अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना

इनेप्लिज २०८१ मंसिर १६ गते १८:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, लोक साहित्य, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको पुस्तकहरू ४ प्रति फरवरी २८, २०२५ सम्ममा प्राप्त भइसक्नुपर्नेछ । यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले जनाएका छन् ।

उपर्युक्त आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२५ जुलाई महिनामा आयोजना हुने भानुजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने पनि जनाइएको छ । आधार पूरा भएका कृतिहरु तोकिएको समयमा पठाउन सम्पूर्ण लेखकहरूलाई अनुरोध गरिएको छ । पुस्तकहरु पठाउन सहयोग गर्न सम्बन्धित च्याप्टर, आजीवन तथा ट्रष्टीहरूलाई अनुरोध गरिएको छ ।

पुस्तकहरू सन्ध्या पहाडी (फोन नं. ९८४१८०३७१५) वा संयुक्त राज्य अमेरिकामा Tirtha Pandey, 6433 Abel Street, Elkridge MD 21075 अथवा 1727 Horner Road Woodbridge, VA 22191 मा पठाउन सकिने छ । पुस्तक पठाउने सम्बन्धमा कुनै जिज्ञासा भएमा अनेसासका स्थानीय च्याप्टरहरू, केन्द्रीय कार्यसमिति वा बोर्ड अफ ट्रष्टीका पदाधिकारीहरूसंग सम्पर्क राख्न वा [email protected] र/वा [email protected]मा सम्पर्क राख्नु हुन र विस्तृत जानकारीका लागि संस्थाको वेभसाइट   http://www.inls.orgहेर्नु हुन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया