कुमोद झा र निर्मल पन्त, न्यूज टिम प्रतिनिधि, २९ माघ, जनकपुरधाम । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै यतिबेला विश्व हिन्दु महासंघ नामक संगठनको एक झुण्डले जनकपुरमा सम्मेलन नामको गाईजात्रा देखाई रहेको छ । विश्व हिन्दु महासंघको नाम र लोगोको दुरुपयोग गरेर यो जात्रा देखाइएको बुझ्नमा आएको छ । विगतमा विश्व हिन्दु महासंघको नामबाट हुने कार्यक्रम सभासम्मेलनमा देश विदेशबाट आएका विभिन्न देशका प्रतिनिधि, धर्माचार्य, मठाधीश, पीठाधीश, ओमकार परिवारका धार्मिक संघसंस्था, आजीवन सदस्य लगायतका हजारौं लाखौं प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थिति हुन्थ्यो, मिडियाहरुबाट लाईभ प्रसारण हुन्थ्यो, प्राय हिन्दु सम्राट नेपाल नरेशले सम्बोधन गर्नुहुन्थ्यो । तर, यतिबेला लुकिछिपि कोठे भेला गरेर सम्मेलनको नाम दिइएको छ ।
स्व.राजा विरेन्द्र र राष्ट्र गुरु योगी नरहरीनाथको विशेष पहलमा २०३६ सालमा वीरगञ्जमा विश्वभरीका सनातन धर्म ओमकार परिवारका प्रतिनिधिहरुको विशेष उपस्थितिमा घोषणा भई २०४० सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो महासंघको ठूलै महत्त्व र ईज्जत प्रतिष्ठा रहेको थियो । तर, वि.सं. २०५६ सालमा गोरखपुरमा भएको सातौ महाधिवेशनपछि क्रमशः सो महासंघमा केही गलतनीयतका व्यक्ति तथा तत्त्वहरुको घुसपैठसँगै महासंघ रुग्णअवस्थामा पुगेको बताइन्छ । सो सम्मेलनबाट विश्व हिन्दु महासंघलाई दुरुपयोग गर्ने काम शुरु भयो, क्रमशः विश्वकै हिन्दु सम्राट रहने देश नेपालमा दरवारकाण्ड भयो, नेपालबाट विश्व हिन्दु सम्राटको गद्धी गयो, विश्वमा एकमात्र रहेको हिन्दुराष्ट्र पनि गयो । विश्व भरीका ओमकारपरिवारको साझा र छाता संगठनको रुपमा रहेको यस महासंघमाथि दिनप्रतिदिन विभिन्न खालका क्रियाकलाप हुँदै जानुले नै हिन्दुत्त्व कमजोर हुँदै गयो, ओमकारपरिवारभित्र विभिन्न किचलो र विचलन आइरह्यो ।
थायल्याण्ड, मलेसिया, ईंग्ल्याण्ड, जर्मन, भारत, जापानलगायतका मुलुकहरुमा हजारौं लाखौंको सँख्यामा प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थितिमा आफ्ना अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको सो महासंघको ठूलो गरिमा रहेको भएपनि पछिल्लो समयमा यो संस्थालाई बन्दक बनाइएको सम्बन्धस्रोतहरुले बताएका छन । २०७३ सालमा काठमाडौंमा भएको महासंघको नवौं महाधिवेशनमा बन्दसत्र चल्दै गर्दा निर्वाचन समितिले निर्वाचनका कार्यक्रम नै घोषणा नगरी सिधै भरत केशरी सिंहलाई निर्विरोध अध्यक्ष निर्वाचित भएको घोषणा गर्दा व्यापक बिरोध भएपछि भरतकेशरी प्यानलले गुण्डा परिचालन गरी विरोध जनाउने मध्येका केही व्यक्तिलाई रगताम्मे हुने गरी कुटाएका थिए ।
राजा ज्ञानेन्द्रले उद्घाटन गरेको सो महाधिवेशनमा त्यसरी प्रतिनिधिहरुमाथि हातपात गराएर आफ्नो मनोमानी रुपमा अध्यक्ष भएका भरतकेशरी लगत्तै एक वर्ष पुग्दानपुग्दै बिते, त्यस पछि झन् निमित्त अध्यक्षका लागि धेरै चलखेल भए । हुँदा हुँदै २०७८ मङ्सीरमा काठमाडौंमा दशौं महाधिवेशनको आयोजना भयो तर त्यो महाधिवेशनमा अध्यक्षको पदको लागि व्यासाचार्य धर्मगुरु किशोरकुमार गौतम र तात्कालीन महासचिव अस्मिता (टिका) भण्डारी गरी दुईजनाको उम्मेदवारी पर्यो । भरतकेशरीले जस्तै पिटपाट पारेर भएपनि अध्यक्ष पद हत्याउन पाउँछु भन्ने शुरमा रहेकी अस्मितालाई धर्मगुरु किशोरकुमारको पनि उम्मेदवारी परेपछि आफूले नजित्ने निश्चित ठानेर निर्वाचन हुन नदिने टिकडम नाटक मञ्चन गरियो, निर्वाचन समितिले निर्वाचन गराउन नसक्ने घोषणा गर्यो । राति भएपछि धेरै प्रतिनिधिहरु कार्यक्रमस्थलबाट बाहिरिए । अस्मिताले केही मान्छेलाई राखेर आफू कार्यवाहक अध्यक्ष बनेको घोषणा गराईन । पछि यो कुरामा किशोरकुमार गौतम पक्षले विमति जनायो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको रोहवरमा केही मिटिङ्गहरु भए समझदारी हुनसकेन । क्रमशः दुईपक्ष अदालतसम्म पुगे । अदालतले अस्मितालाई स्थगति महाधिवेशन सम्पन्न गर्न निर्देशन दियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि अदालतको निर्देशन अनुसार काठमाडौंमै स्थगित दशौं महाधिवेशन सम्पन्न गर्नु भनेर पत्राचार गर्यो । तर अस्मिताले यतिबेला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश विरुद्ध जनकपुरमा आफ्नो पक्षका केही मान्छेहरुको झुण्डलाई ल्याएर एघारौं महाधिवेशनको नाम दिएर झुण्डे भेला गरेर आफू अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गराएकी छन् ।
यस प्रकारको चरित्रले विश्व हिन्दु महासंघको बारेमा धेरै प्रश्न, शङ्का, आशङ्काहरु खडा गरेको छ । यद्यपि यो झुण्डले आफूलाई राजाको निकट रहेको, नेपालमा राजसंस्था र हिन्दुअधिराज्य पुनःस्थापना गराउने हुँकार गर्छ । तर, व्यवहारले त्यसको ठिक विपरित कर्म गरेको देखाएको छ । जसरी विगतमा हिन्दु महासंघले विश्वव्यापि रुपमा विशेष कार्यक्रमहरु चलाउँथ्यो, सबैलाई समेट्ने गथ्र्यो, त्यो व्यवहार यस्ता गतिविधिले अबका दिनमा हुनसक्छन् भन्ने कल्पना गर्नसकिन्न । धर्मको उपहास हुने यस्ता गतिविधिले राजसंस्थाको गरिमा झन कमजोर भएर गइरहेको महसूस हुन्छ । त्यसमाथि राजाका सचिव भनिएका सागर तिमिल्सिनाको र अस्मिताको सामिप्यता घनिष्ट छ भन्ने जानकारहरु सुनाउँछन्, त्यही बलमा अस्मिताले आफू राजाको नजिकको मान्छे भनेर परिचय बनाएकी छन् तर राजालाई के थाहा उनको गतिविधिले राजसंस्थाको गरिमा होइन बदनामी बढाएको छ भनेर ।
विश्व हिन्दु महासंघको लोगो विश्वव्यापि रुपमा नै ठूलो भएको र यसमा अधिकारमा पुग्नसके त्यो लोगो बेचेर आफ्नो स्वार्थ पूरा गर्नसकिन्छ भन्ने मान्यता राख्ने हालका दिनमा भरतकेशरी सिंह नभए पनि उनका पारिवारिक मान्छेहरु, भरतकेशरीका पालादेखि नै प्रत्यक्षाप्रत्यक्ष रुपमा खाइपाई सेवासुविधा पाउँदै आएका केही मुठ्ठीभरका मान्छेहरुले विश्व हिन्दु महासंघलाई बन्दक बनाएको देखिन्छ । विगतमा लाखौंको सँख्यामा ओमकार परिवारका अनुयायीहरुलाई उपस्थित गराएर त्यो समयमा पनि विभिन्न मिडियाहरुबाट सम्मेलनजस्ता कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गराएर विश्वजगतलाई सुसूचित गर्ने गरेको महासंघको कार्यक्रम यतिबेला चरोमुसोले पनि थाहा नपाउने गरी, सञ्चारक्षेत्रलाई खबरै नगरी गरेपनि आफ्नो फिवरका केही मिडियालाई मात्रै बोलाएर एउटा कोठामा हुन्छ भने त्यहाँ धेरै प्रश्न, शङ्का, आशङ्काहरु उब्जिनु स्वभाविक हुन्छ ।
सिमित आफूलाई दरवारको नजिकको बताउने तथा देखाउने तर हकिकतमा दरवार, राजसंस्था, हिन्दुत्त्व र समग्रमा ओमकार धर्मको मर्म विपरित काम गर्ने गरेका व्यक्तिहरुले विश्व हिन्दु महासंघमा वास्तविक धर्म क्षेत्र, धर्माचार्य, मठाधीश, पीठाधीश, गुरुहरुलाई पाखा सार्दै आएको देखिन्छ । २०५६ सालको गोरखपुर सम्मेलनमा पनि त्यस्तै भएको त्यतिबेला सो सम्मेलनमा सहभागी भएका शङ्कर पौडेल बताउँछन् । योगी नरहरिनाथ ट्रष्टका अध्यक्षसमेत रहेका पौडेल यस्ता क्रियाकलाप बढ्न थालेपछि विश्व हिन्दु महासंघबाट आफू टाढिन थालेको बताउँछन् ।
भरतकेशरी सिंहकै अन्याय र हैकम सहन नसकेर स्व. पं. नारायण पोखरेलले अर्को विश्व हिन्दु महासंघ दर्ता गराएका थिए । ऐले नारायण पोखरेले स्थापना गरेको विश्व हिन्दु महासंघको नै नेपालमा शाखाहरु क्रियाशिल छन् । स्मरण रहोस् ऐले विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय भनेर भनिने बाँसबारीको कार्यालय नारायण पोखरेलकै पालोमा उनकै योगदानले बनेको बुझिन्छ । धार्मिक संस्थामा लागेपछि धार्मिक संरचना बनाउनु पर्छ, आफ्नो कमाईबाट दश प्रतिशत धर्मक्षेत्रलाई छुट्याउनुपर्छ, धार्मिक संस्थाको संपत्ति खान हुन्न, खाएमा देवस्व लाग्छ भन्ने मान्यता राख्ने नारायण पोखरेल जो त्यतिबेला विश्व हिन्दु महासंघका राष्ट्यि अध्यक्ष हुनुहुन्थ्यो उहाँका यस्ता कुरामा तत्कालीन अन्तर्राष्ट्यि समितिका अध्यक्ष भरतकेशरी सिंह सहमत नहुँदा क्रमशः विवाद बढ्न गएपछि भरतकेशरीले पं. नारायण पोखरेललाई राष्ट्यि अध्यक्षबाट अपदस्थ गरेका थिए । नारायण पोखरेलाई अपदस्थ गरेर तिनै पोखरेलले आफूले सप्ताह भनेको दक्षिणाबाट प्रतिशत काटेर र नेपाल सरकारलगायत विभिन्न पक्षबाट दान सहयोग उठाएर बनाएको भवनमा भरतले अन्तिमसम्म मोझ गरे ।
भरतकेशरीको त्यो चर्तिकला देखेकी अस्मिताले २०७८ मा काठमाडौंदेखि ऐले २०८१ मा आइपुग्दा जनकपुरसम्मको व्यवहारले आफूलाई भरतकेशरीको दोस्रो रुपमा उभ्याउन खोजेको बुझ्नसकिन्छ । कहिले अस्मिताको नजिकको मान्छे बन्ने र कहिले ठूलै असहमती पनि राख्ने गरेका सागर थापा जो आफूलाई विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रियका अध्यक्ष पनि बताउँछन् र सञ्चारकर्मीका रुपमा पनि आफूलाई प्रस्तुत गर्छन्, उनले अस्मिताको यस प्रकारको व्यवहारलाई धार्मिक जिम्मेवारीपूर्ण कार्य भन्न नसकिने, उनी व्यक्तिवादीसोँचकी भएको बताएका छन् । अस्मिताले गरेको यो झुण्डे भेलामा आफूसँग विमति राख्ने कसैलाई पनि थाहा नदिएको नबोलाएको थापाले बताए । आजीवन सदस्यहरुलगायत आवद्ध संघसंस्थाहरु, संस्थापकहरु लगायत सबै ओमकार परिवारलाई आधिकारिक रुपमा बोलाएर सबैको सहमती लिएर भव्य र सव्य रुपमा पो महासम्मेलन हुन्छ त, कहाँ यो सम्मेलन हो र ? जहाँ महासंघ दर्ता भएको छ, त्यहाँका जिल्ला अधिकारीले काठमाडौंमै दशौं महाधिवेशन गर्नु भनेर निर्देशन दिएका छन् । जिल्ला अधिकारीको निर्देशनलाई समेत अवज्ञा गरेर गरिएको यस्तो त त उनको पारिवारिक भेला भएन र ? सागर थापा प्रतिप्रश्न गर्छन् ।
महासंघ दर्ता रहेको काठमाडौं जिल्ला अधिकारीको निर्देशनलाई अवज्ञा गरी गरिएको यो झुण्डे सम्मेलनलाई काठमाडौं जिल्ला प्रशासनले मान्यता दिन्छ कि दिन्न त्यो भने हेर्न बाँकी छ । पत्रकार महासंघको महाधिवेशन चल्ने समय पारेर, जसले गर्दा पत्रकार तथा सञ्चार क्षेत्र आफ्नो महाधिवेशनतिर केन्द्रित होउन ताकि विश्व हिन्दु महासंघको सम्मेलन भनिएको झुण्डे भेलामा मिडियाको उपस्थिति हुन नसकोस् र वास्तविकता बाहिर नआओस् भन्ने नियत पनि अनुमान गर्नसकिन्छ । धर्मको क्षेत्रमा क्रियाशिल ओमकार परिवारका धर्म गुरु, विभिन्न धार्मिक संघसंस्था चलाउनु भएका व्यक्तिहरु, धर्मको बारेमा राम्रो सोँच्नु हुने व्यक्तिहरु अथवा सम्बद्ध सबैले धर्मको नाममा हुने यस्ता दुरुपयोगी कामकार्यहरु प्रति बढीनै गम्भीर हुनुपर्छ भन्ने देखिन्छ ।
प्रतिक्रिया