महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदान अवर्णनीय तथा अतुलनीय रहेको छ । देवकोटाले बाल्यकालदेखि नै साहित्यसिर्जना गरेको कुरामा कतै पनि दुई मत देखिँदैन । देवकोटाको पहिलो रचना कविताको रुपमा रहेको थियो :
घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नुछ हामीलाई ।
देवकोटाले समग्रमा साहित्यलाई जीवन बनाए । कवितामा रमाए । देवकोटाले निबन्ध, कथा, उपन्यास, जीवनी, नाटक आदि लेखे पनि कविताले नै उनलाई अमर बनायो । कवितामा पनि उनले दुई हरफे फुटकर कवितादेखि महाकाव्यसम्म लेखे । दुई हरफे, साना फुटकर कविताका साथै महाकाव्यसम्म लेखेका देवकोटाले छन्दोबद्ध, लयबद्ध र लोकलय र गद्य कविता पनि लेखे । कविताकै बारेमा चिन्तन गर्ने देवकोटाको मुखबाट निस्केको अन्तिम वाणी पनि कविता नै रहेको मानिन्छ, यथा :
संसाररूपी सुखस्वर्गभित्र
रमेँ रमाएँ दिई भित्र चित्र
सारा भयो त्यो मरुभूमितुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल
रहेछ संसार निशासमान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो न भो विवेक
महामरूमा कणझैँ म तातो
जलेर मर्दो बिनु आश लाटो
सुकी रहेको तरुझैँ खाली
चिताग्नि तापा जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी बिलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ ।
देवकोटा तीनपुस्ते साहित्यकार थिए । देवकोटाले बाल्यकालमा आफ्ना पिताको कविता सार्दासार्दै कविता लेख्न सिकेका थिए भन्ने कुरा धेरैले स्वीकार गरेका छन् । यसै गरी देवकोटाको छोराले पनि कविता लेख्ने गरेको प्रकाशमा आएको छ । देवकोटाका जेठा छोरा प्रकाश देवकोटाले कविता रचना गरेको र उनको एउटा रचना ‘सन्देश’ पत्रिकामा प्रकाशन भएको श्यामप्रसाद शर्माले आफ्नो पुस्तक ‘केही साहित्यकार र साहित्यमा’ उल्लेख गरेका छन् । कलिलै उमेरमा बितेका प्रकाशको रचनाको आरम्भका दुई पंक्ति यस्ता थिए :
रोयो बालक बीच सडकमा
दिन्न नजर किन हे दुनियाँ ?
महान् साहित्यकार देवकोटालाई नेपाली, नेवारी, तामाङ, हिन्दी, संस्कृत, बङ्गाली, अङ्ग्रेजी, जर्मन, फ्रेन्च, चिनियाँ, इटाली र रुसी गरी तेह्र भाषामा दख्खल थिए । धुरन्धर साहित्यकार मात्र नभई गम्भीर पाठक पनि भएकाले देवकोटालाई विश्वसाहित्यको राम्रो ज्ञान थियो । नेपाली साहित्य पनि विश्वस्तरको साहित्य वा विश्वका प्रमुख भाषाका साहित्यको दाँजोमा कम छैन भन्ने थाहा थियो र नेपाली साहित्यलाई सोही स्तरको बनाउनमा पनि तल्लीन थिए ।
सम्पूर्ण जीवन साहित्यलाई नै समर्पण गरेका देवकोटाको कलम भाषा र साहित्यबाहेक अन्य क्षेत्रमा चलेको थियो भन्ने विषयमा कमै चर्चा भएको पाइन्छ । बहुमुखी प्रतिभाका धनी देवकोटाले ‘नागरिकशास्त्र’ भन्ने राजनैतिक विषयका पुस्तक पनि लेखेका छन् भन्ने जानकारी निकै कम मानिसलाई मात्र रहेको छ । रत्न पुस्तकालय बानेश्वरले देवकोटाको शतवार्षिकीको अवसर पारेर २०६६ मा प्रकाशन गरेको ‘नागरिकशास्त्र’ को सम्पादन पार्थमणि भट्टाईले गरेका हुन् । अग्रपृष्ठमा देवकोटाको ठुलो फोटो राखेर प्रकाशन गरिएको पुस्तकमा पूर्वमन्त्री रामहरि जोशीले भूमिका लेखेका छन् । सम्पादक भट्टराईले दोकानबाट पाण्डुलिपि प्राप्त गरेको बताउँदै यो देवकोटाको अक्षर हो भन्ने पुष्टि गर्न पनि जोशी र देवकोटाका अन्य निकटस्थको सहयोग लिएका थिए । देवकोटाको हस्ताक्षरसमेत रहेको पाण्डुलिपिको हस्ताक्षरसमेत कृतिमा प्रकाशित छ ।
कृतिभित्र देवकोटाका बारेमा बुँदागत सङ्क्षिप्त चिनारी दिइनुका साथै देवकोटाको सिर्जनाभूमि, बौद्धिक वृद्धि र वृत्ति, देवकोटाको अङ्ग्रेजीमा दख्खल आदि उपशीर्षकमा देवकोटाकै बारेमा बताइएको छ । यसै गरी महाकवि उपाधि ः सोधाइ र जबाफ उपशीर्षकमा कुमारबहादुर जोशीको सोधाइ र भीमनिधि तिवारीको जबाफ दिइएको छ । ‘महाकविका बारेमा लेख्नेहरू’ उपशीर्षकमा एउटा लामो सूची तयार पारिएको छ भने ‘देवकोटाका प्रकाशित कृतिहरू’ उपशीर्षकमा उनका कम्तीमा ४५ प्रकाशित कृतिको सूची राखिएको छ ।
कृतिको दोस्रो अध्यायमा चाहिँ देवकोटाका राजनीति विचार प्रस्तुत गरिएको छ । यसको ‘ समुदाय, समाज, राज्य, सरकार, राष्ट्र, विधान र अन्तर्राष्ट्रिय’ शीर्षकअन्तर्गत क्रमशः समुदाय, राज्य, राष्ट्र र सरकार, समुदाय र राज्यका बिच के अन्तर पाइन्छ ? सरकारको परिभाषा के हो ? आदि विषय आएका छन् । यसैमा सरकारको उत्पत्ति कसरी भयो भन्ने जिज्ञासाको जबाफमा शक्तिवादी सिद्धान्त, ईश्वरवादी सिद्धान्त, सरकारी इकरारनामाको सिद्धान्त, स्वार्थवादी सिद्धान्त, अङ्गसङ्गत जीवात्मक सिद्धान्त, ऐतिहासिक तथा विकासवादी सिद्धान्तबारे प्रकाश पारिएको छ । साथै राज्यव्रिmयाका विषयका विभिन्न सिद्धान्तहरूमा व्यक्तित्वात्मक सिद्धान्त, समाजवादी सिद्धान्त, अराजकतावादी सिद्धान्त आदिको स्पष्ट विश्लेषण गरिएको छ । विधान भनेको के हो ? शासन विधानको आधेय, राज्य र व्यक्ति विषयमा पनि देवकोटाको विचार प्रस्तुत भएको छ । साथै राज्यका विभिन्न रूपहरू उच्चतम साम्राज्याधिकारको स्थान – एकतन्त्रात्मक, उच्चवर्गीय जनतन्त्र र प्रजातन्त्रादिबारे व्याख्या गरिएको छ ।
कृतिको तेस्रो अध्यायमा सरकारका अङ्गहरू र शक्चिविच्छेदको सिद्धान्त रहेको छ । देवकोटाले व्यवस्थापिका, शासकमण्डल र न्यायविभाग गरी तीन अङ्गबारे स्पष्टोल्लेख गर्दै व्यवस्थापिकाअन्तर्गत छोटीसभा र बडीसभा, शासकमण्डल भनेको कार्यपालिका वा मन्त्रिमण्डल तथा न्यायविभाग भनेको न्यायपालिकाको समन्वयको कुरा उल्लेख गरेका छन् । कृतिको चौथो अध्यायमा ‘साम्राज्याधिकार, कानुन, स्थानीय सरकार, म्युनिसिपल सरकार’ छ । यसअन्तर्गत साम्राज्याधिकारका भेदहरू, कानुन, स्थानीय स्वराज्य भनेको के हो ?, कर्पोरेसन, म्युनिसिपलिटीहरू अर्थात् नगरपालिकाहरू आदि उपशीर्षकमा राजनैतिक विचार प्रस्तुत गरिएका छन् । राजनीतिबारे देवकोटाको स्पष्ट विचार बुझ्न मात्र नभई देवकोटाको कल्पनाको राज्य कस्तो हुने भन्ने विषयमा पनि अलिकति यसबाट बुझ्न सकिन्छ । देवकोटसित राजनीतिको कति गहिरो ज्ञान थियो भन्ने ज्ञान यस पुस्तकले दिन सफल भएको छ ।
देवकोटाले कुन सन्दर्भका प्रस्तुत पुस्तकको रचना गरेका थिए र किन प्रकाशन हुन सकेन भन्ने पक्ष पनि रहेको छ । यस कृतिको रचना नेपालमा राणाशासनको पतन र प्रजातान्त्रिक सरकारको स्थापना हुँदाको बखतमा रहेको अन्तरिम सरकारको समयमा देशको प्रजातन्त्रको महत्व बताउनको लागि लेखिएको अनुमान गरिएको छ । प्रजातन्त्रबारे निकै कम पुस्तक उपलब्ध रहेको र राजनीतिको विषयमा विभिन्न किसिमका विचारहरू आइरहेको अवस्थामा सम्भवतः देवकोटाले सर्वसाधारणका जिज्ञासालाई सम्बोधन गर्नको लागि कृतिको सिर्जना गरेको हुुनुपर्छ वा कुनै दलले देवकोटालाई आग्रह गरेर उनले यस पुस्तकको रचना गरेको हुनुपर्छ तर प्रकाशन गर्ने बेलासम्म सन्दर्भ बदलिइसकेको हुनुपर्छ । देवकोटा साहित्यमय व्यक्ति भएको हुनाले यस कृतिको प्रकाशनमा चासो नदिएको हुनसक्छ वा अन्य कुनै कारणले कृतिको प्रकाशन ओझेलमा परेको हुन सक्छ । देवकोटाका रचनाहरू यत्तिकै छरिएर रहेका हुन्थे, कति हराएर जान्थ्यो र कतिपय रचना आफ्नो नाममा अरुले पनि छपाउने गरेका थिए भन्ने सुनिन्छ ।
नेपाली साहित्यका सर्वोच्च पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय व्यक्तित्व हुन् । देवकोटाको जन्म नेपाली भाषा र साहित्यको लागि मात्र नभएर नेपाल भूमिको लागि पनि गर्वको विषय हो । भौतिक रुपले उनको जीवन मध्यम आयुको भए पनि उनका रचनाहरुले उनलाई अमर बनाएका छन् । देवकोटाको देहान्त भएको पचास वर्षभन्दा बढी भइसकेको छ तर नेपाली साहित्यमा उनको विचार अत्यन्त सान्दर्भिक छँदैछ, साथै प्रस्तुत पुस्तक ‘नागरिकशास्त्र’मा देवकोटाले व्यक्त गरेको विचारले नेपाली राजनीतिको क्षेत्रमा पनि देवकोटाको विचार अत्यन्त सान्दर्भिक रहेको छ । देवकोटा नेपाली भाषा, साहित्य र राजनीतिका पनि दूरदर्शी व्यक्तित्व हुन् भन्ने कुरो कालव्रmमले प्रमाणित गरिरहेको छ । महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा उनका अन्य अप्रकाशित कृतिहरूको खोजी र अनुसन्धान गरी प्रकाशन गर्ने तथा समाजका विभिन्न पक्षबारे तिनको विचारलाई सार्वजनिक गर्न सके अझ राम्रो हुने थियो ।
पत्रकार/लेखक
प्रतिक्रिया