अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको पाँचौ इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न भएको छ । साथै जात्रामा जातीय भेषभूषामा सहभागी भएका ५० जना बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ । उक्त कार्यक्रमको संयोजन श्रीजन ताम्राकारले गरेका थिए । जात्रामा नेपा: कम्युनिटी यूएसएका अध्यक्ष विक्रान्त मान श्रेष्ठले स्वागत गरेका थिए ।
नेपा: कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त जात्रा मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर २९ आइतबारका दिन सम्पन्न गरिएको छ ।
नेपाल कै महत्वपूर्ण सांस्कृतिक पर्व येन्हा (इन्द्रजात्रा) अब काठमांडौमा मात्र सिमित रहेन । यसै क्रममा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो ।
सन् २०१८ मा वर्षाको कारण समारोहमा केही अवरोध उत्पन्न भएता पनि समारोह सफल भएको थियो । नेवा: भेषभुषामा सजिएका बालबालिका देखि लिएर नरनारीहरू र बिदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितीले काठमाडौँको झझल्को दिएको थियो ।
उक्त कार्यक्रममा नेवा: समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, भैरव तथा गणेशको रथ प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन, धिमे बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए । यस पटक दुई वटा लाखे नृत्य प्रस्तुती गरिएको थियो ।
काठमाडौँ उपत्यकाको झझल्को आउने गरी प्रसादको रूपमा हाथु हायेगु (श्वेत भैरवको मुखबाट जाँड)नली बाट आउने गरि राखिएको थियो । यसरी जात्रामा उपस्थित भएकाले सेवन गरेका थिए । इन्द्रजात्रामा नेवा:समुदायको साथै वरपर तथा विभिन्न राज्यहरुबाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।
विशेषगरी काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवा :समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।
नेवा समुदायका पुरोहित बासब राजोपाध्यायले जानकारी गराए अनुसार येन्हा : पून्हीं ( ईन्द्र जात्रा) सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको ईन्द्र भगवान , “यँया:” भनेको ईन्द्रजात्रा हो l बासव राजोपाध्यायले इन्द्र जात्राको बारेमा र पौराणिक महत्वमा प्रकाश पारेका थिए । त्यस्तै बाल्टिमोरकै चिर परिचित समाजसेवी तथा नेपा: कम्युनिटी यूएसएका संरक्षक विजय श्रेष्ठले इन्द्र जात्रा कार्यक्रम बारेमा प्रकाश पार्नुको साथै संक्षेपमा जात्रा सम्बन्धी चर्चा गरेका थिए ।
इन्द्र जात्राको कार्यक्रम संचालन सुसान मानन्धर र अरुणा डंगोलले गरेका थिए । स्वयम् सेवकको संयोजन दिलिप श्रेष्ठले गरेका थिए भने संस्थापक बैकुण्ठ मान श्रेष्ठ नेपालको भ्रमणमा रहेता पनि उनकै निर्देशन ,सल्लाह र मार्गदर्शन अनुसार जात्रालाई अपार सफलताको साथ सम्पन्न गरिएको छ ।
हाराहारी २,००० जनाको सहभागिता रहेको उक्त जात्रामा अति उत्कृष्ट रुपमा समयबजी सबैलाई निशुल्क खुवाईएको थियो ।
येन्हा पुन्ही (इन्द्र जात्रा )सफल बनाउन आयोजक समितिले करिव ४-५ महिना देखि ठूलो मेहनत गरेका थिए ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया