कुकुर तिहारका सन्दर्भमा

–डा. खगराज बराल २०८१ कार्तिक १४ गते ११:११ मा प्रकाशित

कुकुरका कुरा

महाभारतमा युधिष्ठिरसँग कुकुर जिउँदै स्वर्ग गएको कथा वर्णित छ । युधिष्ठिरले अभिमन्युका छोरा परीक्षित्‍लाई राज्य सुम्पेर पाण्डवहरू द्रौपदीसहित महाप्रस्थानतर्फ लागे । युधिष्ठिरसँग एउटा कुकुर पनि पछि लाग्यो । हिमाली खण्डमा हिँड्दै गर्दा द्रौपदी सबैभन्दा पहिला लडिन् । उनी लडेको कारण बताउँदै युधिष्ठिरलगायत अन्य अगाडि बढ्दै गए । त्यसपछि सहदेव लडे, अन्य अगाडि बढ्दै गए । क्रमश नकुल, अर्जुन पनि लडे । युधिष्ठिरले लड्नाको कारण बताउँदै गए । अन्त्यमा भीमसेन पनि लडे । भीमसेन लड्नुको कारण पनि बताए । अगाडि बढ्दै जाँदा युधिष्ठिरसँग कुकुर मात्र बाँकी रह्यो । युधिष्ठिरलाई लिन स्वर्गका राजा इन्द्र स्वयम् विमान लिएर आइपुगे । युधिष्ठिरको सत्यनिष्ठाका कारण सशरीर स्वर्ग जान पाउने भनी इन्द्रले लिन आएको कुरा बताए । इन्द्रको कुरा सुनेपछि युधिष्ठिरले आफूसँग आएको कुकुर पनि सँगै जान पाउने भए मात्र जाने बताए । इन्द्रले कुकुर लाने कुरा इन्कार गरे । युधिष्ठिरले पनि कुकुर साथमा जान नपाए आफू पनि नजाने बताए । लामो कठिन यात्रामा कुकुरले आफ्नो साथ नछोडेकाले सँगै लानुपर्ने जिकिर गरे । यस विषयमा इन्द्र र युधिष्ठिरबिच लामो कुराकानी भयो । द्रौपदी र आफ्ना चार भाइलाई बचाउन नसक्ने युधिष्ठिर भने कुकुरलाई सँगै लैजाने अडानमा बसिरहे । युधिष्ठिरको कठोर अडानबाट प्रभावित भएका कुकुरको रुपमा आएका धर्मराजले युधिष्ठिरको प्रशंसा गरे । युधिष्ठिरको सदाचार, बुद्धि र सबै प्राणीप्रतिको दयाभावको पनि प्रशंसा गरे । महाभारतको कथामा युधिष्ठिरको महाप्रस्थानमा साथमा रही जिउँदै स्वर्ग गएकाले कुकुरलाई हिन्दु सनातन धर्ममा धर्मराजको प्रतीक पनि मानिएको छ । हिन्दु सनातन धर्ममा कुकुरलाई भैरवको वाहन पनि मानिन्छ ।

घरमा चैतमा हजुरबाको र जेठमा हजुरआमाको श्राद्ध (सराद) पथ्र्यो । प्रायः भदौ–असोजमा सोह्र श्राद्‍ध पर्ने गथ्र्यो । श्राद्धमा मिठो मिठो खान पाउँदा हामी केटाकेटीहरू फुरूङ्ग हुन्थ्यौँ कुकुर । घरमा श्राद्ध हुँदा हाम्रो मुख्य काम गोठको गोरूलाई फुकाएर घरमाथिको चौरमा लैजाने हुन्थ्यो । द अधिकारी पण्डित बा आएर श्राद्ध सुरू हुने बित्तिकै आमाले भन्ने गर्नुहुन्थ्यो, “ए केटा हो ! गोरूको दाम्लो फुकाएर घरमाथिको चौरमा लैजानु । श्राद्धको समयमा गोरूलाई दाम्लोको बन्धनमा राख्नु हुन्न ।” मैले आमाको कुरा बुझ्न सकेको थिइनँ । श्राद्धका दिनमा आमाले कुकुर कतै भेटेमा घरमा ल्याउनु पनि भन्ने गर्नुहुन्थ्यो । श्राद्धको दिन कुकुरलाई मिठो मिठो खान पनि दिने गर्नुहुन्थ्यो । कहिलेकाहीँ संयोगले श्राद्धको दिन कुकुर घरको आँगनमा आएमा पितृ नै आँगनमा आएको पनि भन्ने गर्नुहुन्थ्यो । श्राद्धको दिन घरमा आएको कुकुरलाई माया गर्न भन्नुहुन्थ्यो । आमाले बेला बेलामा भन्ने गर्नुहुन्थ्यो, “ए केटा हो ! सरादका दिन आँगनमा आएका कुकुरलाई भुलेर पनि नहान्नू, नलेखेट्नू । मिठो मिठो खाना खान दिनू ।”

श्राद्धका दिन गोरू फुकाउन लगाउनु र कुकुरलाई अन्य दिनभन्दा माया गरी मिठो मिठो खान दिनुको आशय बुझ्न मन लाग्यो । मैले श्राद्धको दिनको मौका छोपेर आमासँग सोध्ने निधो गरेँ । श्राद्धका लागि आमाले बिहानै उठेर घर लिपपोत गरिरहेको समयमा मैले आमालाई सोधेँ, “आमा सराद भइरहेको समयमा बाँधिरहेको गोरूलाई किन फुकाउने हो? अनि सरादका दिनमा कुकुरलाई मिठो मिठो खाने वmुरा किन दिने भनिएको हो?” आफ्नो काममा एकोहोरो लागिरहेकी आमाले मेरो कुरा सुनेर भन्नुभयो, “यसको कारण छ ।” “कस्तो कारण?” मैले सोधेँ । “सराद पितृको सम्झनामा अरिन्च । सरादका दिन पुरूष पितृ गोरूका रूपमा र महिला पितृ कुकुरका रूपमा आम्चन् । त्यसैले सरादका दिन यी दुवै जनावरलाई मान मनितो अर्नपर्च । यस सम्बन्धी कथा छ”, आमाले भन्नुभयो । “कस्तो कथा आमा ! भन्नुहोस् न”, मैले भनेँ । आमाले कथा भन्न थाल्नुभयो, “एउटा ब्राह्मणकहाँ पितृकार्य रच । सरादका दिन एउटा कुकुर त्यो घराँ आइपुगेच । ब्राह्मणका घरकाले सरादका दिनाँ कुकुर आको भनेर कुटेचन् । कुकुर बेस्केरी कराएच ।” “सराद सुरू भच । गोठमा गोरू बाँधेका बाँधै अरेचन् । पिटिएको कुकुरले गोठमा
बाँधिरहेका गोरूसँग गर भनेच, हाम्रा छोराको त के मति भच । पितृकार्य गर्ने बेला म डुल्दै घराँ आकी थिएँ । मलाई नराम्रोसँग पिटे । हजुरलाई दाम्लोबाट पनि फुकाएका रहेनचन् । यस्ता सन्तानलाई कस्तो पितृले आशीर्वाद दिने?” “बरररर आँसु झार्दै गोरूले कुकुरका कुरामा समर्थन अरेच । पशु वाक्य बुझ्ने एक जना मानिस रचन् । उनले यी दुईका कुरा सुनेचन् । गएर सराद गर्ने घरका लोग्नेस्वास्नीलाई सुनाइदिएचन् । त्यसपछि उनीहरूले गोरूलाई दाम्लोबाट फुकाइदिएचन्, कुकुरलाई माया अरेचन् । तेसबेलादेखि सरादमा कुकुरलाई मिठो मिठो

खान दिने, नपिट्ने र गोरूलाई दाम्लोबाट फुकाउने चलन सुरू भएको अरे ।” आमाको कुरामा मैले सही थापेँ । त्यतिबेला त म बालकै थिएँ । आमाबाबुले भनेको कुरा नपत्याउने कुरा थिएन । तर आस्था हो, मलाई अहिले पनि आमाको कथामा प्रश्न गर्न मन लाग्दैन । हाम्रो गाउँतिर अहिले पनि पितृ कार्य गर्दा गोरू छ भने दाम्लो फुकाइदिने, घाँस खान दिन र मिल्दो ठाउँ भएमा बाहिर डुल्न दिने चलन छ । पितृ कार्यका दिन बाहिरबाट कुकुर आएमा माया गर्ने, मिठो मिठो खान दिने गर्छन् । अरू दिन त कुकुर लाई माया गर्छन् भने पितृ कार्यका दिन कुट्ने त कुरै भएन ।

ललितपुर, सानेपास्थित ओपन लर्निङ एक्सचेन्ज–ओएलई (Open Learning Exchang Nepal-OLE Nepal) नेपालमा इ–पुस्तकालयसम्बन्धी छलफलका लागि पुगेको थिएँ । ओएलईका कार्यकारी निर्देशक रवि कर्माचार्यलाई नै भेट्ने इच्छा भएकाले उनीसँग पूर्व सम्पर्क गरेको थिएँ । एक विद्यार्थी एक ल्यापटप (ओन ल्यापटप पर चाइल्ड) कार्यक्रममा यही संस्थाले शिक्षा मन्त्रालयलाई सहयोग गरेको थियो । ओएलईले कक्षा एकदेखि कक्षा आठसम्मका

पाठ्यक्रमलाई इ–लर्निङका लागि पाठ्यक्रम विकास केन्द्रसँग समझदारी पनि गरेको थियो । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको उपयोगका लागि ओएलई नेपाल र शिक्षा विभागबिच दुईपक्षीय समझदारी पनि भएको थियो । ओएलई र यसका निर्देशक रवि कर्मचार्य मलगायत शिक्षा क्षेत्रमा काम गर्नेका लागि नौलो थिएन । रवि कर्मचार्यसँग लिएको समयानुसार म ओपन लर्निङ एक्सचेन्ज (ओएलई) नेपालको सानेपास्थित कार्यालयको गेटमा पुगेँ । सुरक्षा गार्डले गेट खोलिदिए । हाम्रो गाडी कार्यालय परिसरभित्र गएर रोकियो । म गाडीबाट ओर्लने प्रयास गर्दा गर्दै दुईतीनओटा कुकुरले हाम्रो गाडीलाई घेरिदिए । म गाडीबाट ओर्लन डराएँ ।कुकुरदेखि मलाई निकै डर पनि लाग्थ्यो । कुकुर हुन्, भर हुँदैन । यदि टोकिहालेमा त्यसपछिको उपचार सम्झेर कहाली लाथ्यो । गाडी वरिपरि आएका कुकुर मात्र होइन, कार्यालयको परिसरभित्र चार पाँचओटा अरु कुकुरहरू पनि थिए । सबै गरी सातआठओटा कुकुर थिए होलान् । कुकुरहरू हेर्दैमा टोक्न आउलान् कि जस्ता देखिन्थे । म गाडीबाट ओर्लेपछि भुतुल्ला, मोटा र खाइलाग्दा यस्ता कुकुरहरू पुच्छर हल्लाउँदै आइपुगे । रवि कर्माचार्य पनि मलाई लिन आइपुगे ।
मलाई डराएको देखेर रविले भने, “सर ! डराउनु पर्दैन । यी कुकुरहरूले टोक्दैनन् । यिनीहरू त पाहुना आउँदा रमाउँछन् । ल हेर्नोस् त सबैले पुच्छर हल्लाउँदै आएका छन् ।” रवि सरले भने पनि मलाई डर भने लागेकै थियो । डर लागे पनि डर नलागे जस्तो देखाउन प्रयास गर्दै थिएँ । कुकुरबाट जोगिन रवि सरको नजिकै गएको थिएँ । प्रवेश गेटमा थुप्रै कुकुर भेटेपछि मेरो जिज्ञासा नै मोडियो । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका सम्बन्धमा छलफल गर्न गएको म रवि सर कहाँ भेटिएका कुकुरसम्बन्धी जिज्ञासामा केन्द्रित भएँ । मैले रवि कर्मचार्यलाई सोधे, “रवि सर । केनेल क्लब खोल्नु भएको हो कि क्या हो?” “किन र सर?”, रविले सोधे । “मैले त यहाँ कुकुरै कुकुर देखेँ”, मैले भनेँ । रविले भने, “यो केनेल क्लब होइन । कुकुरपालन केन्द्र पनि होइन । मैले त दुःख पाएको कुकुरको संरक्षण मात्र गरेको हुँ ।” नजिकै बसेका टिका कार्की मेरो र रविको कुराकानी सुनेर मुसुमुसु हाँसिरहेका थिए । मे रो जिज्ञासालाई शान्त पार्न टिका कार्कीले भने, “रवि सर जनावरलाई निकै प्रेम गर्नुहुन्छ । रवि सरले बाटामा दुःख पाएका कुकुरहरू यहाँ ल्याएर संरक्षण दिनुभएको हो । कति कुकुर त घाइते थिए, एउटाको त खुट्टा
भाँचिएको थियो । बाटामा भेटिएका दुःख पाएका कुकुरलाई ल्याएर उपचार गर्दै पोषिलो खाना खुवाएर यस्ता बनाउनुभएको हो ।” टिका कार्कीका कुरालाई टाउको हल्लाउँदै रविले समर्थन गरिरहेका थिए । मैले रविजीको कार्यकक्षमा गएरै छलफल गर्न चाहेँ । हामी रविजीको कार्यकक्षमा पुग्यौँ । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धमा छलफल गर्न गएको त हाम्रो छलफल अर्कै प्रसङ्गतिर मोडियो । मैले रविजीको कार्यालयमा रहेका कुकुरतिर हाम्रो छलफल अगाडि बढ्यो । “रवि सर ! तपाईंले यी कुकुर किन पाल्नुभएको हो?” मैले सोधेँ ।

“मैले कुकुर नै पाल्न खोजेको होइन । तपाईंले हेर्दा पालेको जस्तो देखिएको छ होला । बाटाघाटामा दुःख पाएका कुकुरहरूलाई सेल्टर दिएको हुँ । खाना नपाएका, घाइते र दुःख पाएका कुकुरको हेरचाह गरेको छु । मैले यस्तो काम गर्न थालेको झण्डै अठार वर्ष जति भयो होला ।”, रविले भने । “हेर्दाखेरि त दुःख पाएका कुकुर हो जस्ता लाग्दैनन्, सबै मोटा न मोटा छन्”, मैले भनेँ । “यी त यहाँ आएपछि स्याहार पाएर मोटाघाटा भएका हुन्”, रविले भने । “यहाँ कति कुकुर ल्याएर स्याहार गर्न सक्नुहुन्छ ? बजारभरि भुस्याहा कुकुर बग्रेल्ती छन् । यहाँ ल्याएर खुवाउनु पर्‍यो, नुहाउनु पर्‍यो, रेविज विरूद्धको सुई दिनु पर्‍यो, अन्य उपचार पनि पर्‍यो । के यो सम्भव हुने कुरा हो र?” मैले सोधेँ । मेरा कुरा सुनिरहेका रविजी आफू बसेको कुर्सीलाई मेरो नजिकै तान्दै भन्न थाले, “सरलाई म मेरो रूचिका कुरा भन्न चाहन्छु । म झण्डै सत्र वर्ष अमेरिकामा पढी त्यही काम गरेर बसेको मान्छे । म नेपाल फर्किएँ । मलाई प्रकृतिमा घुम्न निकै रमाइलो लाग्छ । कहिलेकाहीँ त दशौं दिन म ट्रेकिङमा जान्छु । घन्टौं पैदल हिड्छु । डाँडा पहाडतिर हिँड्दा भेटिने गाईभैंसी, बाख्रा, च्याङ्ग्राहरूसित म भुल्न रूचाउँछु ।” “मलाई जनावरहरू निकै मन पर्छ । माया पनि लाग्छ । सडकमा थुप्रै भुस्याहा कुकुरहरू हिँडिरहेको देख्छु । सबै भुस्याहा कुकुरको व्यवस्थापन म एक्लैले गर्न पनि सक्दिनँ । भुस्याहा कुकुरहरूको आआफ्नो पेरिमिटर हुने गर्छ । उनीहरूको क्षेत्रभित्र अन्य कुकुर पस्यो भने पहिला भुक्छन्, अनि लखेट्छन् । कहिलेकाहीँ पहिला भुक्छन्, अनि सुँघ्छन् । लखेट्दैनन् पनि । आफ्नो क्षेत्रभन्दा बाहिरको भुस्याहा कुकुर भए भुक्छन् र लखेट्छन् । भुस्याहा कुकुरहरू बानी परेका हुन्छन्, चाँडै घुलमिल हुन्छन् ।” रविले विगततर्फ फर्किंदै भने, “विगतमा काठमाडौमा जनावरका लागि आश्रयस्थल पनि हुन्थे । मानिसहरू आफूले पाल्न नचाहेका र भरखरै जन्मेका कुकुरका छाउराहरूलाई आश्रयस्थलको गेटमा ल्याएर छोडेर जान्थे । मान्छेहरू जनावरप्रति कति निर्दयी र निष्ठुरी हुन्छन् भन्ने कुरा यसले देखाउँछ ।” यति भनेपछि रविजी आफू बसेको कुर्सीबाट उठे र एकपटक बाहिरका कुकुरप्रति नजर पुर्‍याएँ । फेरि कुर्सीमा आएर बस्दै आफ्नो भनाइ अगाडि बढाए । “हेर्नोस् सर ! मेरो अहिलेको चासो भुस्याहा कुकुरको मात्र होइन । भुस्याहा कुकुर त रैथाने जस्ता भए । यिनीहरू लड्ने, भिड्ने, खोसेर खाने, खोजेर खानेमा अभ्यस्त भइसकेका छन् । अहिले प्रायः घरमा कुकुर पाल्ने चलन छ । मान्छेहरूले कुकुरलाई बच्चालाई जस्तै स्याहार गरेर पालेका छन् । नुहाइदिन्छन्, खाना खुवाउँछन्, बेला बेलामा भेटेरनरीबाट सुई लगाउँछन्, स्वास्थ्य परीक्षण गराउँछन् । हिजोआज त कुकुरको खाना पनि बजारमा उपलब्ध छ । यस्ता खाना किनेर ल्याएर खुवाउँछन् । कुकुर पाल्न पनि निश्चित बजेटको जोहो गर्नुपर्ने हुन्छ ।” “जब घरमा पालेका कुकुरहरू बाहिर आउँछन्, तिनीहरूलाई भुस्याहा कुकुरहरूले लखेट्छन् । घरमा पालेका कतिपय कुकुरहरू बाहिर आउँदा हराउँछन्, कतिपय घरबेटीले बुढो भयो भनेर बाहिर ल्याएर छोडिदिन्छन् । यस्तो अवस्थामा घरमा पालिएका कुकुरहरू बाहिरको वातावरणमा समायोजन हुन सक्दैनन् । खाना खोज्न पनि जान्दैनन् । खान पनि जान्दैनन् । यस्ता कुकुरहरूलाई बाहिरका भुस्याहा कुकुरहरूले लखेट्छन्, टोक्छन्, घाइते बनाउँछन् । यस्ता लखेटिएका पीडित कुकुरहरूलाई देखे भेटेमा अफिसमा ल्याउँछु ।”

“सडकमा लखेटिएका घर पालुवा कुकुरहरूले कैयाँ दिनदेखि खाना खान पाएका पनि हुँदैनन् । फोहोर भएका हुन्छन् । भुस्याहा कुकुरले टोकेर घाउ नै घाउ भएको हुन्छन् । यस्तै कुकुरको उद्धार गर्दा गर्दै आठ दशओटा भएका छन् ।” “यस्ता कुकुरलाई कसरी ल्याउनुहुन्छ छ?” मैले सोधेँ । “कहिलेकाहीँ भुस्याहा कुकुरहरूले घर पालुवा कुकुरलाई लखेटिरहेका हुन्छन् । मैले भुस्याहा कुकुरलाई धपाएर लखेटिएको कुकुरलाई बचाउँछु । कुकुर थर्थरी कामिरहेको हुन्छ । नजिकैको पसलबाट बिस्कुट किनेर खान दिन्छु । त्यसपछि त त्यो कुकुर पुच्छर हल्लाउँदै मेरो नजिकै भइहाल्छ । नजिकै भए डोराएर यहाँ ल्याउँछु, टाढा भए
ट्याक्सीमा राखेर ल्याउँछु ।” “ओएईको अफिसको ग्राउन्ड फ्लोरमा कुकुरलाई राख्ने व्यवस्था मिलाएको छु । कुकुरको स्वास्थ्य परीक्षणका लागि एकजना भेटेरनरी प्राविधिक राखेको छु । यी कुकुरहरूलाई खाना तथा मासुका लागि मासिक सात आठ हजार रूपैयाँ खर्च लाग्छ ।” “खर्च त कसरी व्यवस्थापन गर्नु भएको छ त?”, मैले सोधेँ । “व्यक्तिगत रूपमा म आफैँले गर्ने गरेको छु । जनावरलाई माया गर्ने कतिपय मेरा साथीहरूले पनि सहयोग गर्ने गरेका छन् । भेटेरनरी प्राविधिकले निःशुल्क सेवा दिएका छन् । सबैको सहयोग मिलेको छ”, रविले भने । “उपचारमा पनि खर्च होला नि?”, मैले सोधेँ । रविले भने, “खर्च हुन्छ । यहाँ ल्याएपछि रेविज विरूद्धको सुई दिनै पर्छ । खाना खान नपाएर कुपोषण भएको हुन्छ । मासुलगायत तागतिलो खाना खुवाउनु पर्छ । कुनै कुनै कुकुर त घाइते हुन्छन् । तिनीहरूको उपचारमा थुपै खर्च लाग्छ । एकपटक एउटा कुकुरको खुट्टामा चोट लागेको थियो । उपचार गर्दा त खुट्टै काट्नुपर्ने अवस्था आयो । खुट्टा काटियो । त्यसलाई कृत्रिम खुट्टा जोडियो । पछि त त्यो कुकुर कृत्रिम खुट्टा टेक्दै ट्वाक ट्वाक गर्दै हिड्थ्यो । यो कथा सुनाउँदा रविजी खुसीले पुलकित भएर हाँसे । “दुःख पाएको कुकुरलाई यहाँ ल्याएर उपचार र स्याहार गरेपछिको अवस्था देख्दा निकै सन्तोष लाग्छ, मन खुसी भएर आउँछ । आखिर प्राणी सबैको शरीर उस्तै त हो नि”, रविले भने । “सधैं यसरी राखेर यी कुकुरहरूको कसरी व्यवस्थापन गर्नुहुन्छ?”, मैले प्रश्न तेर्साएँ । मलाई गहिरिएर हेर्दै रविले प्रश्न गरे, “सरलाई बाहिरका कुन कुकुर मन पर्‍यो?” मैले हामी बसेको कोठाबाटै तलको कुकुरलाई चोर औंलाले देखाउँदै भनेँ, “त्यो होचो होचो तर लामो शरीर भएको ।” “सरले लैजाने हो त?”, रविले प्रश्न गरे । “मैले त मन पर्‍यो मात्र भनेको । कुकुर घरमा पाल्ने मेरो रहर नै छैन”, मैले भनेँ । मेरो कुरा सकिन नपाउँदै रविले भने, हो, “यस्तै मान्छेहरू यहाँ आउँदा कुकुर मन परेपछि लैजाने गर्नुभएको छ । यी कुकुर धेरै समय यहाँ रहँदैनन् । सरले देख्नुभयो नि तलका कुकुरहरू? यी घर पालुवा कुकुर थिए, कसैले घर लैजाँदा सजिलै समायोजन हुन सक्छन् । कतिपयले यहाँ आएर कुकुर हेरिसकेका छन् । अनुकूल समयमा लैजान्छन्। बाटामा भेटिएका घाइते र लखेटिएका नयाँ कुकुर आउँछन् । यो त चलिरहेको छ ।”

“एउटा यहाँ बसेको कुकुर अहिले क्यानडा पुगेको छ”, यति भन्दै रविजीले आफ्नो मोबाइलबाट क्यानडा पुगेको कुकुरको भिडियो देखाए । यहाँ बस्दा सानी नाम राखिएको कुकुर अहिले क्यानडाका दम्पतीको घरमा पालिएको छ । अहिले क्यानडामा यसको नाम लोला राखेका छन् । उतैको एकजना क्यानेडियन नागरिकले बाह्र सय युएस डलर खर्च गरेर क्यानडा पुर्‍याएको रहेछ । हवाइजहाजमा छुट्टै केजमा राखी ट्रान्जिटमा पनि दानापानी खुवाउने व्यवस्था मिलाइएको रहेछ ।
“तपाईंको प्रयासले तपार्ईंको नजरमा पाएका कुकुरको त उद्धार हुने रहेछ । अन्य कुकुरले त दुःख पाउँछन्नि !”, मैले रविप्रति लक्षित जिज्ञासा राखेँ । मेरो जिज्ञासा सुनेपछि रवि हाँस्दै भने, “सबैको त उद्धार हुन सक्दैन तर जतिओटा कुकुरको उद्धार गर्न सकेको छु ती अवश्य पनि बाँच्न सकेका छन् ।” रविको कुराले मेरो मन छोयो । मैले यसै सन्दर्भमा एकजना साथीबाट सुनेको कथा सम्झिएँ, “समुद्रको किनारतिर गएका एकजना भद्र मानिसले समुद्रको ठुलो छालले हजारौं माछा किनारमा छोडेको देखे । समुद्रको छाल फर्केपछि किनारामा छटपटिरहेका माछालाई केही मानिस बाल्टीमा जम्मा गर्दै थिए । तर ती भद्र मानिस किनारामा छटपटिएका माछालाई टिप्दै समुद्रको पानीतिर फाल्दै थिए । भद्र मानिसको कामलाई देखेर एकजना मानिसले गएर उनलाई भने, “महोदय ! तपाईंले एक–एक माछालाई टिप्दै समुद्रको पानीमा फाल्ने जुन प्रयत्न गर्नुभएको छ, यसले कतिलाई बचाउन सक्नुहुन्छ? यत्रा हजारौं माछालाई तपाईंले त फाल्न सक्नुहुन्न । केहीलाई बचाउन सके पनि धेरै माछा त मर्न सक्छन् ।” प्रश्नकर्ताको कुरा सुनेर दङ्ग पर्दै भद्र मानिसले भने, “जतिओटा माछालाई मैले समुद्रको पानीमा फाल्न सक्छु, त्यति माछा भने पक्कै बाँच्न सक्छन् ।” ती भद्र मानिस किनाराका माछा टिप्दै समुद्रको पानीमा फाल्न तल्लीन थिए । प्रश्नकर्ता मानिस उनको जवाफ सुनेपछि फटाफट अगाडि बढ्यो । मलाई मेरो साथीले सुनाएको कथाको भद्र मानिस र रवि कर्माचार्यको जवाफ उस्तै उस्तै लाग्यो । आखिर हाम्रो प्राणीजगत्प्रति पनि दायित्व हुन्छ । उनले त्यो दायित्व निःशर्त पूरा गरेका थिए । संसारमा गर्नुपर्ने काम कैयौँ हुन्छन् । सबै काम एकैजनाले कहाँ गर्न सक्छ र? आफ्नो तर्फबाट हुन सक्ने प्रयत्न उनले गरेको देखेर मलाई पनि खुसी लाग्यो । मैले रविलाई मनमनै नमन गरेँ । मलाई फेरि केही सोध्न मन लाग्यो । मैले सोधेँ, “तपाईंको प्रयास अन्य प्राणीप्रति पनि छ कि?” “म शुद्ध शाकाहारी हुँ । पशुपक्षीहरू काटिएको देख्दा निकै दुःख लाग्छ । एकदिन म इभिनिङ वाक हिडिरहेको बेला एउटा मासु पसल नजिकै खसी बाँधिएको देखो । मेरो नजर त्यस खसीमा पर्‍यो । त्यसले पनि मलाई हेरे जस्तो लाग्यो । म मासु पसलेसँग गएर भने, मलाई त्यो खसी दिनुहोस् । पैसा कति पर्छ ? मासु पसलेले मलाई छड्के नजरले हेर्दै भन्यो, “सोह्र हजार रूपैयाँ पर्छ । यही बनाइदिने हो कि?” मैले आफ्नो खल्ती छामेँ । खल्तीमा चार हजार मात्र रहेछ । पैसाको जोहो गर्न म तत्कालै त्यहाँबाट हिँडो । इभिनिङ वाकमा अर्का दुईजना साथी भेट भए । मैले मेरो आशय बताए । साथीहरूले दुई–दुई हजार दिए । बाँकी पैसा बैंकको एटिएम मेसिनबाट निकालेँ । म तत्कालै मासु पसलमा पुगे । पसल बन्द रहेछ । भोलिपल्ट बिहानै मासु पसलमा पुगे तर पसलेले त्यो खसीलाई काटिसकेछ । मलाई निकै दुःख लाग्यो । त्यो खसीले मलाई हेरेर मलाई बचाऊ भने जस्तो लागेको थियो तर मैले बचाउन सकिनँ । त्यसपछि ती दुईजना साथीलाई चित्त दुखाउँदै भेट्न गएँ । मेरा कुरा भनेँ । साथीहरूलाई दुई–दुई हजार फिर्ता दिन खोजेँ तर साथीहरूले लिन मानेनन् । उनीहरूले भने, ‘यो पैसा अन्य जनावरको हितमा खर्चगर ।’ मैले सबै जनावरलाई त बचाउन सक्दिनँ । हिजोआज त म मासु पसलको बाटो पनि हिड्दिनँ”, रविले एक खसी बचाउन नसकेकामा दुःख मान्दै सुनाए । मानिस कतिसम्म संवेदनशील हुने ? यसको पनि कुनै सीमा नहुँदो रहेछ । रविको संवेदनशीलताले चाहिँ मेरा आँखा पनि रसिला भए । कुकुरको प्रसङ्गमा रवि कर्मचार्यसँगको कुराकानी टुङ्ग्याउँदै गर्दा रविले भने, “हाम्रो समाजमा कुकुरलाई हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा नराम्रो काममा गाली गर्दा ‘कुकुर’ भनेर सम्बोधन गर्नु नै पर्याप्त छ । लाग्छ कुकुर भन्ने प्राणी नै मान्छेले नचाहँदा नचाहँदै पनि प्रवृmतिले सिर्जना गरेको पो हो कि ! तर प्रकृतिले कुकुरमा विलक्षण क्षमता दिएर पठाएको भने छ । तर हाम्रो समाजले अझैसम्म त्यो क्षमता पहिचान गर्न सकेको छैन ।”

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेको छ । गाउँ, नगर, जिल्ला र देशलाई खुला दिसामुक्त घोषणा गर्दा निकै तामझाम पनि भएको थियो । यो दिसामुक्त भनेको मानिसको दिसामुक्त भन्ने रहेछ । तर कुकुर पाल्ने मानिसहरू कुकुरलाई सार्वजनिक स्थलमा दिसा पिसाब गर्न ल्याउने गर्छन् । हामी बसेको स्थान वरिपरि जसजसले घरमा कुकुर पालेका छन्, उनीहरूले कुकुरको घाँटीको साङ्लो वा डोरी आफ्नो हातमा लिँदै सार्वजनिक स्थानमा दिसा पिसाब गर्न दैनिक ल्याउने गरेको देखिन्छ । कुकुर पाल्नका लागि केही लगानी गर्नुपर्छ । कुकुरका लागि खाना खुवाउनु पर्छ, विशेष गरी मासु पनि खुवाउनु पर्छ । अन्य दाना पनि चाहिन्छ । नियमित नुहाइदिनु पनि पर्छ । कुकुरका लागि घरभित्र नै शौचालय र स्नानगृह पनि आवश्यक हुन्छ । कुकुरको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ र रेविज विरूद्धको सुई पनि लगाइदिनुपर्छ । कहिलेकाहीँ त भेटेरनरी प्राविधिकको पनि जरूरी हुन्छ । एकजना बच्चाको पालन पोषण गरे जस्तै कुकुरको पनि गर्नुपर्छ । यति गर्न सके मात्र कुकुर पाल्नुको अर्थ हुन्छ । यति गर्न नसक्नेले कुकुर पाल्ने रहर पनि गर्नु हुँदैन । त्यसैले थोरै आम्दानी हुनेले कुकुर पाल्न सक्दैनन् । घरमा कुकुर पाल्ने नै हो भने व्यवस्थित रुपमा पाल्नुपर्छ । मेरो घर अगाडि पाँचथरतिरका मानिसको घडेरी थियो । त्यो घडेरी खाली नै थियो । मेरो घर नजिक एक मित्र डेरा गरेर बस्ने गर्थे । मित्रले कुकुर पालेका रहेछन् । ती मित्रकी श्रीमतीले दिनहुँ त्यही खाली ठाउँमा कुकुरलाई दिसा पिसाब गर्न ल्याउथिन् । मैले शालीन ढङ्गले कुकुरलाई दिसा पिसाब गर्न त्यहाँ नल्याउन अनुरोध गरेँ । कुकुरको दिसाका कारण फोहोर हुने पनि बताएँ । मित्रकी श्रीमतीलाई मेरो अनुरोधले रिस उठाएछ । उनले नाकको पोरा फुलाउँदै भनिन्, “यहाँ त भुस्याहा कुकुरले पनि दिसा गरेको छ नि । भुस्याहा कुकुरले दिसा गर्दा हुने, हाम्रो कुकुरले नहुने ?” मैले मित्रको श्रीमतीलाई भनेँ, “भुस्याहा कुकुरको त मालिक नै हुँदैन । मालिक नभएकाले नै भुस्याहा भनेको हो । उनीहरूको घर पनि हुँदैन । उनीहरू सडकमा नै जन्मेका हुन्, सडकमा नै हुर्केका हुन् र सडकमा नै मर्ने हुन् । उनीहरूको घर छैन, शौचालय पनि छैन । तपाईं त यो कुकुरको मालिक हो । यसको बस्ने घर छ, शौचालय पनि होला । यो कुकुरको पनि दिसा पिसाब गर्ने व्यवस्था आफू बसेको घरको कम्पाउन्डभित्र नै गर्ने हो । यदि सकिँदैन भने नपाल्ने नै हो ।”

युधिष्ठिरले पनि कुकुर साथमा जान नपाए आफू पनि नजाने बताए । लामो कठिन यात्रामा कुकुरले आफ्नो साथ नछोडेकाले सँगै लानुपर्ने जिकिर गरे । यस विषयमा इन्द्र र युधिष्ठिरबिच लामो कुराकानी भयो । द्रौपदी र आफ्ना चार भाइलाई बचाउन नसक्ने युधिष्ठिर भने कुकुरलाई सँगै लैजाने अडानमा बसिरहे । युधिष्ठिरको कठोर अडानबाट प्रभावित भएका कुकुरको रुपमा आएका धर्मराजले युधिष्ठिरको प्रशंसा गरे । युधिष्ठिरको सदाचार, बुद्धि र सबै प्राणीप्रतिको दयाभावको पनि प्रशंसा गरे । महाभारतको कथामा युधिष्ठिरको महाप्रस्थानमा साथमा रही जिउँदै स्वर्ग गएकाले कुकुरलाई हिन्दु सनातन धर्ममा धर्मराजको प्रतीक पनि मानिएको छ । हिन्दु सनातन धर्ममा कुकुरलाई भैरवको वाहन पनि मानिन्छ ।

उनले मेरो कुरा त सुनिन्, तर चित्त बुझाइनन् । कुरा सुनेर मात्र हुँदैन, मर्म पनि बुझ्नुपर्छ । उनले एकछिनमा कुकुर लिएर त गइन्, तर भोलिपल्टबाट पनि उनले आफ्नो दैनिकी कायम नै राखिन् । मैले पनि उनलाई फेरि सम्झाइरहनु उचित ठानिनँ ।

पोखराको राष्ट्र बैंक चोक नजिकैबाट म मर्निङ वाक गर्ने गर्थें । राष्ट्र बैंकको अतिथि गृहको कम्पाण्डमा एउटा सूचना टाँसिएको थियो । सूचनामा भनिएको थियो, “यहाँ वरिपरि कुकुर ल्याएर दिसा पिसाब नगराउनुहोला । यदि कुकुर ल्याएर फोहोर गराएमा जरिवाना गरिनेछ ।” तर कुकुर ल्याएर दिसा पिसाब गराउने काम भनेसूचनापछि पनि रोकिएको थिएन । केही दिनपछि त्यही बाटो हिँड्दा सूचनाको तलपट्टि कलमले लेखिएको थियो, “यहाँ सूचनाको अवज्ञा गरी कुकुरलाई दिसा पिसाब गर्न ल्याउने पनि कुकुर नै हो । कुकुर पाल्नेको पनि बुद्धि कुकुरको जस्तै हुन्छ र?” म त्यहाँको सूचना र सूचनाको तलपट्टि लेखिएको प्रतिक्रिया देखेर अवाक् भएँ । पोखरा उपमहानगरपालिका (तत्कालीन समयमा) नगर परिषद्मा मलाई अतिथिको रुपमा निम्ता गरिएको थियो । म निम्ता मान्न दीपेन्द्र सभागृह गएँ । प्रमुख अतिथि थिए तत्कालीन अर्थ मन्त्री कृष्णबहादुर महरा । मलाई शुभकामना दिनका लागि पोडियममा बोलाइयो । मैले आफ्नो भनाइ राख्ने क्रममा भने, “म यही सहरको बासिन्दा हुँ । यसैले मलाई यो भन्ने हक पनि छ, अधिकार पनि छ । हामीले पोखरालाई खुला दिसामुक्त पहिलो नगर पनि घोषणा गर्‍यौँ । घरेलु जनावरबाट सडकलाई मुक्त पनि गर्‍यौँ । तर मैले मर्निङ वाकमा मानिसहरू कुकुरलाई डोर्‍याउँदै सार्वजनिक स्थानमा दिसा पिसाब गराएको देखिरहेको छु । हामीले मानिसको दिसामुक्त सहर त बनायौँ, कुकुरको दिसामुक्त सहर कहिले बनाउने? हामीले लाजै नमानी कुकुरको दिसामुक्त सहर घोषणा गर्नुपर्ने हो? यो भन्दा लाजमर्दो कुरा केही हुन सक्दैन । नगरपालिकाको ध्यान जाओस् ।” मैले भनेको कुरा सुनेपछि सभा गृह तालीले गड्गडावट भयो । सबैले ताली बजाएर समर्थन गरे । सबैको मनको कुरा भन्न सकेकामा मलाई पनि खुसी लाग्यो ।

म बिहानमा मर्निङ वाकमा हिँड्नका लागि घरको गेटबाट बाहिर निस्केको थिएँ । मेरो घर अगाडिको खाली जग्गामा एउटा अत्यन्त राम्रो, खाइलाग्दो, भुतुल्लो कुकुर सुतेको देखेँ । म कुकुरको साइसवत सुन्न बिस्तारै अगाडि बढेँ । कस्तो खालको कुकुर होला? टोक्ने पो हो कि? रेबिज लागेको पो हो कि? यस्तै सोच्दै म अलि टाढाबाट हेरेर सुतेको कुकुरलाई जिस्काउन हुँदैन भनी मर्निङ वाकतिर फटाफट अगाडि बढेँ । म मर्निङ वाकबाट फर्किदा पनि कुकुरको सुताइ उस्तै थियो । बिहान मैले देख्दा जुन अवस्थामा थियो, अहिले पनि त्यही अवस्थामा रहेको थियो । वरिपरिका छिमेकी पनि जुटे । सबैले कुकुर मरेर वा मारेर यहाँ ल्याएर फालेको निष्कर्ष निकाल्यौँ । त्यो कुकुर कुनै सभ्रान्तको घरमा नै पालिएको हुनुपथ्र्यो । भुस्याहा कुकुर त्यस्तो खाइलाग्दो हुँदैनथ्यो । त्यस कुकुरको मालिक को थियो जसले कुकुर मरेपछि वा मारेपछि रातारात हाम्रो घरको छेवैमा ल्याएर फालेर गयो ।

हामीले त्यो कुकुरको मालिकलाई धिक्कार्‍यौँ । धिक्कारेर समस्या समाधान हुँदैनथ्यो । एकदुई दिनमा त कुकुर कुहेर सिनो गन्हाउँथ्यो । फोहोर उठाउन आउने सफाइका टोलीलाई त्यो मरेको कुकुर लगिदिन अनुरोध ग¥यौँ । उनीहरूले मानेनन् । छिमेकीहरूले नगरपालिकालाई अनुरोध गर्न सुझाए । नगरपालिका कति संवेदनशील थियो र? खबर गर्दा पनि सिनो सडुन्जेल पनि आउँदैनथ्यो । पाँच सय रूपैयाँ दिएमा लैजाने कुरा गरे सफाइ टोलीले । मैले मेरो खल्तीबाट पाँच सय रूपैयाँको नोट दिए। उनीहरूले ट्याक्टरमा हालेर लगे । विषय प्रवृत्तिको थियो, नैतिकताको थियो । कुकुर पाल्न सक्नेले कुकुर मरेमा उसको सद्गत पनि गर्नुपर्छ भन्ने हेक्का राख्दैनन् । आफ्नो घरको कम्पाउण्डभित्र सफा भएपछि यो धरती नै सफा देख्छन् र फोहोर जति कम्पाउण्डबाट बाहिर फ्याँक्छन् । हिन्दी भाषाको भनाइ “अपना काम बनता, भाडमे जाये जनता” जस्तो यो प्रवृत्ति साह्रै बढ्दो छ । घरमा कुकुर पाल्ने अधिकांश मानिसहरूले बिरामी भएमा, रोगी भएमा, बुढो भएमा यस्ता कुकुरलाई सडकमा ल्याएर छाड्ने गरेका छन् । घर पालुवा कुकुरले सडकमा आएपछि आफूलाई समायोजन गर्न सक्दैनन् । खाना खान पनि पाउँदैनन्, खोजेर खान पनि जाँन्दैनन् । सडकमा हिँड्न पनि जाँदैनन् । अधिकांश सवारी दुर्घटनामा यस्तै कुकुर पर्ने गरेका छन् । भुस्याहा कुकुरको लखेटाइमा पनि पर्ने गरेका छन् ।

शान्ति स्थापनाका लागि बहुपक्षीय समझदारीसम्बन्धी तालिमको सिलसिलामा म जापानको हिरोसिमा प्रिफेक्चरमा पुगेको थिए । हिरोसिमा इन्टरनेसनल प्लाजामा हाम्रो तालिम र बसाइ थियो । बिहानमा एक मित्र र म मर्निङ वाकमा निस्कन्थ्यौँ । जापानीहरू पनि मर्निङ वाकमा निस्कने गर्थे । अधिकांश जापानीहरूले पेट एनिमलका रूपमा कुकुर पाल्दथे । मर्निङ वाकमा कुकुरलाई पनि सँगसँगै ल्याउँथे, आफूँसँगै हिडाउँथे । यसरी हिँड्ने जापानीको एक हातमा कुकुर समाउने डोरी हुन्थ्यो, अर्को हातमा नेप्किन पेपर, सानो पोलिथिन ब्याग र स्प्रे हुन्थ्यो । जापानीहरूले कुकुर डुलाउँदा कुकुरले सार्वजनिक स्थलमा दिसा पिसाब गर्थे । जब कुकुरले पिसाब गथ्र्यो, कुकुरको मालिकले तुरून्तै पिसाब गरेको स्थानमा स्प्रे गरिहाल्थ्यो । जब कुकुरले दिसा गथ्र्यो, कुकुरको मालिकले नेप्किन पेपरले कुकुरको दिसा टिपेर आफूसँगै ल्याएको पोलिथिन ब्यागमा राख्ने गथ्र्यो । त्यसपछि स्प्रे गथ्र्यो । कुकुरले गरेको फोहोरलाई निश्चित स्थानमा लगेर बिसर्जन गर्ने गथ्र्यो । मैले जापानीको कुकुर पालन र नेपालीको कुकुर पालनमा तुलना गरो । कुकुर पाल्ने नेपालीले आफ्नो घरलाई सफा राखी सार्वजनिक स्थान फोहोर गराउँथे । जापानीहरू कुकुरको कारण आफ्नो घर र सार्वजनिक स्थानलाई फोहोर हुन दिँदैनथे । यसको व्यवस्थापन कुकुर पाल्नेले नै गर्थे ।

म बागबजारबाट जमल जाँदै थिएँ । बाटैमा मेरा साथीको पसल देखेँ । पसलमा ग्राहक बनेर पसेँ । म अनौपचारिक पोसाकमा भएर हो कि व्यापारमा व्यस्त मेरा मित्रले मलाई सुरूमा त चिन्दै चिनेनन् । केही वर्ष अघि ती साथी मेरो कार्यालयका उपसचिव थिए । म सधैं औपचारिक पोसाकमा मात्र हुने गर्थें । मैले मागेको सामान खोज्दै मित्र मेरो नजिकै आए ।

“आआ… सर पो त । मलाई कस्तो झुक्याउनुभएको । सरले पनि ठट्टा गर्नुहुन्छ”, साथीले मलाई चिनेपछि भने । अभिभादन आदानप्रदानपछि साथीले चिया खानका लागि माथि तलमा लगे । पाँचौ तलमा थियो उनको बैठक कोठा । हामी बैठक कोठामा प्रवेश गर्‍यौँ । बैठक कोठाको सोफामा एउटा सानो शरीरको अनुहार थ्याप्चो परेको बाघमुखे कुकुर थियो । कुकुर देखेपछि मेरो सातै जाने । कुकरले टोक्ला भन्ने मनमा त्रास । तर कुकुर सोफामा नै हलचल नगरी बसिरह्यो । साथीले कुकुरलाई नमस्कार गर्न भने । कुकुरले मलाई अभिवादन गर्‍यो । साथीको आज्ञालाई पूर्ण पालना गरेको देखेर मेरो मनमा जिज्ञासा आए । मैले सोधेँ, “सरले यो कुकुर कहाँबाट ल्याएको?” “छोरीले रहर गरेर अस्ट्रेलियाबाट ल्याएकी”, साथीले भने । “कस्तो अनुहारको कुकर हो यो? बाघमुखे?”, मैले भनेँ । साथी हाँस्दै भने, “सर पनि । यो कहाँको बाघमुखे हुनु? यो बुल डग प्रजातिको हो रे ।” कुकुरलाई जाडो हुन्छ भनी पछ्यौरी ओढाइएको थियो ।

कुकुरका बारेमा साथीले भन्दै गए, “छोरीले अस्ट्रेलियाबाट ल्याएको कुकुर हो । यो कुकुर साह्रै बुद्धिजीवी छ । आदेशको पूर्ण पालना गर्छ । यो कुकुरको सुत्केरी हुने दिन आउँदै छ । यसका लागि एउटा सफा र न्यानो कोठाको व्यवस्था गरेको छु । यसले तीनओटा छाउरा पाउँछे । यसका लागि भेटेरनरी डाक्टरले नियमित स्वास्थ्य परीक्षण गरेका छन् । प्रति छाउरा चालीस हजारका दरले तीनै छाउराका लागि अडर गरिसकेका छन् । बैना पनि गरिसकेका छन् ।”

“यो व्यवसाय नै गरे हुने रहेछ”, मैले ठट्टा गरेँ । मेरो साथीले भने, “मैले यो कुकुर पाल्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेको छु । यो कुकुरका लागि छुट्टै शौचालय छ । बस्ने कोठा छुट्टै छ । कुकुरलाई दिसा पिसाब गर्न बाहिर लिएर हिँड्नेप्रति मलाई घृणा लाग्छ । कुकुर पाल्ने हो भने व्यवस्थित गरेर पाल्नुपर्छ ।”मैले साथीका कुरामा सहमति प्रकट गरेँ ।

आठ दश वर्ष पहिले एक प्रोफेसरको लेख नागरिक दैनिकमा पढेको थिएँ । त्यस समयमा लेखको शीर्षकले मलाई निकै आकर्षण गर्‍यो । लेखको शीर्षक अहिले सम्झन नसके पनि त्यस लेखको मुख्य आशय हामीले आफ्ना वृद्ध आमाबाबुलाई गर्ने व्यवहारसँग सम्बन्धित थियो । लेखमा आपूmले घरमा पालेका जनावरप्रति त असीम माया र स्नेह हुन्छ भने आफूलाई जन्म दिई पालन पोषण गरी कर्म दिने आमाबाबुप्रतिको माया र स्नेह किन खस्केको होला भनी चिन्ता प्रकट गरिएको थियो । प्रोफेसरले आफ्नो घरमा पालिएको कुकुरको दृष्टान्त दिएका थिए । स्मरणका आधारमा आशयलाई यहाँ प्रस्तुत गरेको छु ।

केही वर्ष अघि प्रोफेसरले आपूmले कुकुर पाल्न नचाहे पनि छोरीको रहरमा घरमा उन्नत जातको कुकुर पालेका रहेछन् । सानो छाउरो हुँदा नै ल्याएर पालेको हुनाले कुकुरलाई घरमा नै तालिम दिइएको थियो । कुकुरले निकै राम्रोसँग सिकाएका कुराहरू सिक्यो । घरको रेखदेख गर्ने, घरबाट बाहिर जाँदा र फर्किंदा गर्ने स्वागत स्मरणीय थियो ।

कुकुर ठुलो हुँदै गएपछि अलि आक्रमक हुन थाल्यो । बाहिर निस्केको समयमा अन्यलाई पनि टोक्ने प्रयास गर्न थाल्यो । घरका मानिसलाई पनि टोक्न खोज्यो । कुकुरमा विकार आएको ठानी उपचारका लागि लगियो । भेटेरनरी डाक्टरले कुकुरमा पागलपना (म्याडनेस) बढेकाले यसलाई मर्ने सुई लगाइदिनुपर्छ भने कुकुरलाई अब उपचारबाट ठिक बनाउन सकिँदैन भने । यो खबरले घरमा एक किसिमले रूवावासी नै भयो । परिवारको एक सदस्य नरहने स्थिति बन्यो । छोरीले ज्यादै रहरले माया गरी पालेको कुकुरलाई सुई लगाएर मार्ने कुराले परिवारका सबैलाई स्तब्ध बनायो । सुई लगाएर मार्न कोही पनि सहमत भएनन् । जानी जानी मर्ने सुई कसरी लगाउन सकिन्छ र? घर परिवारका सदस्यहरूले दुःख माने पनि पागलपना बढेको कुकुर घरका सदस्य मात्र होइन, बाहिरका मानिसका लागि पनि खतरनाक हुन्थ्यो । त्यसैले प्रोफेसरले कुकुरलाई कतै एकान्तमा लगेर छाड्ने विचार गरे । बेलुकी कुकुरलाई आफ्नो कारमा राखेर दक्षिणकालीतिरको जङ्गल तिर गए । साथमा कुकुरलाई खाना पनि लिएर गए । दक्षिणकालीतिरको घना जङ्गलमा पुगेपछि सडकभन्दा अलि पर कारलाई रोके । उनले कारको ढोका खोलिदिए । ढोका खुलेपछि कुकुर फुर्तीसाथ बाहिर निस्केर यता उता दौडिन थाल्यो । कुकुर दौडेर अलि पर पुगेको बेला कुकुरको खानालाई त्यही राखेर उनले कार फर्काए र घर आए । घर आएपछि कुकुरको मायाले उनलाई सतायो । कुकुर जङ्गलमा छोडेर आएकामा घरमा सुनसान छाएको थियो । प्रोफेसरलाई पनि रातभर निद्रा नै लागेन । जङ्गलमा छाडेको कुकुर कहाँ गयो होला? त्यसले राखिदिएको खाना खायो कि खाएन? अब त्यो कहाँ जान्छ? के खान्छ? यस्ता प्रश्नले उनलाई सताउन थाल्यो । घरको परिवारको सदस्य जस्तै बनेको कुकुरलाई त्यागेकामा उनलाई दुःख लाग्यो । बिहान उज्यालो नहुँदै प्रोफेसरले कार लिएर पुनः दक्षिणकालीतिरको जङ्गलतिर गए । भेटिएमा कुकुर घर ल्याऊँ कि जस्तो लाग्यो । तर हिजो साँझ छोडिएको ठाउँमा कुकुर देखिएन । खानका लागि छोडिएको खाना जस्ताको तस्तै थियो । प्रोफेसर नमिठो मन लिएर घर फर्के ।

प्रोफेसरको अनुभव पढेपछि घरमा पालेका जनावर घर परिवारका सदस्य जस्तै हुँदारहेछन् भन्ने लाग्यो । हाम्रो घरमा कुकुर नपाले पनि बाख्रा पालिन्थ्यो । बाख्राका पाठालाई बच्चालाई जस्तै माया गरेर हुर्काइन्थ्यो । बाख्राका पाठा घर परिवारका सदस्य जस्तै हुन्थे । हाम्रा काखमा बस्थे, हामीले काखमा लिएर हिँड्थ्यौँ, हाम्रो बुई चढ्थे, हामीसँग दौडन्थे । यस्ता बाख्राका पाठालाई आमाबाबुले बेचिदिँदा हामी रून्थ्यौँ । सायद कुकुर पाल्नेलाई पनि त्यस्तै हुन्थ्यो होला ।

कुकुर गन्धका माध्यमबाट व्यक्ति, सामान तथा स्थान पत्ता लगाउन सक्ने विलक्षण क्षमता भएको जनावर हो । कुकुर मानिसको संसर्गमा नै बस्ने गर्छ । विश्वका विभिन्न मुलुकले अपराध पत्ता लगाउन कुकुरको प्रयोग गरेको पाइन्छ । विशेष गरी विमानस्थलको आगमन र प्रस्थान कक्षमा तालिम प्राप्त कुकुरलाई लिएर सुरक्षाकर्मी घुमिरहेका हुन्छन् ।

दक्षिण कोरियाको भ्रमणमा जाँदा मेरो र मेरा एकजना कर्मचारीको लगेजमा साइरन जोडेको रहेछ । मेरो र मेरो कर्मचारीको लगेजलाई कुकुरले शङ्कास्पद मानेको रहेछ । लगेज लिने ठाउँमा हामी पुगेपछि एकजना सुरक्षाकर्मी कुकुरलाई लिएर आएर र रूमाल सुँघाए । रूमाल सुँघेको कुकुरले मेरो र मेरा कर्मचारीको लगेजलाई गएर समायो ।

त्यसपछि हाम्रा लगेजमा साइरन बज्यो । लगेज लिएर हिँड्ने बित्तिकै साइरन बजिहाल्ने । हामीले हाम्रा लगेज लिएपछि सुरक्षाकर्मी आएर हामी र हाम्रा लगेजलाई चेकिङ गर्न लगे । हामी लगेज लिएर पछिपछि गयौँ । हाम्रा लगेजको एक्सरे गरे । खासै केही देखिएन । तर कुकुरले छोडेन । त्यसपछि हाम्रा लगेजलाई खोल्न लगाए । एक एक गरी टक्टकाएर हेरे । गलत सामान केही पनि भेटिएन । त्यसपछि हाम्रो लगेज फिर्ता भयो । साइरन हटाइदिए । हामी आगमन कक्षतिर लाग्यौँ । गलत सामान नभएपनि जहाजमा कुनै गलत सामानको गन्ध हाम्रो लगेजमा पनि सर्न सक्थ्यो होला । त्यसो भएर कुकुरले सङ्केत गरेको होला ।

नेपालमा पनि कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गरिन्छ । नेपाली सेनाको भैरव वाहन भन्ने एउटा गण छ । यस गणमा कुकुरहरूको तालिम सञ्चालन हुने गर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि कुकुरको तालिम गर्ने आ–आफ्ना तालिम केन्द्र छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता राष्ट्रका अति विशिष्ट
व्यक्तिको सभा समारोह हुनुपूर्व तालिमप्राप्त कुकुरबाट सभा समारोह हुने स्थानको परीक्षण गर्ने परम्परा नै छ । अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरले अपराधी पत्ता लगाउन ज्यादै ठुलो सहयोग गरेका छन् । बिस्फोटक पदार्थलाई निष्क्रिय बनाउन तालिम प्राप्त कुकुरको सहयोग लिइन्छ । कहिलेकाहीँ मानिसलाई बचाउन कुकुर मरेका पनि छन् ।

अन्तरिक्ष अनुसन्धानमा पनि कुकुरको महत्त्वपूर्ण योगदान रहेको छ । अन्तरिक्षमा पहिलो पटक कुकुर नै पुगेको र अनुसन्धानमा आफ्नो जीवन अर्पण गर्ने लाइकालाई सबैले सम्झिन्छन् । हाम्रो धार्मिक आस्था, अपराध अनुसन्धान, अन्तरिक्ष अनुसन्धानका साथै घरमा पाल्ने जनावर (पेट एनिमल) भएकाले कुकुरलाई सबैले मन पराउँछन् । आखिर व्यवहारले गर्दा पशुपक्षी पनि परिवारका सदस्य बन्न सक्दा रहेछन् । प्राणीप्रतिको प्रेम विचित्रको हुँदो रहेछ ।

साभारः डा. खगराज बरालद्वारा लिखित, शिखा बुक्सद्वारा प्रकाशित पुस्तक “मालामा नउनिएका फूलहरू” बाट

प्रतिक्रिया