दशैं

इनेप्लिज २०८१ असोज २५ गते ११:२७ मा प्रकाशित

दशैंमा नयाँ लुगा र जुत्ता होइन
गरुङ्गो “रिन” किन्छ र बोक्छ मान्छे
दशैंमा भोज होइन
रिनै रिन खान्छ मान्छे ।

शक्ति र सामर्थ्यको प्रदर्शन यसरी गर्छ कि
अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे
साहु कहाँ उज्यालो बन्धकी राख्दै
आफू पनि सजिन्छ, र
परिवार र घर पनि सजाँउछ मान्छे ।

महँगीले किचिएर पहेंलिँदै
रून्चे हाँसो हाँस्दै
टिका र जमरामा रमाउन खोज्छ मान्छे
सिर्जनालाई थाती राखेर
चौका र छक्कामा आनन्द मान्छ मान्छे ।

दशैंमा गमक्क पर्ने मान्छे
दशैंमा गर्व गर्ने र ध्वाँस जमाउने मान्छे
दशैंमा ढाेंङ रच्दै सम्पन्नता प्रदर्शन गर्ने मान्छे
दशैं सकिदा जमरा ओइलाएझैं ओइलाउँछ

दशैंमा दशैं नआएर दशा आउँदो रहेछ भन्ने चाल पाउँछ ।

राधेश्याम लेकाली

प्रतिक्रिया