तिहार तथा दीपावलीको महत्व र विशेषता 

- ज्योतिष पण्डित राजेन्द्र खनाल (हाल- अमेरिका) २०८१ कार्तिक १३ गते २२:१४ मा प्रकाशित

तिहार तथा दीपावली सनातन धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहार तथा धन्तेरस नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपाल भारतलगायतका पूर्वीय मूलुकहरुमा मनाइन्छ । सनातन धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको हो । यसलाई दीपावली अर्थात् दिवाली नामले विश्वभर चर्चित छ । केही वर्षअघिदेखि अमेरिकन राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमार्फत् शुभकामना सन्देश दिन थालेपछि अमेरिकाका स्कुलहरुमा पनि दीपावलीका दिन विदा दिन सुरु गरिएको छ । 

तिहारको पौराणिक तथा ऐतिहासिक मान्यता 

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । सुरुको दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यस दिन विहान कागलाई बोलाई खाना खुवाउने / खाना राखिदिएर मात्र भोजन गर्ने गरिन्छ । यसै दिनदेखि साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । यसरी दीपदान गरी घरमा झिलीमिली बत्ती बालेमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ लक्ष्मीले पनि घरमा वास गरी धन, ऐश्वर्यता पनि प्राप्त गर्न सकिन्छ । यमपञ्चकमा क्रमशः पहिलो दिनदेखि काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसी भैलो र जुवा, तास, कौडा, पासा आदि खेल्दै सेलरोटी, फिनीरोटी, अनरसा, जेरी, पुरी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

पौराणिक कथा

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा,बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ त्यही वर माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ भने अर्कातर्फ स्वयं बामन अवतार भगवानले दानवराजा बलीको दानको अहंकारलाई नष्ट गरी बलीले गरेको स्वागत सत्कार र मानसम्मानको कदर गर्दै सदाको लागि पातालको राजा बनाई आफू रक्षक भई बस्ने बाचाबन्धन गरेको दिन पनि यसैबेला भएकोले यसलाई अझ बढी महत्व दिईएको पाईन्छ । त्यसैकारण बलिराजाको उत्पत्तिदेखि उसले गरेको दानको प्रशंसा र उसैको आज्ञाले हामी देउशी र भैलो खेल्न आयौ भनी यो प्रसंगलाई जोडिन्छ । 

सामाजिक तथा सॅास्कृतिक महत्त्व

तिहारको सांस्कृतिक पक्ष पनि रमाईलो छ ।गाउॅंघर छरछिमेकमा साथीभाई जम्मा भई जुवातास खेल्ने तथा देउसी भैलो खेलेर सामाजिक कामको लागि चन्दा संकलन गर्ने र समाजलाई आवस्यक पर्ने ठाउॅंमा खर्च गर्ने चलन पनि भएकाले यसलाई समाजसॅंग पनि उत्तिकै रुपमा जोड्न सकिन्छ । 

 भारत तथा नेपाल कृषि प्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । पालनकर्ता भगवान स्वयं नारायणकी पत्नीका रुपमा लक्ष्मी मातालाई पूजा गरिन्छ । व्यवसाय राम्रो होस्, पेशा राम्रो होस्, सन्तान वृद्धि होऊन् भन्ने खालका आशिस दिएर देउसी भैलो गाई नाचेर रमाईलो गर्ने परम्परा छ । 

व्यवसायिक / व्यापारिक महत्व 

तिहारको व्यवसायिक महत्व पनि उत्तिकै छ, एक त यसलाई वैश्यहरुको मुख्य चाड पनि मानिन्छ । वैश्य भनेको आफ्नै व्यवसाय वा व्यापारमा संलग्न भएका व्यक्ति वा समुदायलाई जनाउॅछ । तिहार तथा दीपावलीकै लागि बनाईएका सामानहरु ( दीया, मूर्ति, माला, मिष्ठान्न तथा बाजाहरु आदि) को विक्री वितरण असंख्यरुपमा हुने भएकाले विश्वभर व्यवसाय पनि बढेको छ । यस्ता सामानहरु पनि विशेष गरी धन्तेरसकै दिन खरिद गर्ने गरिन्छ ।औषधीजन्य जडिबुटी पदार्थहरु पनि खरिद बिक्री गर्ने प्रचलन  छ । जसले घरमा समस्या हॅुदा घरमै उपाचार गर्न सकियोस् । 

वैज्ञानिकता
तिहार पर्व महान् सांस्कृतिक पर्व हो । तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिएका छन् त्यो भन्दा पनि बढी वैज्ञानिक महत्त्व देखा पर्दछन् । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन् । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसै पनि गर्दै आएका छन् अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ । त्यस्तै कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुरपूजाको प्रसङ्गले बुजिन्छ ।

त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउने वहरले हलो तानेर र पहाडपर्वतले अक्सिजन दिएर सम्पुर्ण प्रा‍णीको प्राण बचाउने गरेको बुजिन्छ । त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ । लक्ष्मी पूजाको अर्थ धनसम्पत्तिप्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो । संसार बिग्रेको मान्छेले मान्छेप्रति गर्ने व्यवहार सन्तुलित हुन नसकेर नै हो । जहाँ मान्छेबाट मान्छेको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको संसारमा विद्यमान आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ ।

नेपालको सन्दर्भमा तिहार
तिहार नेपालीहरूको तेस्रो ठूलो चाड हो,  विशेषतः नेपालीहरुको  सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । ज्योतिष पन्चांग पात्रोअनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ । चान्द्र मासको पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार अङ्ग्रेजी वा ग्रेगोरियन क्यालेन्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिनाको शुरुमा पर्छ । विश्वभर  समय र स्थान फरक फरक हुनाले संसारभर एउटै समयमा तिहार मानिदैन, सूर्योदयको बेला जुन तिथिको सुरुआत भएको छ त्यही तिथि मान्य हुन्छ त्यस दिनका लागि । 

काग तिहार

काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । यमराजको खबर आदान प्रदान गर्ने प्राणी काग हो । यसलाई प्राचीन समाचारदाता भनिन्छ ।  काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

कुकुर तिहार
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिनलाई नरके फाल्ने पनि भनिन्छ । बिहानै झिसमिसेमा उठेर नदी तलाऊमा गई स्नान गरिसकेपछि आफ्ना दाजु तथा भाईहरुको दीर्घायुको कामना गर्दै बत्ती (दीप) बालेर बगाउने चलन लाई नरके फाल्ने भनिन्छ । त्यसपछि घरमा आई कुकुरको पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं । 

गाईतिहार र लक्ष्मी पूजा

गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर(आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घरकोठा,चोटा पवित्र तुल्याउने संस्कार छ । गाईलाई पशु धनका रूपमा लिइन्छ । सनातनीहरु गाईलाई लक्ष्मी र गौमाताको रूप मान्छन् । गौशाला, गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी, गोमय, गोकर्ण आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । यस दिन बिहान गाईको पूजा गरी खाना दिई ढोकामा घृतधारा वा चामलको पीठोको धारा लगाउने चलन छ, यसलाई वशुधारा भनिन्छ । घरपूजा वा वास्तु पूजामा वास्तु देवताको पूजा गरी वशु धारा गरेजस्तै तरिकाले यो दिन पनि वशुधारा गर्नाले घरमा कहिले पनि दूध दही तथा घिउ आदि अमृतमय द्रव्यको अभाव नहुने कुराको विश्वास गरिन्छ । घरमा वसुधारा हालेको देखेपछि जमजीते ( यमराजका दूतहरु) ले पनि बाटो छोडि दिने जनविश्वास छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने प्रचलन छ । लक्ष्मीपूजाको दिनदेखि देउसी भैलो खेल्न सुरुआत गरिन्छ किनकि यो भन्दा अगाडि भैलो खेल्यो भने जमजीते लाग्छ भन्ने भनाई छ । जमजीते लाग्नु भनेको बिरामी पर्नु वा मसानले छल्नु आदिलाई बुझिन्छ । आजकाल दीपावलीको लक्ष्मी पूजा नगर्दै देउसी भैलो खेल्ने गरेको पाईन्छ तर यसरी दीपावली अगाडि नै भैलो खेल्न सुरु गर्नु राम्रो होईन । दीपावलीदेखि खेल्न सुरु गरी माघे संक्रान्तीमा भैलो सेलाउने वा भनौं भैलीमा जम्मा पारेको चिजहरुले बनभोज खाने प्रचलन पनि छ, यसबाट के बुझ्न सकिन्छ भने दीपावलीदेखि माघे संक्रान्तीसम्म भैलो खेल्न मिल्ने रहेछ भनी बुझ्न सकिन्छ । आकाश दीप पनि माघे संक्रान्तीसम्म नै बाल्ने प्रचलन छ । त्यति मात्र नभई विदेशीहरुले मनाउने क्रिसमसजस्ता विशेष चाडपर्व पनि यसै बीचमा पर्ने भएकोले यसैको प्रारुप दीपावलीलाई मान्न सकिन्छ । 

वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । कार्तिक कृष्ण औंसीमा सुखरात्री मनाईन्छ । यसलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो। दीपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । सनातनीहरुका लागि प्रमुख पर्वहरूमध्ये एक हो  दीपावली । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।  यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। 

गोरु तिहार
गोरु तिहार, हलि तिहार वा गोवर्धन पूजा चौंथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानी गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् । गाईबाटै प्राप्त हुने ३ अमृत( दूध, दही र घ्यू) खानाले मानिसको जीवन कति आनन्दमय र दीर्घायु भई राखेको हुन्छ, त्यसै गरी बिना पन्चगब्य(दूध, दही र घ्यू गहॅुत र गोबर) हाम्रो सॅस्कारको सुरुआत पनि हॅुदैन । यसै कारण गाईलाई लक्ष्मी माता भनिएको हो । अहिले यो गाई पाल्ने सॅस्कार नेपाल र ईन्डियामा भन्दा बढी बिकसित राष्ट्रहरु (अमेरिका, क्यानडा, अस्ट्रेलिया) मा बढी छ  संख्यात्मक हिसाबले । 

भाइतिहार (भाइ टीका)

भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान(सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान(दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिॅदा शान्ति वर्षिन्छ ।

दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । हिन्दू धर्ममा टीकाको धेरै महत्त्व छ, पूजापाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ । टीका विशेषतः रातो वा पहेलो रङ्गका लगाइन्छ । टीका निधारमा लगाइन्छ । तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो। सात रङ्गका यी टीकालाई सप्तरङ्गी भनिन्छ। सतरङ्गी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रङ्ग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रङ्गको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रङ्ग चामल पिनेर र कालो रङ्ग कोइलाबाट वा बत्तीको कालिखबाट पनि लिन सकिन्छ । 

विश्वभर  समय र स्थान फरक फरक हुने हुनाले संसारभर एउटै समयमा तिहार मानिदैन, सूर्योदयको बेला जुन तिथिको सुरुआतमा भएको छ त्यही तिथि मान्य हुन्छ त्यस दिनका लागि । यसै कारण अमेरिकामा र नेपालमा एक दिन अगाडि पर्न आउछ कहले काही। यसपाली पनि नेपालमा आईतबार टीका छ भने यहां शनिवार नै लगाउनु पर्ने हुन्छ । आईतबारसम्म पर्खदा तिथि पुग्दैन । तिथिको समय यो पृथ्वीभरका लागि एउटै हुने भएकाले तथिको सुरुआत हुंदा  जुन ठाउमा राती वा सांझ भईराखेको छ भने भोलिपल्ट सूर्योदयको समयलाई आधार मानी त्यो तिथि मान्नु पर्ने हुन्छ । यस्तो कुरा बुझ्नेलाई श्रीखण्डको जत्तिकै महत्व हुन्छ भने नबुझ्नेलाई १२/२७ कुरा गरेजस्तै हुन्छ । हुन त १२/२७ भनेको पनि ज्योतिषकै कुरा गरेको हो किनकि १२ को अर्थ १२ राशि र २७ को अर्थ २७ नक्षत्र भनेको हो । पढियो र ज्योतिषीय गुरुहरुको संगत गरियो भने यस्ता कुरा सहजै बुझ्न सकिन्छ । 

देउसी भैलो
त्रेता युगमा अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए । श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दीयाहरूको उज्यालोले जगमगाएको थियो । मानिसहरूले घर (घरमा, गल्ली-गल्लीमा देव श्री राम् आए (हाम्रा राम देवता आए ) आदि नारा लाउँदै घुमेका थिए । देव श्रीरामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे ,देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आज पनि देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि पछि देउसिरे भन्ने हुन्छन् । देउसीको पछि एउटा अर्को कथा पनि जोडिएको छ । बताइन्छ एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए । यस पुण्यको प्रतापले स्वर्गादि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए।

त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोंचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेका थिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो शीर थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिई आफू पनि पाताललोकको द्वारपाल भई रहने बाचाबन्धन गर्नुभएकोले बलि यही तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलीको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । त्यसैले  महिला तथा पुरुषहरुले बलिको स्वागतमा बलि गीत भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् । यो क्रम पूर्णिमासम्म नै रहन्छ । यसै कारण यमपन्चकमा पांचदिन सम्म बिहान सांझ यमपूजा गरी सॅाझमा बत्ती-दीप बाल्ने चलन छ । 

यसबाट के बुझ्न सकिन्छ भने “बलीले दिए शीर” भन्ने शब्दबाट अपभ्रंश हॅुदै भैली- भैलो र देउसिरे शब्द बनेको हुन सक्ने कुरालाई ॲाकलन गर्न सकिन्छ भने अर्कोतर्फ श्री राम बनवासबाट घर फर्किंदा पनि विजय जुलुसमा देव श्री राम आए भन्ने वाक्यलाई अपभ्रंश गरी देउसिरे भएको भन्ने भनाई पनि छ तर ईतिहासको हिसाबले बलीको कथा धेरै प्राचीन हो । चाहे जसरी सुरु भएको भएता पनि हाम्रो सनातन धर्म र सॅंस्कृतिलाई विश्वभर चिनाउन सकेमा त्यो भन्दा ठूलो उपलब्धि अरु हॅुदैन । यसकारण जो जहां रहे पनि आफ्नो सॅस्कार सॅस्कृतिलाई यथाशक्य मनाउनु होला तिहार – दीपावलीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना सबैमा ।

नोटः अमेरिकामा आजदेखि यमपन्चक सुरु भएको छ ।  अक्टूबर २९ तारिख कागतिहार यम दीपदान, धन्तेरस, ३० तारिख कुकुर तिहार तथा नरक चतुर्दशी, ३१ तारिख लक्ष्मी पूजा, नोभेम्बर १ तारिख गोवर्धन पूजा र गाई पूजा, नोभेम्बर २ तारिख भाईटीका शनिवार, वासिंग्टन डीसी, भर्जिनिया र मेरिल्याण्डको साईतको समय ११ः४१ बजे बिहान । तलको विज्ञप्ति मार्फत विभिन्न ठॅाउको टीकाको साईतको समय हेर्न सक्नु हुनेछ । सबैमा तिहारको शुभकामना । धन्यवाद ।

गुरु राजेन्द्र खनाल बिगत २००७ सालदेखि डीसी भर्जिनियामा रही धार्मिक तथा सामाजिक क्षेत्रमा गुरु पुरोहित र ज्योतिष तथा चिना टिप्पनसम्बन्धी काम गर्दै आईरहनु भएको छ । उहांसॅग सम्पर्क गर्नका लागि यो ईमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।  धन्यवाद ।

 

प्रतिक्रिया