अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका थोमस वास्तोलाको नामवाट परिचित डा. थमन बास्तोलालाई सोलुखुम्वुको स्थानीय विद्यालयहरु र संघसंस्थाहरुले सम्मान गरेका छन् ।
डा. वास्तोला सोलुखुम्वु आएको अवसर पारेर सम्मान गरिएको हो ।
नेचासल्यान गाउँपालिकाभित्र रहेका साविकका नेचा बेतघारी र बतासे गाबिसबाट सबैभन्दा पहिले विद्यावारिधी गर्न सफल डा। बास्तोलालाई समाज र राष्ट्रको समेत गौरव बढाउन सफल भएको भन्दै स्थानीय विद्यालय तथा संघ संस्थाले बधाईसहित सम्मानित गरेका हुन्।
डा. बास्तोलालाई बिहीबार नेचासल्यान गाउँपालिका वडा नं ४ को केदार माध्यमिक विद्यालय र बास्तोला कूल सेवा समिति सोलुखुम्बुले छुट्टाछुट्टै र बुधबार साँझ संस्कृति संरक्षण समूहले सम्मानित गरेको थियो।
अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका डा. वास्तोला हाल अमेरिकाको एक विश्वविद्यालयमा अर्थशास्त्र विषयमा प्राध्यापन गर्छन ।
संस्कृति संरक्षण समाजद्वारा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रम समाजका सल्लाहकारसमेत रहेका नेचासल्यान गाउँपालिकाका संस्थापक अध्यक्ष एबम् नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बधाई तथा सम्मान गर्न आयोजना गरिएका कार्यक्रमका अधिकांश बक्ताहरुले डा. बास्तोलाको सफलता आम विद्यार्थीका लागि प्रेरणाको श्रोत बन्ने बताएका थिए।
सानैमा वुवा गुमाएका र सामान्य आर्थिक हैसियत भएका वास्तोलाले असंख्य चुनौतिहरु झेल्दै अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयवाट विद्यावारिधी गर्नु स्थानीय स्तरमा मात्रै नभइ राष्ट्रका लागि नै गौरव भएको वक्ताहरुले वताएका थिए । वक्ताहरुले डा. वास्तोलालाई प्राप्त ज्ञान समाज र राष्ट्रको समृद्धि,बिकास र रुपान्तरणमा लगाउन आग्रह गरेका थिए।
कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै डा. बास्तोलाले आफू जन्मेहुर्केको गाउँ र कख सिकेको विद्यालयले सम्मान गर्दा आफूलाई अत्यन्त खुशी लागेको बताए ।
यसैगरी नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयले पूर्ब विद्यार्थी डा। थोमस बास्तोलालाई सम्मानित गरेको छ ।
विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा पहिले विद्यावारिधि (पीएचडी) गर्न सफल भएको भन्दै पूर्ब विद्यार्थी डा. बास्तोलालाई शुक्रबार बिशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो। कक्षा ८ देखि १० सम्म सो विद्यालयमा अध्ययन गरेका बास्तोलाले ०५१ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालप्रसाद बास्तोला र हेमन्तकुमार सिंहले बास्तोलालाई सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सम्मानित ब्यक्तित्व डा. बास्तोलाले निश्चित संकल्पका साथ अघि बढेको खण्डमा सफलता प्राप्त गर्न सकिने बताएका थिए।
सदरमुकाम सल्लेरीमा आयोजना भएको बक्तृत्वकलामा पुरस्कृत भएपछि प्राप्त गरेको पैसाले आफुले कक्षा १० मा पढ्दा पहिलो पटक जुत्ता किनेर लगाएको स्मरण गर्दै उनले परिवर्तित परिवेशमा प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर्न सक्ने गरी आफूलाई तयार पार्नु पर्छ ।’
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश बाहिङले सञ्चालन गर्नुभएको सो कार्यक्रममा आआफ्नो धारणा व्यक्त गर्दै शिक्षक प्रेम कुमार कटेल,प्रधानाध्यापक लाल प्रसाद बास्तोला र कार्यक्रमका सभापति समेत रहेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाले निकै संघर्षपूर्ण अवस्थाबाट अमेरिका जस्तो विकसित देशको बिश्वविद्यालयबाट अर्थशास्त्र बिषयमा विद्यावारिधि पीएचडी गरेर विद्यालयको गरिमालाई उच्च बनाएको भन्दै डा. बास्तोला सम्पूर्ण विद्यार्थीहरुको प्रेरणाको श्रोत बनेको बताएका थिए।
कार्यक्रमपछि डा। बास्तोलाले हिमाल दर्शन माबिको स्वर्ण महोत्सवलाई सम्पन्न गर्न सहयोग स्वरुप अमेरिकामा रहेका सो विद्यालयका ८ जना विद्यार्थीहरुबाट संकलित १ लाख ५८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया