होमनाथ सुबेदी -शेखर ढुंगेल परिसम्वाद

इनेप्लिज २०८१ कार्तिक ९ गते १८:१६ मा प्रकाशित

वुडब्रिज, भर्जिनिया
दिसम्बर १९,२०२२

प्रश्न १. जीवन सफल असफल के भयो जस्तो लाग्छ ?
उत्तर १. अर्थपूर्ण ।

प्रश्न २. अर्थ आर्जनको सपना कुन् उमेरसम्म देख्नुपर्छ ?
उत्तर २. हाम्रो वर्णाश्रम व्ययस्था अनुसार ५० वर्षसम्म मात्र हो तर ऐले वर्णाधर्माश्रम व्यवस्था नै अव्यवस्थामा परिणत भएको र माग असीम भएको अवस्थामा ६८ वर्षसम्म अर्थ आर्जनको सपनादेख्नपर्छ ।

प्रश्न ३. जन्मेको समाजलाई (देशलाई) के योगदान दिए जस्तो लाग्छ ? केही बुँदागत..
उत्तर ३. १. ताकममा अन्नपूर्ण पुस्तकालयको स्थापना र भवन निर्माण वि.सं.२०२८,
२. धौलागिरि जनक्लबको स्थापना गरी धौलागिरि त्रैमासिक साहित्यिक पत्रिकाको सञ्चालन

वि.सं. २०३८
३.अनेसासको स्थापना ई.१९९१ यो १००भन्दा बढी च्याप्टरको विकासले नेपाल र नेपाली भाषा

साहित्य र संस्कृतिको दिगो विकास

४. छन्त्याल समिति सबभन्दा पहिले गठन गरेर छन्त्याल भाषा साहित्य र संस्कृति उत्थानको लागि यी अनुशीलन, संकलन, लेखन र प्रकाशन, नेपाली लोककथा (छन्त्यालको छेउछाउबाट), छन्त्याल लोककथा, नेपाली लोककथाको । परम्परामा छन्त्याल लोक कथाको अध्ययन लेखन प्रकाशन र जनचेतनाले वृद्धि गरी पिछडिएको जातिको उत्थानमा सहयोग ।

५. हाल नेपालको शिक्षाशास्त्र अध्ययनमा पठनपाठन भैरहेको यमपुरीको महल उपन्यास लेखेर नेपालभित्र र बाहिर भएका नेपालीको अस्तित्वको विकासमा योगदान । त्यस्तै ४४भन्दा बढी नेपाली भाषाका पुस्तक लेखन, प्रकाशनको योगदान ।

प्रश्न ४. जीवनको मुख्य प्राथमिकता के हुनुपर्ने रहेछ भन्ने अनुभूति भयो आज आएर ?
उत्तर ४. आत्मोत्सर्ग ।

प्रश्न ५. अतितका ५ पीडा, ५ सुखदायी र ५ सँधै सम्झनामा आउदा भित्रभित्रै हाँसो उठ्ने बच्चा हुँदा गरेको
उटपट्याङ काम ?
उत्तर ५. पीडा ५—
क. संयुक्त परिवारबाट अलग हुनु,
ख. राजनीतिबाट अलग हुनु,
ग. तीन वर्षको छोरो काठमाडौं ठहिंटीको डेराको चारमध्ये यौटा ठाडो डन्डी टुटेको झ्यालको छेडाबाट खसेर मर्नु,
घ. नेपाल छोडेर आप्रबासी हुनु,
ङ. धर्मपत्नीलाई मस्तिष्काघात हुनु,

सुखदायी क्षण ५—
क. एम्.ए.को दीक्षान्त समारोह, वि.सं.२०३०
ख. काठमाडौंमा छोरी डा.कल्पना सत्याल जन्मेको बेला वि.सं.२०३२
ग. अमेरिकामा परिवारको पुनर्मिलन, वि.सं.२०४५
घ. सन् २००४ मा Pioneer of Nepali Literature in the Nepali Diaspora‘आप्रवासका नेपाली साहित्यका अग्रज’ को उपाधि पाएको क्षण,
ङ. अनेसासको रजतजयन्तीमा प्राप्त अभिनन्दनको क्षण, जुलाई ५,२०१७

उटपट्याङ काम ५—
क. बिफर विरुद्धको खोप लगाइदिने भनेर गाउँका केटाकेटीलाई नाडीमाथि झुम्रो राखी आगो झोसेर पोलिदिने,
ख. खेतका काँल्लामनि गाईभैसी गोठ बनाएर बालबालिका लोग्ने स्वास्नी भएर बस्ने अनि नाटकीय झगडा गर्ने,
ग. टिकट कलेक्टरको आँखा छल्न सक्ने बहादुरी देखाउन चल्ती रेल रेलवेस्टेसन नपुग्दै चल्ती रेलबाट लिक बाहिर फराल्नु,
घ. आफू रित्तिएपछि पाँच पाँच पैसा साथीहरूसँग मागेर सिनेमा हेर्न जानु ।
ङ. पुरानो झोलुङ्गेपुलमा घोडा चढेर हाइस्पिडमा नदी वारपार गर्नु ।

प्रश्न ६. देशको लागि यौटा असल नागरिकको कर्तव्य निर्वाह गर्न सक्षम र सफल भए जस्तो लाग्छ, ? केही उदाहरण
भए ?
उत्तर ६. बहुदलीय समाजवादको प्राप्तिको लागि एकदलीय पञ्चायत व्यवस्थाको विरुद्ध जेलनेल खाएको, राजा सहित त्यो व्यवस्था उल्टियो, लोकतन्त्रमा केही परिर्तनहरू पक्कै भएका छन् तापनि तल्लो वर्गको आर्थिक उत्थान, उद्योगहरूको स्थापनामा अपेक्षित प्रगतिको अभाव देखिएकोले यसपक्षको विचारमा पूर्ण सफता देखिन्न वरु नेपाली साहित्यसेवाबाट राष्ट्रको सेवा गर्ने लक्ष्यमा भने अनेसास फलेफुलेर कृतिहरू पाठ्यक्रममा समावेश भै पठनपाठन भै रहेकोले अपेक्षाकृत सफल भएको ठान्दछु । नयाँ समाजको प्राप्तिमा अनगिन्ती कृतिहरु प्रकाशित गर्न सफल भएकोे ।

प्रश्न ७. जीवनको अन्तिम गन्तव्य (मृत्यु) कति वर्षमा होला जस्तो सोच्नुहुन्छ ? कारण भए र अन्तिम दिन कस्तो
रहोस् जस्तो लाग्छ ?

उत्तर ७. यमपुरीको महल उपन्यासमा मैले सरदर उमेर ७२ वर्ष राखेर लेखेको छु । जीवनमा देखापरेका समस्यासित भागेर हैन जुधेर अग्रगतिमा नै रहेर अन्तिम दिन अर्थपूर्ण रहोस् जस्तो लाग्छ ।

प्रश्न ८. ईश्वरप्रति आस्था विश्वास राख्नुहुन्छ? पर्छ वा राख्नुहुन्न, वा विश्वास गर्नुहुन्न ? कारण भए ।
उत्तर ८. मूर्तिपूजामा विश्वास गर्दिन मानवीय अस्तित्वमा विश्वास राख्छु । म अनीश्वरवादी अस्तित्ववादी भएकोले ईश्वरमा विश्वास राख्दिन तर मानवीय स्वतन्त्रताको सीमा नाघेर ईश्वरवादीहरुको सम्मान पनि गर्दछु । मेरो दृष्टिमा अनीश्वरवादी सांख्य दर्शन जस्तै यो सृष्टि स्थिति र प्रलयको परिक्रमा प्रकृति स्वतः हुने सम्भानाको परिवर्तन र इभोल्युसनबाट हुन्छ र त्यसको चरम विकास नै मावन चेतनाको विकास हो । ईश्वर कही माथि खाटमा बसेर मान्छेको दिमाग बनाएको होइन कि बरु मानवमस्तिष्कले नै मानवसभ्यता र सँस्कृतिको विकासको यौटा लामो ऐतिहासिक खण्डमा ईश्वरको निमार्ण गरेर शान्ति खोज्ने प्रयत्न गरेको हो । वास्तवमा शान्तिको प्राप्ति खोज्न मरेर स्वर्ग जाने होइन बरु यही जन्ममा यही समाजमा सत्कार्य गर्दै आफैभित्र शान्ति खोज्नुपर्छ आफैभित्र ईश्वर खोज्नुपर्छ र आफू जस्तै अरुको अस्तित्वलाई पनि सम्मान गर्ने अर्थपूर्ण जीवन जिउन सके यसैमा मुक्तिको अनुभूति हुन्छ । ईश्वर, पुनर्जन्म र परलोकको अन्धभक्तिले होइन ।

प्रश्न ९. यदि पुनर्जन्म हुने भएमा के हुने इच्छा राख्नुहुन्थ्यो ?
उत्तर ९. पुनर्जन्ममा विश्वास नै छैन किनकि यो देह पदार्थको उपज हो मरेपछि पदार्थमा विलिन हुन्छ ।

प्रश्न १०. जीवनमा आजसम्म सम्पर्कमा आएका कति पाँचलाई खुशी पार्न सफल र कति पाँचलाई दुखी पार्नुभयो ? कहिले आत्ममूल्याङ्कन गर्नुपर्छ जस्तो लाग्छ ? छोटकरीमा अनुभव …
उत्तर १०. बुद्धिप्रसाद सुवेदी, गंगाधर सुबेदी, टीकाराम सुबेदी, लकास पौडेल र मोदनाथ प्रश्रितलाई खुशी पारेको छु र गोबिन्द पौडेल, सोमनाथ पौडेल, ज्ञान विश्वकर्मा, लक्ष्मीनिधि उपाध्याय र पूर्णाखर उपाध्यायलाई दुखी बनाएको छु । खुशी बनाएकोमा त म सन्तुष्ट नै छु । जहाँसम्म दुखी बनाएकाको प्रश्न छ आफूलाई खेद लाग्छ किन त्यसो गरे हुँला नगर्नुपथ्र्यो जस्तै गोविन्दलाई धान्यपर्वत यज्ञको आचार्यको हैसियतले पाउनुपर्ने धान्यराशी लुटेर पुस्तकालय स्थापनाको लागि उपलब्ध गराइदिनु । म स्वयंले सोमनाथ पौडेललाई सुबेदीथरमा आएको बेला भतुवा भन्नु र घमन्डी बनेर पिराएकोमा आज खेद लाग्छ । ज्ञान विश्वकर्मा ताकमबाट लन्डन जानलाई पैसा मागेको बेला सापट पनि नदिएर पिराएकोमा पश्चाताप छ । निस्पक्ष वयोवृद्ध लक्ष्मीनिधि उपाध्यायलाई पुस्कालयको अध्यक्षको निर्वाचनमा उठाएर जिताउन नसकी हराएर पिराउँदा खेद लाग्यो । काका पूर्णाखर उपाध्यायका कुनै एक सन्तानलाई पनि स्पोन्सर गरेर पनि भिसा दिलाएर अमेरिका ल्याइदिन नसक्नु । उनीहरूको दुखको हरण म गर्न सक्थें वा सक्दैनथिएँ त्यो अर्कै प्रश्न हो तर उनीहरुले दुखको कारण म नै हुँ भन्ने ठानेका छन् भन्ने मलाई लाग्छ । मैले उनीहरूको अगाडि मेरो विवशता र कमजोरी खुलस्त राख्नुपर्छ भन्ने मलाई ऐले लाग्छ ।

प्रश्न ११. ऐले स्वैच्छिक मृत्युवरणको इच्छा वा चर्चा चलेको छ हजुरको विचार के छ ? र कस्तो अबस्थामा यो सोच स्वीकार्य हुनु जरुरि छ वा हुँदैन ?
उत्तर ११. स्वैच्छिक मरणको कुरा गर्नु स्वतन्त्रता हैन त्यसको दुरुपयोग हो र त्यो अपराध हो ।

प्रश्न १२. समाज शास्त्रीहरू भन्छन् आधुनिक जीवनको सफलताको लागि क अध्ययन ख रोजगारी ग मनोरंजन घ भ्रमण ण अध्ययन छ मानवसेवा (त्याग) हजुर यो कुरोमा कहाँ हुनुहुन्छ ? के कति सम्पन्न भयो वा हुने छ ?
उत्तर १२. वर्णाश्रम व्यवस्था अनुसार ७५ नाघेपछि सन्न्यासाश्रममा प्रवेश गरिएको छ । त्यो भनेको नास्तिको यो संसारको त्याग र आत्मचेतनाको यात्रामा उध्र्वोन्मुख हुनु हो । त्यसैले म त्यागको क्रमका छु ।

प्रश्न १३. हजुरलाई अनन्तसम्म यो समाज र देशले सम्झिरहने उल्लेख्य कुनै सुकर्महरू बताउन चाहनुहुन्छ ?
उत्तर १३. देशभित्र र बाहिर नेपाली भाषा र साहित्य तथा सँस्कृतिको संरक्षण संवद्र्धन र विकासमा योगदान गरेको

प्रश्न १४. नेपालको सन्दर्भमा सेना प्रहरी र प्रशासनमा अवकास अवधि ६५ र ६७ भए हुन्थ्यो जस्तो अनुभूति भएन ? अवकास पछिको समयलाई सदुपयोग गर्न अनेक विकल्पहरू ? खोज्नु पर्दा ? विश्वविद्यालयका प्राध्यापकहरू ? लाइ त् वहाहरूको स्वास्थ्यले साथ दिउञ्जेल काम गर्न दिए उत्तम हुन्छ जस्तो लाग्दैन ?
उत्तर १४. यस प्रश्नको जबाफ दिन म आधिकारिक मानिस होइन ।

होमनाथ सुवेदी

होमनाथ सुवेदी , जन्म मिति : १९४७, स्थानः वडा नंबर ७, ताकम, म्याग्दी, हालः वुडब्रिज, भर्जिनिया, अमेरिका ई १९८१ देखि । शिक्षाः एम्ए, बिएड । सँस्थापक अध्यक्ष अनेसास । प्रकाशित कृतिहरुः उपन्यास–८, कविता सङ्ग्रह— ६, गजल— २, मुक्तक— १, खण्डकाव्य— २, महाकाव्य— १, कथा— ३, लोकसाहित्य— ३, पत्रसाहित्य— २, समालोचना र इतिहास—५, सम्पादन— ४, र, सहसम्पादन—१०, र अनलाइन प्रकाशन उपन्यास २, महाकाव्य १, जम्मा सिर्जित कृति ३३, सम्पादित १४ र अनलाइन प्रकाशित ३ गरी जम्मा ५० । पुरस्कार, विभूषण, सम्मान अभिनन्दनहरु ४१ भन्दा बढीबाट सम्मानित । सम्पर्क : 1727 Horner Road, Woodbridge, VA 22191,, फोन (७०३(४९१—१०१४, [email protected]

प्रकाशित कृतिको नाम र वर्ष :

उपन्यास–१०
न्याउली –वि.सं.२०४३, नजर– वि.सं.२०४४, त्रिमूर्ति– वि.सं.२०४४, वीणा– वि.सं.२०४५, रत्ना– वि.सं.२०४३, द्यौराली– वि.सं.२०५१, अड्ढुर– वि.सं.२०५३, यमपुरीको महल (वि.सं.२०६४), डिसीनेपालडटकममा पोस्टेड २ वटा उपन्यास —अन्तर्दाह र वेलकम टु अमेरिका । जम्मा १० वटा उपन्यास ।

कविता सङ्ग्रह— ६
प्रवासी स्वर– वि.सं. २०५४, आप्रवासका सुसेली (वि.सं. २०६३), डायस्पोराका डोरा (२०११), प्रेम दिवस (वि.सं.२०६८), स्मृति (२०७०÷२०१३), भूकम्प (२०७२÷२०१५) ।
गजल र मुक्तक सङ्ग्रह —३
सेतो गाजल (वि.सं. २०६४), कालो गाजल (२०६९÷२०१२) मुक्तक र मुक्ति (२०६९÷२०१२)

खण्डकाव्य—२
छयासीको छवि—२०६४, ग्र्रहग्रस्त दिवाकर–(२०६५),
महाकाव्य–२
डायास्पोराको पेन (२००९) मुद्रित, अनलाइनमा यो समाज ! महाकाव्य नेपालीपोस्टडटकम र डीसीनेपालडटकममा पोस्टिङ्ग भैसकेका छन् ।

लोक साहित्य –३
नेपाली लोक कथा– (छन्त्यालको छेउछाउबाट) वि.सं२०५२, छन्त्याल लोक कथा–सङ्कलन (वि.सं.२०६६), नेपाली लोककथाको परम्परामा छन्त्याल लोककथाको अध्ययन (इ. २०१३) अनुसन्धान, पत्र साहित्य –२ आप्रवासीका पत्र(२०६६), सानो नेपाल डायस्पोरामा (इ.२०११),

कथाः ३
चिरिएको मुटु– कथा सङ्ग्रह २००७, डायस्पोराको मान्छे (इ.२०११), सपना (स्वप्न कथा) (इ. २०१२)

समालोचना र इतिहास — ५
नवछायावादको छवि—२००८, समुद्रपारका समालोचना (समालोचना सङ्ग्रह) २००९, गंगाको समीक्षा (२०६९÷२०१२), डायस्पोराबाट नेपालका समालोचना (२०७०÷२०१३), उत्तर अमेरिकाको नेपाली साहित्यको इतिहास ( वैशाख १८, २०७५÷मई १, २०१८)

सम्पादन— ४
गङ्गाका गजल(२०६७), सखी वियोग–गङ्गा लिगल(२०६७), मृदुलका गजल(२०६६), गौतमका गजल(२०६६) ।

समूह लेखन तथा सम्पादन—१०
रचना सङ्ग्रह (वि.सं.२०२६), ‘ताकम दर्पण’ सहलेखन (वि.सं. २०५५), अनेसास पुरस्कृत कृति परिचय २००५(समीक्षा सङ्ग्रह)—(वि.सं.२०६६), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन –समीक्षा सङ्ग्रह (इ.२०१२), अनेक डायस्पोराका कविता (कविता सङ्ग्रह (इ.२०१२), अनेक डायस्पोरामा देवकोटा (समीक्षा सङ्ग्रह (इ.२०१२), वाङ्मय –इ.२०११), अनेक डायस्पोराको साहित्य –इ. २०१४), अनेसासको इतिहास २०७३÷२०१६, जि.मु.हरिलाल बन्धुवृत्तमा(२०७३÷२०१७) ।

पुरस्कार :
१०. होमनाथ सुवेदी काठमाडौंमा अभिनन्दन
अनेसास नेपाल च्याप्टर र अन्य विभिन्न संस्थाको आयोजनामा मेडिया इन्टर्नेशनल, अनामनगरमा नेपालमा चैत्र ३, २०६८, मार्च १५, २०१२ मा होमनाथ सुवेदीलाई गरेका अभिनन्दन र सम्मानहरूमध्ये केही यी थिए —

१. नेपाल च्याप्टर अभिनन्दन
२. बसुन्धरामान प्रज्ञाप्रतिष्ठान अभिनन्दन
३. उन्नति बोहराको प्रतिष्ठानबाट अभिनन्दन
४. बनिता साहित्यिक पत्रिकाबाट अभिनन्दन
५. रामकृष्ण सिर्जना प्रतिष्ठानबाट अभिनन्दन
६. ज्योति साहित्य सम्मान
७. बासुशशी स्मृतिपरिषद सम्मान

अमेरिकाको वाशिङ्गटन डीसीमा २०१३ अनेसास केन्द्रले गरेको सम्मानपत्र, २०१४ मा अनेसास बिओटीले गरेको सम्मानपत्र, अमेरिकाको वाशिङ्गटन डीसीमा २०१३ अनेसास डीसी मेट्रो र यो क्षेत्रका विभिन्न सङ्घसंस्थाको तर्फबाट अभिनन्दन, अनेसास डीसी मेट्रोबाट नेपाली डायस्पोरा साहित्य शिरोमणि पदवी सहित अभिनन्नदन । अनेसास रजतजयन्तीको अवसर २०१६ जुलाई ५ को दिन मनासस भर्जिनियामा अनेसासकेन्द्रबाट अभिनन्दन ।

अमेरिकाका १६ वटा संस्थाबाट, काठमाडौंका आठवटा संस्थाबाट, म्याग्दीबाट सातवटा संस्थाबाट अभिनन्दित र अन्य संस्थाहरूबाट सम्मानित । ३१ वटा संस्थाबाट अभिनन्दित र अन्य विभिन्न सँस्थाबाट सम्मानित । नेपाली साहित्यको संस्थागत विकास र विश्वव्यापीकरणमा पुराएको योगदानको लागि अनेसास राम लामा अविनाशी सर्वोत्कृष्ट पुरस्कार तथा सम्मानबाट सम्मानित, सेप्टेम्बर ९, २०१७ । डायस्पोरामा ३० वर्षदेखिको अनवरत नेपाली साहित्यमा गरेको योगदानको लागि गैह्रआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा उपसमितिको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन, २०१९ मा ताम्रपत्र सहितको सम्मान प्रदान गरिएको । न्युयोर्कबाट संचालित अनलाइन खबर पत्रिका नेपलिजडटकमले डायस्पोरामा नेपाली भाषा साहित्य फैलाएर परिवर्तनको लागि योगदानको लागि ‘परिवर्तनका सम्वाहक—२०२०’ (Chang Maker-2020) २०२०) बाट सम्मानित ।

संलग्नता :
६. पेशागत अनुभवः लोक साहित्य सहायक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कमलादी, नेपाली भाषा लेखक जनक शिक्षा सामग्री केन्द्र, सानो ठिमी, नेपाली पाठ्यक्रम विशेषज्ञ, पाठ्यक्रम तथा पाठ्यपुस्तक विकाश केन्द्र, हरिहर भवन, नेपाली शिक्षा शिक्षण प्रशिक्षक, रेडियो एजुकेशन, पाटनढोका नेपालमा र बेस्ट मेडिकल इन्टन्र्याशनल, स्प्रिङ्फिल्ड, भर्जिनिया, अमेरिकामा प्राविधिज्ञ रही काम गरेको ।
७. उल्लेखनीय कार्यहरुको विवरण :

१. ‘अन्नपूर्ण पुस्तकालय’ ताकम जफदी, म्याग्दी पुस्तकालयको स्थापनामा योगदान ।
२. ‘‘धवलागिरि जन क्लब’ काठमाडौको स्थापना तथा संस्थापक अध्यक्ष भै स्वयम् सम्पादक पनि रहेर भाषा र संस्कृतिको श्रीवृद्धिको लागि ‘धवलागिरि’ त्रैमासिक पत्रिकाको सम्पादन गरेको ।
३. ए.एन्.एस्. (America Nepal Society) वाशिङ्गटन डि.सी. को उपाध्यक्ष तथा नेपाली भाषा समितिको अध्यक्ष भै इ. १९९२ मा नै Vidio
documentary को निर्माणबाट समाजसेवीहरुको इतिहास निर्माणबाट सकारात्मक भावना विकाश तथा अमेरिकामा नेपाली भाषामा लेख्ने लेखाउने र भिडियोहरु बनाउनतिर अग्रज भूमिका खेलेको जसको उद्देश्य अमेरिकामा नेपाली भाषाको श्रीवृद्धिका महत्वपूर्ण योगदान होओस् भन्ने नै थियो ।
४. ए.एन्.ए. Association of Nepalese in the Americas को ई.१९९४को डि.सी. सम्मेलनको उपाध्यक्ष भै नेपाली संस्थाहरुको बीच Partnership रहुनुपर्छ भन्ने सशक्त धारणालाई अग्रसर गरी नेपाली लिटरेरी आइल्यान्डको संचालन गरेर ए.एन्.ए.को कन्भेन्शनमा सधै पोइट्री फेस्टिवल गराउने परंपरा बसाली सातसमुद्रपार नेपाली भाषाको श्रीवृद्धिको लागि महनीय काम गरेको ।
५. अखिल नेपाली अमेरिकी सङगठन युएस्एको मुखपत्रको सम्पादन गरेको र त्यसमा नेपाली भाषालाई र साहित्यसाई विशेष पृष्ठ दिने क्रम प्रारम्भ गरेको ।
६. ए.एन्.एस्. (America Nepal Society) वाशिङ्गटन डि.सी. को मुखपत्रमा नेपाली भाषा र साहित्यलाई सधै विशेष पृष्ठ छुट््याउने परंपरा बसालेको ।
७. International Nepali Literary Society राष्ट्रिय सम्मेलनमा सुरुदेखि नै एक नेपाली साहित्य सम्मेलनको आयोजना हुनुपर्छ भन्ने यो परम्परालाई कायम राख्न लगाएको । साथै यो संस्थाको स्थापनाको विधानमा हस्ताक्षरकर्तामध्ये एक ।
८. अनेसास International Nepali Literary Society को संस्थापक अध्यक्ष रही यसका सबै तह र पक्षमा काम गरिसकेको र हाल त्यसको द्ययबचम या Board of Trustee को अध्यक्ष रही नेपाल भाषा र साहित्यको श्रीवृद्धिको लागि २० वर्षसम्मको दीर्घ सेवा ।
९. ‘अन्तर्दृष्टि’ साहित्यिक त्रैमासिक पत्रिकाको प्रधान सम्पादक रही पत्रिका सम्पादन गरेको ‘अन्तदृष्टि’ पत्रिकाको संरक्षक पनि रहेको ।

१०. ‘धवलागिरि’ साहित्यिक त्रैमासिकको प्रधान सम्पादक रहेको ।
११. नेपाली भाषामा शिक्षा मुखपत्रको सम्पादन ।
१२. प्रथम साहित्यिक कृतिः वि.सं.२०२५ सालमा दिल्लीको नेपाली छात्र संघबाट प्रकाशित हिमाल प्रत्रिकाको वर्ष १ अड्ढ १ मा ‘अविवेक’ शीर्षकको कथा प्रकाशन नै पहिलो प्रकाशित सिर्जना हो ।
१३. हिमाल, रचना संग्रह, माधुर्य, झड्ढार, रुपरेखा, मधुपर्क, धौलागिरि, रेडियो शिक्षा शिक्षक तालिम परियोजना बुलेटिन, अखिल अमेरिकी नेपाली संगठनको को न्युज लेटर, अमेरिका नेपाल सोसाइटीको न्युज लेटर, दियालो, अन्तर्दृष्टि आदि पत्रिकाहरु र ईपत्रिकाहरुमा Nepalipost.com. Paradesh.com, Nepaljapan.com, Suskera.com, freenepal.com, poetry.com, dcnepal.comआदि पत्रपत्रिकाहरुमा फुटकर रचनाहरु प्रकाशित हुदै आएका छन् ।
अध्ययन सन्दर्भ :

होमनाथ सुवेदीको बारेमा अध्ययन सन्दर्भको लागि धेरै अनुसन्धान पत्र र पुस्तकहरू प्रकाशित भएका छन् । तीमध्ये केही निम्नानुसार छन् —

१. स्रष्ठा होम द्रष्ठा अनेक –आप्रवासीयतावादी समालोचना) —(सम्पा.)प्रा. राजेन्द्र सुवेदी, ((२०७२÷२०१६) पाठ्यसामग्री प्रकाशन, काठमाडौं
२. दृष्टि–कोण (साहित्यकार श्री होमनाथ सुवेदीका नेपाली अन्तर्वार्ताहरू) सम्पादक —पुरुषोत्तम सुवेदी (२०७१÷२०१४) अनेसास, केन्द्र
३. आख्यानकार होमनाथ सुवेदी—(आख्यान समालोचना) डा.विष्णुप्रसाद पौडेल (२०६९÷२०१२) अनेसास, केन्द्र
४. डायस्पोरिक उपन्यासकारः होमनाथ सुवेदी — प्रमोद पंज्ञानी पोखरा, (२०६९÷२०१३)
५. होमनाथ सुवेदीको उपन्यासकारिता –त्रिवि स्नातकोत्तर, शोधपत्र, २०६५ –शोधार्थी–गोरखनाथ सुवेदी
६. होमनाथ सुवेदीका उपन्यासहरूमा नारीवादी चिन्तन –त्रिवि स्नातकोत्तर, शोधपत्र, २०६७ –शोधार्थी– शारदा शर्मा
७. यमपुरीको महल उपन्यासको सीमान्तीयता र आप्रवासीयताको अध्ययन–शोध– २०७२ दर्शनाचार्य तह– शारदा शर्मा

प्रतिक्रिया