कविता आमाहरु बालेन जन्माउ !

राधेश्याम लेकाली २०८१ मंसिर ५ गते ११:१८ मा प्रकाशित

खिया लागेको स्वतन्त्रता
लेउ लागेको मानवाधिकार र
कालोपोतिएको अवस्था फेर्न
हो,
युगको कायापलट गर्न
आमाहरु बालेन जन्माउ,
धमिरा लागेको अवस्था फेर्न
आमाहरु बालेन हुर्काउ ।

सहरको फोहोर, दुर्गन्ध र धुलो निखन्न
सहरको सडक, पेटी र चोक हिंड्न लायक बनाउन
आमाहरु बालेन जन्माउ !
स्कुल र कलेजको ब्रम्हलुट रोक्न
बागमती, विष्णुमती, धोविखोला र टुकुचालाई निर्मल र कन्चन बनाउन
भूमाफियाको कब्जाबाट सार्वजनिक जग्गा जोगाउन
आमाहरु बालेन जन्माउ,
धमिरा लागेको अवस्था फेर्न
आमाहरु बालेन हुर्काउ ।

माफियाहरुबाट देश जोगाउन
अपराधीकरण रोक्न
भ्रष्टाचार निर्मूल पार्न
अस्पतालको अवस्था सुधार्न
सहरमा उद्यान बनाउन
ढुङ्गेधारा खोल्न
रोजगारी सिर्जना गर्न
आमाहरु बालेन जन्माउ,
धमिरा लागेको अवस्था फेर्न
आमाहरु बालेन हुर्काउ ।

बालेन आस्था हो
बालेन भरोसा हो
बालेन आस्था र भरोसा मात्र होइन
बालेन आड र विश्वास पनि हो
बालेन “डाटा” हो
उस्ले गल्ती गरेको छैन
उस्ले निर्माण गर्न जानेको छ
उस्ले विकासको “मोडेल” बनाउन जानेको छ
देश निर्माण र विकासको लागि
आमाहरु बालेन जन्माउ,
धमिरा लागेको अवस्था फेर्न
आमाहरु बालेन हुर्काउ ।

प्रतिक्रिया