अमेरिकाको भर्जिनिया राज्यमा विशिष्ट पहिचान बनाएको अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले आइतबार मनासस सहरमा देउसी-भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
सन् २००८ मा स्थापित, भर्जिनियाको मनाससमा रहेको ANHS अमेरिकामा रहेका संस्थाहरू मध्येकै सक्रिय र लोकप्रिय संस्था मानिन्छ। सामाजिक र मानवीय सेवामा समर्पित यस संस्थाले सांस्कृतिक, शैक्षिक, र सृजनात्मक कार्यहरूलाई समेत प्रवर्द्धन गर्दै आएको छ। अक्टोबर २७ का दिन सम्पन्न उक्त देउसी-भैलो कार्यक्रममा ANHS द्वारा संचालित अमेरिका नेपाल शिक्षा सदन मा अध्ययनरत छात्रछात्रा इभा भण्डारी, दृष्टि रिजाल, पृसा घिमिरे, आज्ञा नेपाल, आर्षिया सुवेदी, कृषा केसी, डेनिसा पोख्रेल, सची आचार्य, स्नेहा न्यौपाने, गौरव गौतम, आरभ अर्याल, डेभिड गिरी, सामुअल गौतम, गौरव खड्का, अनुस्का पौडेल, गरिमा तिम्सिना, कृषा तिम्सिना, दिभिजा श्रेष्ठ, आस्भी श्रेष्ठ, प्रसिध्द पाठक, आयुश्री पाठक, पल्लवी रेग्मी, सहज आचार्य, साची आचार्य, एनिका गौतम लगायत समाजका सदस्य र पदाधिकारीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे। यस कार्यक्रमको अवसरमा अभिभावक, शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो, जसले कार्यक्रमको शोभा थपेको थियो।
BOT सभापति केदार तिम्सिना ले अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकाहरूमा नेपाली संस्कृति, चाडपर्व, भाषा, र गीतसंगीतमा अभिरुचि बढाउन र त्यसप्रति गौरव गर्न यस्ता सांस्कृतिक र शैक्षिक क्रियाकलापको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। ANHS द्वारा संचालित अमेरिका नेपाल शिक्षा सदनले बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन र सांस्कृतिक गतिविधिमा संलग्न गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। संस्थाकी अध्यक्ष जानु ओझा ले अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकालाई भाषा र संस्कृति सिकाउँदै नयाँ पुस्तामा नेपालीपन पुर्याउन र विश्वसमाजमा नेपाली पहिचान स्थापित गर्न यस विद्यालयले निरन्तर यस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय गान तथा ANHS सदस्य तथा शिक्षक जगन्नाथ पौडेल द्वारा वैदिक मन्त्रोच्चारणसँगै विधिवत् रूपमा लक्ष्मीपूजापछि गरिएको थियो। विद्यार्थीहरूले भैलो गीतमा नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शकदीर्घा मन्त्रमुग्ध भएको थियो। विद्यालय संयोजक भूपाल पौडेल ले कार्यक्रमले नेपालीहरूबीच प्रेम र सद्भावको भावना जागृत गर्दै सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा ANHS महिला समूहको देउसी-भैलो प्रस्तुति विशेष आकर्षण बनेको थियो भने ANHS पुरुष समूहले परम्परागत देउसी-भैलो प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएको थियो। शिक्षक विष्णु न्यौपाने र छात्रा सोफिया आचार्यद्वारा गरिएका आकर्षक सञ्चालनले कार्यक्रमको शोभा बढायो। BOT सभापति केदार तिम्सिना द्वारा धन्यवाद मन्तव्यसहित कार्यक्रमको समापन गरियो।
देउसी-भैलो कार्यक्रम अमेरिकामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न, संस्कृति संरक्षणमा योगदान दिन र नयाँ पुस्तामा नेपालीपनको गहिरो छाप छोड्न सफल रह्यो।
जगन्नाथ पौडेल
मेडिया कोअर्डिनेटर एएनएचएस
प्रतिक्रिया