अमेरिका निवासी प्राध्यापक एबम बौद्धिक व्यक्तित्व प्रा शिव गौतमसंग जीवनका अनुभब अनुभूतिका बारेमा लेखक साहित्यकार शेखर ढुंगेलले गर्नु भएको परिसम्बाद

इनेप्लिज २०८१ मंसिर २७ गते २२:४५ मा प्रकाशित

.जीवन सफल असफल के भयो जस्तो लाग्छ ?

अहो, शुरुमै कस्तो अप्ठ्यारो प्रश्न। म जीवन सम्बन्धि कुरामा पनि अलमलिन्छु , सफलता र असफलताका कुरामा पनि अलमलिन्छु। यसको मूख्य कारण यी दुइटै राम्ररी नबुझेर पनि होला जस्तो लाग्छ। जीवन भनेको यो हो भनेर पुरा बुझ्न पाए पो त्यस संबन्धि कुरा ढुक्कले, निर्धक्कका साथ र आत्म विश्वासका साथ भन्न सकिने थियो। मेरो एउटा आंशिक सोचाई अनुसार चाहीं – जीवन मान्छे-मान्छेमा मात्र बाँडिएको छैन, यो जनावरमा पनि छ, पात बिरुवा पनि छ। जीवन पुरा बुझ्न त जीवनधारी सबैमा भएको जीवनलाई जान सक्नु पर्यो। चिनी हालेको ग्लासमा भएको पानी चाखेर , कागतीको रस हालेको ग्लासको पनि पनि गुलियो हुन्छ भन्न न मिल्ला कि जस्तो लाग्छ। शायद तपाइंले मेरो भागमा परेको जीवनको बारेमा, मैले अनुभव गरेको जीवनको बारेमा सोधेको होला। त्यसमा पनि, सम्पूर्ण जीवन भोगी नसके सम्म त्यसको बारेमा के भन्न सकिएला। भोली, अहिले सम्मकै बुझाइलाई फर्लक्कै पल्टाउने खालको अनुभव हुने हो कि ? सोचाइको यो सूत्रलाई त्नकाउदै लाँदा आफ्नो व्यक्तिगत जीवन बुझ्नलाई जीवनको अन्त सम्मै पर्खनु पर्ने हुनसक्छ। जीवनको अन्त्य भए पछि , यो कुराको महत्व नै रहँदैन। मैले मेरो निबन्ध संग्रह ‘झ्याम्ली बाक्राको पाठो’ मा यसैगरी अल्मलिएको कुरा राखेको थिएँ।

सफलता र असफलताको कुरा गर्दा पनि मलाई अप्ठ्यारै हुन्छ । हामीले यस्ता कुरा (सफलता र असफलता) सुन्दा-सुन्दा त्यति असहज नभएको होला , त्यसको बारेमा सबै बुझेको जस्तो लाग्न सक्ला। एउटा मान्छेलाई टी. भी.मा देख्ता-देख्ता पुरा चिनजानको मान्छे लाग्न थाल्छ , त्यस्तै होला यो शब्द पनि। फेरि पनि, मैले यी विषयमा मेरो निबन्धको किताब ‘झ्याम्ली बाखाको पाठो’ मा त पुरा निबन्ध नै लेखेको छु। तर म याहाँ अर्को छोटो तरिकाले भन्छु।

कसैको पनि जीवन असफल हुन्छ होला र ? जीवन (मान्छेको) जन्म देखि नै निरन्तर बगिरहन्छ खोला जस्तै। खोला कहिले छिटो, कहिलो ढिलो बग्छ , कुनै अवरोध (जस्तै ढिस्को आदि) भेटियो भने जम्छ तर फेरि त्यसलाई भत्काएर वा त्यसमाथि भएर बगिहाल्छ। अर्थात् परिस्थिति अनुसार बाटो फेरिएला, एकछिन अड्किएला। यस अर्थमा खोलाको धर्म नै बग्नु हो। जीवन पनि त्यस्तै हो जस्तो लाग्छ एक प्रकारले। जीवन पनि कतै असफल हुन्छ र भनेर मनमा प्रश्न उठ्ने गर्छ। कोही सफल हुन, अर्को कोही असफल हुनुपर्छ। यदि ‘पैसा, पढाई , जागीर आदि सफलताका मापक हुन् भने , कति पैसा भएपछि मान्छे सफल गनिन्छ ? बरू कसैले सफलताका सूचाङ्कहरू तयार पारेर ‘यो भयो कि छैन, त्यो भयो कि भएन’ चिन्ह लागाउन लगाए त्यस अनुसार गर्न सकिने थियो।

मलाई लाग्छ, हामीलाई सानैदेखि सफल असफलका काल्पनिक दाना छरिदिएको छ र हामी त्यही काल्पनिक चाराका पछाडि मुसा कुदे झैं कुदेका छौं।

विषयवस्तु प्रति आत्मविश्वासको कमीले गर्दा सायद मैले राम्ररी या तपाइंले सोचे जसरी उत्तर दिन सकिनँ होला , तर मेरा ती आत्मविश्वासको कमी प्रति भने मेरो पुरा आत्मविश्वास छ।

अर्थ आर्जनको सपना कुन उमेर सम्म देख्नु पर्छ जस्तो लाग्छ ? यो कुरा बसेको समाजिक व्यवस्था, संस्कृति , व्यक्तिगत , अवकासपछिका सुविधा आदिमा भरपर्ने कुरा हुन् जस्तो लाग्छ।

जन्मेको समाजलाइ (देश )लाइ के योगदान दिए जस्तो लाग्छ ?केहि बुँदागत ,,,,,?

यो पनि अलिक अप्ठेरो कुरो हुनसक्छ। यो गरें, त्यो गरें भन्दा धाक लगाएको जस्तो हुन पनि सक्छ र आँफैसंग लाज लाग्ने कुरा पनि हुन सक्छ, किनभने देश सेवाबाट आँफुलाई हुने आनन्द, मानसिक खुसी आदि प्राप्त गरेका कुरालाई मान्छेले लुकाउँने गर्छन् । यो त दोकानबाट आँफूलाई चाहिने समान किनेर ल्याउँदा ‘मैले फलानो दोकानलाई यति पैसा दिएँ , उति पैसा दिएँ’ भन्ने तर दोकानबाट चाहिएको सामानको ल्याएको कुराको उल्लेख नगर्नु जस्तै हुनजान्छ कि जस्तो पनि लाग्छ। कुनै पनि कसिमले अलिकति पनि सन्तुष्टि नहुने कुरो गर्नै सकिंदैन । आँफुलाई कष्ट पिडा हुने भए , आनन्द नहुने भए त्यस्तो काम गर्ने थिएनन्। याहाँनेर आफ्नो सन्तुष्टिको लागि परपिडन पनि ठिकै हो भन्ने अर्थ चाहीं नलागोस्। मान्छेले देशको लागि काम गर्दा एउटा सन्तोष, एउटा खुसी प्राप्त गर्छन् , तर भन्दा सित्तैमा केही दिए जस्तो मात्र गर्छन्, धाक लाउँछन् , तर पाएको खुसी, आत्मसन्तुष्टिको कुरा लुकाउने मात्र हैन उल्टै देशले केही दिएन भनेर कतिले गुनासो गरेको पनि सुनेको छु। यसको मतलब आँफुले गरेको कामको उलेख गर्नु हुँदैन या ठिक हुँदैन भनेको पनि होइन ।

यसमा अरू कुरा पनि आउने गर्छन्। शुरुशुरुमा नेपालमा बस्ने कतिपयले बाहिर बस्ने नेपालीलाई प्राय ‘देशलाई के योगदान दिनु भयो’ भनेर सोध्ने गर्छन्। त्यस्ता बिना प्रसंगका सोधाइमा, सोध्ने मान्छेले नेपालमा बसेकै कारणले मात्र राम्रो र पवित्र काम गरेको, र बाहिर बस्नेलाई मनोबैज्ञानिक रूपले अपराध बोधगराउने प्रयास पनि होला। सक्ने भए त उहाँहरूले नेपाल जाँदा पतिया मार्फत शुद्धिकरण गराएर मात्रै नेपालको सिमाना भित्र छिर्न दिनु हुन्थ्यो होला। यस्ता बहसमा मैले कति ठाउमा भन्ने पनि गर्थें – नेपालमा बेलाबेला सुनिने आर्थिक र राजनीतिक भ्रष्टाचार, अन्याय, सुशानको अभाव जस्ता देशलाई लाज हुने कुरामा बाहिर बसेका नेपालीको हात छैन भन्ने दलिल दिने गर्थें। तर, पछिल्लो समयमा धेरैका छोरा छोरी बाहीर जान थालेपछि त्यस्ता प्रश्नको सामना गर्नु परेको छैन। (तपाइंले भने त्यस्तो अपराध बोध गराउने मनसायले सोधेको होइन भन्ने मलाई थाहा छ, तपाईं आँफै विदेशमा सम्य बिताई सक्नु भएको छ)। अब नेपाल भित्र र बाहिर बस्ने हमी सबै उही नेपाली भन्ने भावना बढेर गएको अनुभव गरेको छु।

देशलाई योगदान गरेका केही कुरा बुँदागत रुपमा प्रस्तुत गर्न अलिक अप्ठयारो लागेकोले माथिको पृष्ठभूमि आवश्यक ठानेको हो। आफुले सके अनुसार, अनुकुल परे अनुसार सबैले देश प्रति केही न गरकै हुनुपर्छ जस्तो लाग्छ, किनभने यो स्वाभविक कुरो हो ।

योगदान गर्ने क्रममा सफल ठानेका कुरा नभनेर (अप्ठ्यारो लागेर) असफल भएका एकदुई कुरा भन्छु , लाज नमानी (असफल भएका कुरामा धाक धक्कुको लेश मात्र पनि हुँदैन भन्ने आशामा )

क . माओबादीको संघर्षको एउटा समयमा, अब सायद निकै अप्ठेरो स्थिति आउँछ जस्तो लाग्यो, त्यसै अन्दाज गरेको। यसमा शन्तिकोलागि केहि गर्न पाए हुन्थ्यो , केही प्रयाश गरौँ कि भन्ने तर्कना मनमा उठ्न थाले। केही नगरेकोमा पछि कोशिस सम्म नगरेको भनेर पछुतो हुने पो हो कि , असफल भए के बिग्रन्छ र , मैले पनि प्रयाश गर्ने हो कि भन्ने मनमा कुरो आयो। तर गर्ने के – अत्तो पत्तो थिएन।

अन्त्यमा पार्टी र राजा मिलेर माओवादी संग कुरा गरे कसो होला भन्ने विचार आयो। त्यसबेला देउवा कांग्रेस र एमालेको सरकार थियो। शेर बहादूर देउवा प्रधानमन्त्रि हुनुहुन्थ्यो। म नेपाल गएँ एउटा प्रस्ताव सोचेर। त्यो एक सामान्य प्रस्ताव थियो, सांसदको पुनर्स्थापना गर्ने। तर यसकोलागि तिन पार्टीले संयुक्त रुपमा राजा संग कुरा गर्नु पर्ने थियो। गिरिजा कांग्रेसका अध्यक्ष गिरिजा प्रसाद कोइराला सँग एकजना साथिले भेटाइदिनु भयो । यो भन्दा पहिले मैले उहाँलाई फोटोमा बाहेक अन्त देखेको भेटेको थिएन। उहाँले मेरो प्रस्ताव प्रति सकारात्मक हुनु भयो। त्यस्तै एमाले अध्यक्ष माधबकुमार नेपाललाई भेटें। माधव नेपालले ‘ गिरिजा बाबुलाई मान्य छ भने मलाई मान्य छ’ भन्नु भयो। यसमा सबै भन्दा पहिले तिन पार्टी जुन झन्डै तीनतिर फर्केका थिए , ति सबैलाई एक ठाउँमा ल्याउनु पर्ने थियो। सबै कुरा मिल्दै थियो, एउटा रिजोर्टमा एकदिनको मिटिंगलागि लाग्ने खर्च एकजना साथीले ब्योहोर्न स्विकार गर्नु भयो। प्रम देउबा संगको भेट मिली राखेको थिएन। एउटा दिएको समय रद्द गर्नु पर्यो ।

एकदिन बिहानै देउबा कांग्रसका मेरा सम्पर्कमा रहका नेता ज्यूलाइ फोन गरें। मैले नमस्कार भनिसक्दा नसक्दा उहाँले ‘ अहिले १० बजेको समाचार सुन्नुस्न है, भनेर फोन थपक्कै राखिदिनु भयो। एकछिन पछि राजाले सबै कुरा आफ्नो हातमा लिएको समाचार आयो। त्यसको एकदुई दिनपछि म टांगमुनी पुच्छर लुकाएर अमेरिका फर्कें।

जे होस् मैले आफ्नो तर्फबाट केही पहल गरें , अन्तिम नतिजा प्रति चिन्ता शुरूदेखि कै पटक्कै थिएन, किनभने त्यो मेरो हात र ल्याकत भन्दा बाहिरको कुरो थियो। केही पनि नगरेको भनेर मलाई कहिल्यै पनि पश्चाताप बोध हुने, वा प्रयाश गरेको भए के हुन्थ्यो होला भन्ने तर्कनाले मलाई जीवन भर पछ्याई रहने छैन ।

ख . मुटु सम्बन्धी अलिक लम्बेतान (Longitudinal) अध्ययन – हार्वर्ड विश्वविद्यालयको एउटा टिचिंग अस्पतालमा आउने अनुसन्धान प्रस्तावको मूल्यांकन गर्ने समितिमा म पनि एक सदस्य थिएँ। त्याहाँ आउने ती प्रस्ताव पढ्दा र छलफलमा सहभागी हुँदा कहिलेकाहीं न्यूनताभासले किच्ने गर्न थाल्यो। त्यस्ता सबैखाले अनुसधान गर्न नेपालको पृष्ठभूमि तयार नभइसके पनि, नेपालले पनि स्वास्थ र चिकित्सा क्षेत्रमा अनुदान गर्न सक्छ भनेर एकजना चिकित्सक प्राध्यापक र वाशिंगटन विश्वविद्यालयकी इपिडिमियोलोजीको प्राध्यपक सहित हामी तीनजनाको टोली काठमान्डौ गयौं। बेला बेला डाक्टर भगवान कोइरालाले पनि केही गर्न सकिन्छ कि भनेर कुरो निकाली रहनु हुन्थ्यो। त्यसमा पनि कुरो बढ्दै थ्यो त्यसै अनुसार एउटा पाइलट अध्ययन पनि गरियो र त्यसको नतिजा पनि प्रकाशन ग्रियो। तर त्यसै बेला मधेस आन्दोलन शुरू भयो। उक्त अध्यनकालागि मधेसकै धेरै केन्द्रमा काम गर्ने योजना थियो। मैले फेरि कोसिस गरिनं।

ग. नेपालका हाइस्कुलभरिमा कम्प्युटर ल्याब भनेर पाँचवटा कम्प्युटर दिने प्रोग्रामको लागि दौडधुप गर्दा नेपाल सरकार त्यो योजना ल्याएको। यो सब गर्नका लागि झण्डै पाँच वर्ष दौडधुप गर्नुपर्यो र तत्कालीन मुख्य सचिव पौडेलले साथ नदिनुभएको भए यो सम्भव पनि हुने थिएन।

घ . आर्थिक, राजनैतिक, शैक्षिक आदि विषयमा एक्लै वा साथीहरूसँग मिलेर बेलाबेला लेखहरू लेखेको। नेपालमा जाँदा अमेरिकाबाट साथी प्रोफेसरहरू समेत लिएर गएर कलेजहरूमा छोटो समय अध्यापन गरेको। नेपालमा शान्ति पुनर्बालिका लागि किसिमले लबी गरेको। यस्तै साना झिनामसिनाहरु पनि कुरा होलान्।

जीवनको मुख्य प्राथमिकता के हुनु पर्ने रहेछ भन्ने अनुभूति भयो आज आएर ?

अघि माथिको एउटा प्रश्नको उत्तरमा जीवन सम्बन्धि कुनै एक पक्षलाइ बग्दो खोलाको उपमा दिएको दिएको थिएँ। त्यसमा खोले बग्दै जाँदा जाहाँ जाहाँ जे जे आइपर्छ त्यसै अनुसारको अफ्नो बहाव केही समयकोलागि रोक्ने, बाङ्गिने पर्ने हुन्छ। त्त्यस्तै जीवनको प्राथमिकता पनि जीवन कुन मोडमा पुगेको छ, प्राय त्यही मोडले अधिको बाटो लिंदै जान्छ। तात्कालिक समय र स्थानले कस्तो अनुकुल वा प्रतिकुल अवस्था ल्याउँछ, प्राथमिकता पनि त्यसै अनुसार फरक पर्दै जान्छ। हामीलाई प्राय बेलै नभई अरोले यस्तो प्राथमिकता हुनुपर्छ भनेर एक्प्र्कासको बषा हम्रो मस्तिस्कमा हालिदिएको हुन्छ र हामीलाइ त्यो नसाले निकै प्रकारले हानि नोक्सानी गर्न सक्छ। यो मिरो नितान्त अनुभवको कुरा हो , त्यसैले यो नै सत्य हो , सबैलाइ यस्तै हुन्छ भनेको चाहीं पटक्कै होइन। म मेरा बदलिंदा केही प्राथमिकता बारे भन्छु।

म सानो छँदा, अरूले घाँस काटेको देखेर मलाइ पनि रहर लाग्यो। तर मेरो हात सानो भएकोले एक मुठिमा थोरै घाँस आउंथ्यो र म हतास हुन्थें , आँफै संग रिसाउँथें । मेरो प्राथमिकता त्यसबेला ठूला मान्छेको जतिनै घाँस काट्नु थियो। र त्यो कसरी गर्ने होला भन्ने रह्यो। अलिकपछि ‘क’ ‘ख’ को किताब पढ्न थालेपछि, ‘क’ ‘ख’ पढेर के गर्नु म्याट्रिक (दश कक्षा ) पढ्न पाए पो हुन्थ्यो भनेर किताबै फालिदिन्थें। त्यसबेला मेरो प्राथमिकता दश कक्षा पास गर्नु बन्यो। कुनै बेला एउटा केटी देखे पछि उनिसंग विवाह गर्न पाए हुन्थ्यो भन्ने कुरानै मेरो प्राथमिकता भयो। अमेरिका आउने सोचेकै थिएन, कुनैबेला त्यसैले प्राथमिकता पायो। अमेरिका आएपछि पि. एच. डि. सकेको भोलीपल्टै नेपाल फर्कने अठोटले आएको थिएँ। तर, प्राथमिक स्कूलमा पढ्दै गरेका दुइजना छोरा छोरीले बाह्र क्लास सम्म बिनाखर्च पढ्न पाउने सुबिधा र नेपाल फेर्कर गएपछि आफूले पाउने तलबले त्यसैखालको शिक्षा दिलाउन सकिन्न भन्ने लाग्यो। त्यसबेला छोरा छोरीको पढाई जीवनको प्राथमिकतामा पर्यो। त्यसतै अरूकुरा पनि होलान्।

अतितका ५ पिडा ५ सुखदायी र ५ सधै सम्झनामा आउदा भित्र भित्रै हाँसो उठ्ने बच्चा हुँदा गरेको ऊट पत्यांग काम ?

क. म त्यस्तै पाँच छ वर्ष हुँदा निकै बलियो छु जस्तो लाग्यो। किनभने आफू सम्मानका एक दुई जना केटाकेटीभन्दा बलियो थिएँ। अनि मलाई के लाग्यो भने सायद पालीमा घाँस खाइरहेको एउटा भैंसी भन्दा पनि म बलियो छु जस्तो लाग्यो। त्यसलाई पछार्न भनेर मैले त्यो भैंसीका दुईटा सिंहलाई आफ्नो दुईटा हातले समातेर पल्टाउन खोजें। तर त्यो टाउको झड्का र सिंह मेरो हातबाट मेरो निधारमा लाग्यो। निधारबाट रगत आउन थालेपछि म कुदेर घरभित्र पसें। आमाले सोध्नुभयो के भयो भनेर। मैले ढाँटे, भैँसीले हान्यो भनेर।

ख. एकचोटि मावल गएको बेला, त्यहाँका गाउँले केटाहरूले मकै खाँदै गरेको बाँदरलाई कुट्दै गरेको देखे। बाँदरको नाकबाट रगत बगिरहेको थियो। त्यहाँ प्राय मैले नचिनेका केटाहरू र मभन्दा ठूला केटाहरू मात्रै थिए। अचानक मैले भने तिमीहरुले यसलाई कुटेर मार्यौ भने अर्को जुनीमा तिमीहरु बाँदर हुन्छौ। र त्यो बाँदर तिमीहरु हुन्छ र तिमीहरुलाई त्यसैगरी कुटेर मार्छ। थाहा छैन मलाई कसरी यो भन्न आयो सम्झेर अझै पनि अचम्म लाग्छ।

ग. खै कताबाट हो मलाई के लाग्यो भने हामीभन्दा माथि देउता छन् र हामीभन्दा तल खराब खालका मान्छे छन्। पानी परेको भनेको देउताले पिसाब फेरे जस्तै हो। त्यस्तै हामीले पिसाब फेर्दा हामीभन्दा तलका मान्छेको संसारमा पानी पर्छ होला। एकै ठाउँमा उभिएर पिसाब फेर्दा त्यहाँ बाढी पहिरो जाने र मान्छे मर्ने पनि सम्भावना हुन्छ होला। त्यसैले म घुमी घुमी सबैतिर पुर्याइकन पिसाब फेर्थें।

घ. मेरो बुवा जागिरमा मधेसतिर गएको बेला कुनै डाक्टरसँग मेरो छोरो अलिक चकचके छ भन्ने कुरा गर्नुभएछ। अनि ती डाक्टरले कुनै एउटा ओखती कोदाको दाना जस्तो देखिने दिएछन्। घर आउँदा बुवाले मलाई त्यो ओखती यो तेरो बुद्धि आउने ओखती हो भनेर दिनुभयो र प्रत्येक दिन अलिअलि खानु भनेर अराउनुभएको थियो। मैले के सोचे भने मलाई मलाई मात्र किन गाउँभरिका केटाकेटीलाई पनि त बुद्धि आउनुपर्छ नि। भनेर सबैलाई बोलाए र त्यो ओखती एकै छिनमा, एकैदिनमा सिध्यायौं।

यस्ता उटपट्याङका कुरा मसँग कति छन् कति।

देशको लागि एउटा असल नागरिकको कर्तब्य निर्वाह गर्न सक्षम /सफल भए जस्तो लाग्छ ?केहि उदाहरण भए ,,,

यदि कसैले कुनै खराब काम गर्दैन भने त्यसलाई असल नागरिक भन्न सकिएला। अझ देशका भिन्न भिन्न नागरिकले आफ्नो काम गरिरहेक छन् भने तिनलाई असल नागरिक भन्नु पर्छ, हैन? किसानले अन्न बाली उत्पादन गर्छ, प्रहरीले देशभित्र शान्ति सुरक्षा निश्चित गर्छ, सेनाले बाह्य शत्रुबाट जोगाउँछ , अरू सरकारी कर्मचारीले सेवा दिन्छ, शिक्षकले पढाउँछ आदि आदि। जो आपनो कामबाट विचलित हुन्छ त्यो खराब नागरिक हो। मैले देश समाजको दाग लाग्ने, चोरी-चाकरी घुसखोरी जस्ता कुनै पनि खराब खराब काम गरेको छैन।

‘खराब काम ’ भनेर चिनिने बाहेक सबै काम असल भइहाले नि, हैन र ? तिनको विवरण र फेहरिस्त याहाँ पेश गर्यो भने , लामो पट्यारलाग्दो र खल्लो हुनजान्छ होला।

मैले शिक्षण र अनुसन्धानको पेशा अपनाएँ। त्यसैमा लागिरहें। आफनो मूल पेशा नभए पनि कथा, कविता, निबन्ध लेखेर साहित्यमा समुन्द्रमा एक दुइ थोपा भए पनि थपी रहें। आफ्नो घर परिवारको रथको दुईपाङ्ग्रा मध्ये एक भएर छोरा-छोरी पाल्न, शिक्षा, र उनीहरूलाई असल नागरिक बनाउने कम्म आदिमा अर्को पांग्रालाई साथ दिईरहें आदि। भनिहालें नि लामो हुन्छ, एउटा किताबै बन्छ सबै बेलीविस्तार लायो भने। यस्तै यस्तै सबै असल नागरिकको कथा हो, मेरो मात्र हैन , प्रायजसो सबै असल हुन्छन् भन्ने विश्वास लागेको छ।

जीवनको प्राकृतिक गन्तब्य (मृत्यु )कति बर्षमा होला जस्तो सोच्नु हुन्छ ?कारण भए र अन्तिम दिन कस्तो रहोस जस्तो लाग्छ ?

यसको उत्तरको लागि पहिले मृत्युको बारेमा जान्नु आवश्यक हुन्छ। र त्यसको कुरा गर्दा निकै लामो हुन सक्छ।साधारणतया मर्नु भन्नाले शरीर मर्नुलाई भनिन्छ। त्यसरी हेर्दा, एक प्रकारले मान्छे प्रत्येक क्षण मरिनै राखेको हुन्छ। सानामा हामीले लिएर आएका कुनै पनि अङ्ग प्रत्यङ्ग उस्तै छैनन् शरीरमा कति नयाँ सेलहरु बनेका छन् अनि पुराना झरेका छन्। एकछिनलाई मान्नुस् एउटा मान्छेले सबै कुरा बिर्सियो, आफ्नो नाम बिर्सियो, आफ्नो बारेमा सबै बिर्सियो, संसारै बिर्सियो, उसको दिमागबाट सबै कुरा मेटिए, तर उसले सास फेरेकै छ, उ हिन्देकै छ । भन्नुस्, त्यो मान्छे जिउँदो कि मरेको?

इश्वर प्रति आस्था बिस्वास राख्नु हुन्छ ?पर्छ वा राख्नु हुन्न वा बिस्वास गर्नु हुन्न ?कारण भए।

इश्वर भनेको के हो भन्ने कुरो अलिक खुलस्त र बेलिबिस्तार लगाई दिनुभए सायद यसको उत्तर दिन सक्थें कि ? हामी धेरै कुरा सुन्दा सुन्दा त्यो साँच्चिकै थाहा पाएजस्तो गर्छौं। जस्तो टिभीमा कसैलाई चिनेकै जस्तो लाग्छ। आफ्नो चिनजानकै मान्छे जस्तो लाग्छ। तर वास्तवमा त्यस्तो होइन। ईश्वर भन्ने शब्द पनि यस्तै हो कि भने जस्तो लाग्छ यो हामीले सानैदेखि सुन्दै आएको छ जताततै सुन्दै आएको छ। अनि हामीलाई पनि त्यो हामीले जानेकै जस्तो लाग्छ।

यदि पुनर्जन्म भएमा के भएर जन्मने इच्छा राख्नु हुन्छ /हुन्थ्यो ?

खै अहिलेसम्म केही सोचेको छैन। पछि केही सोचे भने अवश्य खबर गर्नेछु।

१० जीवनमा आज सम्म सम्पर्कमा आएका मध्य कति %लाइ खुसि पार्न सफल र कति %लाइ दुखि पार्नु भयो ?कहिले आत्म मुल्यांकन गर्नु पर्छ जस्तो लाग्छ ?छोटकरीमा अनुभब ,,,

म संग अहिले सम्म सम्पर्कमा आएका कुनै पनि व्यक्तिले मसंग आएर ‘म तपाईंले खुसी पारेको व्यक्ति हूँ ’ भनेर भनेको छैन। तसर्थ मैले अहिले सम्म कसैलाई खुसी पार्न सकेको छैन होला। मैले अहिले सम्म आमाबाहेक कसैलाई जानी-जानी दुखि पारेको थाहा छैन ।मेरी आमाका अनुसार म सानो छँदा आमालाई धेरै दुख दिन्थें अरे। धेरै अगाडी आमाले दुखहरू बिसाई सक्नु भएको छ।

११ अहिले स्वेच्छिक मृत्युबरणको इच्छा वा माग को चर्चा चलेको छ हजुरको बिचार के छ ?र कस्तो अबस्थामा यो सोच स्वीकार्य हुनु जरुरि छ वा हुँदैन ?

इन्तु न चिन्तु भएर ट्यूबको साहरामा जीवन अड्केको , चिकित्सकले आश मारेको अवस्थामा यस्तो सोच सायद कतिपयलाई स्विकार्य होला।

१२ समाज शाश्त्री हरु भन्छन आधुनिक जीवनको सफलताको लागि क अध्ययन ख रोजगारी ग मनोरंजन घ भ्रमण ण अध्ययन छ मानब सेवा (त्याग ) हजुर यो कुरोमा कहा हुनु हुन्छ ?के कति सम्पन्न भयो वा हुने छ ?

अध्ययन र रोजगारी – ठिकै। मनोरन्जन र भ्रमण – न्यून। मानवसेवा – शून्य।

१३ हजुरलाइ अनन्त सम्म यो समाज र देशले सम्झी रहने उल्लेख्य कुनै सुकर्महरु बताउन चाहनु हुन्छ ?

आफ्नो शेषपछि सम्झने कुराको के महत्व र आफूले केही थाहा पाइँदैन। पुराना मान्छेलाई अहिले हामी जुन सम्मान दिन्छौं सम्भवत प्रायजसो तिनीहरुले तत्कालीन समाजबाट अवहेलना, घृणा भोग्नु परेको थियो होला। विचरा समाज र देश आफ्नै स्वार्थमा लिप्त छ, स्मरण शक्ति पनि कमजोर छ , त्यसमाथि मैले कुनै कुकर्म गरको छैन जस्तो लाग्छ । अनि कसरी सम्झोस्।

प्रतिक्रिया