अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको आयोजनामा कवि कवीन्द्रराज सिटौलाको “फर्केर जाऊँ घर” भिडियो कविता गत शुक्रवार प्रदर्शन भएको छ । Guinness World Record को उद्देश्यसहित आरम्भ गरिएको ”प्रेम-कवितासङ्कलन विश्वयात्रा” महाअभियान अन्तर्गत पहिलो कविता सङ्कलन र प्रदर्शन कार्यक्रम गरिएको हो । प्रेमले विश्वमा देखापरिरहेका हिंसा र अशान्तिका भावहरू मेटाउन र विश्वशान्ति स्थापना गर्न सकिने विश्वास राख्दै कवि सिटौलाले प्रेममय भावसहित विश्व अभियान थालनी गर्न लागेको बताउनु भएको छ । बुध्दले करुणा र अहिंसाको सन्देश दिई विश्वमानवजगतमा नयाँ वैज्ञानिक सन्देश स्थापना गरेको स्मरण गर्दै वर्तमान समयलाई प्रेमको खाँचो रहेको उहाँको बुझाइ छ । हाम्रो गाउँ अनि देशमा प्रेम, आध्यात्मिक सत्सङ्ग, मेलमिलाप, सहभाव, बन्धुत्व, अपनत्व र सद्भावको आवश्यकता महसुस गरी यो महान् यात्राको थालनी गरेको उहाँले बताउनु भयो भने आगामी दश वर्षमा हाम्रो गाउँ र देशमा खुसीको दर बढाउन सकिने विश्वास लिई यो यात्रा थालनी गरेको पनि उहाँले जानकारी दिनुभयो ।
विश्वका प्रमुख देशहरूमा पुगी त्यहाँ नेपाली तथा सम्बन्धित देशका नागरिकहरूलाई कवितात्मक शैलीमा प्रेम विषयमा लेख्न आह्वान गरिनेछ । जसले नेपलीहरूमा घर फर्कने भावना जाग्नेछ भने नेपालको विश्वव्यापी प्रचार हुनेछ । कम्तीमा दश लाख व्यक्तिहरूबाट लेखन गरिने उक्त पुस्तक प्रेमविषय, पृष्ठ, आयाम र तात्क्षणिक लेखन गरिएको कृतिका हिसाबले विश्वमा पहिलो रेकर्ड राख्ने उहाँको विश्वास छ । उक्त महाअभियानमा देशविदेश जहाँ कहीँ रहने मानव समुदायका दाजुभाइ दिदीबैनीहरूले कविता लेखेर सहयोग गर्न अपिल गर्नुभएको छ । विश्वयात्रा पश्चात् आफ्नो जन्मभूमि पूर्वी नेपालको चुहानडाँडामा विश्वस्तरीय पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको समेत कवि सिटौलाले जानकारी दिनुभयो ।
प्रमुख अतिथिको रूपमा बोल्दै मेरिल्यान्डका डेलिगेट्स् ह्यारी भण्डारीले कवीन्द्रको महान् यात्राले साहित्य प्रेमीलगायत हामी सबै नेपाली जातिहरूको साख उचो हुने बताउँदै कवि कवीन्द्रको अभियान सफलताका लागि अमेरिकी डलर पाच सय सहयोग गर्ने प्रतिबध्दता जनाउनुभयो । सोही अवसरमा कवि तथा गीतकार अम्बिका गरुङले डीसी च्याप्टरसँगको सहयात्रामा नेपालमा रहेको आफ्नो जग्गामा सङ्गीतपार्क स्थापना गर्ने योजना रहेको बताउनुभयो भने सामाजिक व्यक्तित्व राम खरेलले अनेसास डीसी च्याप्टरलाई प्रोजेक्टर उपलब्ध गराउने प्रतिबध्दता व्यक्त गर्नुभयो । लेखक शिव लामिछानेले यो महान् कार्य हाम्रो जीवनमा फेरि दोहोरिन नसक्ने विशाल कर्म भएकाले सबै नेपाली र भाषा साहित्यप्रेमीहरूले खुलेर सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अनेसासका संस्थापक होमनाथ सुवेदी, अनेसास बीओटी महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, सल्लाहकार पुरु सुवेदी, पूर्व अध्यक्ष भीम रेग्मी, केन्द्रीय सदस्य पुष्पा खनाल, साहित्यकार तथा सल्लाहकार गोविन्द गिरी प्रेरणा, अम्विका गुरुङ, राम खरेल, पुष्कर पन्त, इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापा ,अर्जुन दाहाल, कृष्ण शर्मा,विशाल कार्की, रामशरण हुमागाई, कृष्ण सादगी, एड्रीएन पोख्रेल, परशुराम भण्डारी,चन्द्र लामा, केदारप्रसाद तिमिल्सिना, जानुका ओझा, बिना खड्का लामा,शरद निरोलालगायत दर्जनौ साहित्यकार तथा साहित्यानुरागी व्यक्तिहरूको उपस्थिति रहेको थियो । आसनग्रहणको परम्पराभन्दा भिन्न रूपमा सञ्चालन गरिएको कार्यक्रममा अनेसास डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीले सभाध्यक्षको रूपमा बोल्दै डीसी च्याप्टरले पहिलो कार्यक्रमको रूपमा महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबै उपस्थित महानुभावहरूलाई धन्यवाद दिनुका साथै कवीन्द्र सिटौलाको यात्रासफलताको कामना पनि गर्नुभयो । उपाध्यक्ष शकुन अधिकारीको स्वागत र महासचिव जगन्नाथ पौडेलको सञ्चालन रहेको कार्यक्रममा उपस्थित कवि तथा साहित्यानुरागीहरूबाट अभियानका रूपमा प्रेम विषयमा कविता सङ्कलन गरिएको थियो ।
जगन्नाथ पौडेल
प्रतिक्रिया