अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अपिल

इनेप्लिज २०८१ मंसिर ३० गते १०:५२ मा प्रकाशित

बिगत ११ बर्षदेखि, जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आईरहेको समाचार सर्वबिदित नै छ। यो अभियान देश बिदेशका नेपाली र नेपालीमूलका नागरिकहरुको अथाह सहभागिताका कारण छोटो समयमै देश बिदेशमा व्यापक भएको छ। यस अभियानलाई थप व्यवस्थित, ब्यापक र संस्थागत बनाउने उदेश्यले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” का संस्थापक अभियन्ता द्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा “नेपाली टोपी प्रतिष्ठान” नामक गैर सरकारी, गैर नाफामुलक संस्था गठन भएको छ।

यसै सन्दर्भमा नेपालीले बसोबास गर्दै आएका विश्वका हरेक मुलुकमा नेपाली टोपी अन्तर्राष्ट्रिय प्रतिष्ठान शाखाको स्थापना गर्ने क्रममा प्रतिष्ठानका सल्लाहकार रोमानियाका लागि नेपाली पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको संयोजकत्वमा अन्तर्राष्ट्रिय छैठौं नेपाली टोपी दिबसको अवसरमा विश्वका ३९ मुलुकहरुमा नेपाली टोपी प्रतिष्ठान शाखा गठन भएको छ।

संस्थापकद्वय डा. लेखनाथ काफ्ले, शंकर बन्जाडे र टोपी परम्पराको थालनी गर्नु हुने डा. गोविन्दसिंह रावत टोपी अभियानका अग्रज हुनुहुन्छ। क्यानडाबाट २०१० नोभेम्बरदेखि टोपी इभेन्टको नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भएता पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन। जसलाई संस्थापक द्वय काफ्ले र बन्जाडेले सामाजिक संजाल मार्फत २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले अभियानको शुरुवात गर्नु भएको थियो।

नेपाली टोपी प्रतिष्ठानले, नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानेको छ। यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहरूलाई जनवरी १ तारिख, २०२५ का दिन आआफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपी दिबसलाई व्यापकरुपमा सम्पन्न गर्न गराउन विशेष अपिल गरिन्छ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, अंग्रेजी नयाँ वर्षमा नेपाली युवाहरुको बिशेषरुपमा सहभागी हुने परम्परालाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको छ।

नेपाली टोपी प्रतिष्ठान मौलिक संस्कृतिको जगेर्ना गर्दै नेपाली टोपीलाई नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा स्थापित गराउनका लागि सदैब क्रियाशिल रहने छ।

प्रतिक्रिया