ए चित्रकार !

सुरभि रेग्मी २०८१ मंसिर १६ गते १६:५० मा प्रकाशित

ए चित्रकार!
हाम्रो मिलन फेरि हुनेछ।
कहाँ?कसरी? थाहा छैन।
सायद तिम्रो कुसुमावलीको चिंगारी बनेर
तिम्रो क्यानभासमा केरिने छु या
तिम्रो क्यानभासमा चिनाले देखाएको एक मधुर चित्रकार बन्नेछु।
एक चाँदनी रातको जुन जसरी
आकाशलाई नियालिराख्नेछु या
सूर्यका किरण बनी सम्झनाका इन्द्रेणी बनाउने छु
या नवरंग पोत्दै, फागू खेल्दै
तिम्रो पेन्टिङ प्यालेटको पानीमा घुल्ने छु।
मलाई थाहा छैन
तर म तिम्रो क्यानभासमा एबस्ट्राक्ट प्रेमी बनी
मुस्कुराउने छु।
आँखा माथिको चस्माले पनि देख्न नसकेको
स्वाटै उडी जाने पन्छी बन्ने छु या
झरनाको पानीको निश्चल फोहोरा झै
तिम्रो शरीरलाई लपेट्ने छु
मलाई लाग्छ कि
समयको सच्चाइलाई मैले नकार्न सकिन
र पानीको चिसो स्पर्शले तनमनलाई
ठण्डा पार्दै
दिनहरू गुजार्नेछु।

शरीर त पतन भएर जाने नै छ
तर मेरो र तिम्रो कविताले अनेकौं जुनीमा फडको मार्नेछन्
भौतिक शरीर खतम भएर गए नि
हाम्रा आत्माका ध्वजापताका परमात्माको मन्दिरका
हरेक खम्बामा बाध्नेछु
मलाई अवश्य नै थाहा छ
हामी परमात्माको चरणमा झुकेर आफूलाई
उनको समीप पाउने नै छौँ।

– सुरभि रेग्मी

(यो कविता अमृता पृतमको “मै तुम्हे फिर मिलुङ्गी” बाट अनुवाद गरिएको हो।)

प्रतिक्रिया