नरेश भट्टलाई हत्याको अभियोग , डिएनए ममताकै रगत भएको पुष्टी

इनेप्लिज २०८१ मंसिर १८ गते १२:०३ मा प्रकाशित

ममता काफ्लेका पति नरेश भट्टलाई हत्याको अभियोग लगाईएको छ । उनलाई गत सोमबार ग्रान्ड जुरी (बृहत निर्णायक मण्डल)ले हत्याको अभियोग लगाएको छ । मनासस पार्क प्रहरीका अनुसार डिएनए ममताकै रगत भएको पुष्टी भएको गत सोमबार राती पत्रकार सम्मेलनमा प्रहरीले बताए ।

उनको शव फेला नपरे पनि हत्याको आरोप लगाएका छन् । डब्लूयुएसए९ ले प्राप्त गरेको अदालतको कागजात अनुसार नरेश भट्टलाई सोमबार बिहान निर्णायक मण्डल ग्रान्डले अभियोग लगाएको हो।

ममता काफ्ले बेपत्ता भएको महिनौ पछि उनका पतिलाई हत्याको औपचारिक आरोप लगाइएको छ।

नरेश भट्टलाई सोमबार बिहान प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डल दुईवटा नयाँ आरोपमा अभियोग लगाएको छ । प्रथम श्रेणीको हत्या र अर्को शवलाई शारीरिक रूपमा अपवित्र गरेको अभियोग लगाएको छ ।

“यो अभियोग यस वर्षको जुलाई २९ मा ममता काफ्ले भट्ट बेपत्ता भएपछि आएको हो,” मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार राति पत्रकार सम्मेलनमा भने।

नरेश भट्टलाई यसअघि अगस्त २२ मा मृत शरीर लुकाएको अभियोगमा गिरफ्तार गरिएको थियो। उनको मुद्दाको सुनुवाइ सोमबार सुरु हुने भनिएको थियो, तर यी नयाँ अभियोगहरूले सुनुवाइको मिति पुन: तय हुने सम्भावना रहेको डब्लूयुएसए९ले जनाएको छ ।

प्रहरीका अनुसार सुत्ने कोठा र स्नानगृहमा भेटिएको रगत ममताको डीएनएसँग मिलेको छ । प्रहरीले उनको शयनकक्षमा हत्या भएको र त्यसपछि उनको शवलाई स्नानगृह (बाथरुम)मा तानेको आशंका गरेको छ । प्रमुख लुगोले जुलाई २९ को राती र जुलाई ३० को बिहानको बीचमा उनको हत्या भएको विश्वास गरे। ममताको शव टुक्रिएको बताए ।

फेला परेको रगतलाई परीक्षणका लागि पठाइएको थियो र गत महिना डिएनए नतिजाले ममताकै रगत भएको देखाएको थियो ।

उनले ती नतिजाहरू गत महिना फिर्ता आएको बताए, तर ती नतिजाहरू आएपछि यो निर्णायक मण्डलको पहिलो बैठक हो, त्यसैले नयाँ प्रमाणहरू अहिले मात्र प्रस्तुत गरिएको लुगोले बताए ।

ममताको शव अझै फेला नपरेको भए पनि बृहत निर्णयक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्या सहित दुईवटा नयाँ आरोपमा अभियोग लगाएका छन् ।

२८ वर्षीया ममता काफ्ले भट्ट जुलाई २९ देखि भेटिएकी छैनन्। अगस्त २ मा ममताका सहकर्मीहरूको अनुरोधमा भट्ट निवासमा गरिएको कल्याणकारी जाँचको क्रममा नरेशले आफू आफ्नी श्रीमतीसँग छुट्टिने प्रक्रियामा रहेको प्रहरीलाई बताएका थिए ।

नरेश भट्टलाई शव लुकाएर राखेको आरोपमा अगस्त २२ गते पक्राउ गरिएको थियो । नरेश भट्टले अगस्त १९ टेस्ला बेचेका थिए । उनको गिरफ्तारी अघि दुई जनालाई आफ्नो घर बेच्ने प्रयास गरेको थियो।

अनुसन्धानकर्ताहरूले यसअघि नरेश भट्टले आफ्नी श्रीमतीको हत्या गरी उनको भर्जिनियाको मनसास पार्कको घरबाट शव तानेको आरोप लगाएका थिए।

जुलाई ३० मा अभियोजनकर्ताहरूले नरेश भट्टले तीनवटा चक्कुहरू किन्न स्यानटिलीको वालमार्टमा गएका थिए। जसमध्ये दुईवटाअझै बेपत्ता छन्। अर्को दिन उनि अर्को वालमार्टमा सफाई आपूर्तिहरू खरिद गर्न गएका थिए ।

अभियोजकहरूका अनुसार गत अप्रिलमा नरेश भट्टले आफ्नो कामको सुसाङ्ख्य उपकरण (ल्यापटप )मा “श्रीमती मरेपछि विवाह गर्न कति समय लाग्छ” र “श्रीमतीको ऋणमा के हुन्छ” भनेर खोजी गरेका थिए । नरेशले जुलाई ३१ को रात सँगै खाना खाएको बताएका थिए ।

प्रतिक्रिया