अमेरिकामा आएको समुन्द्री आँधी हेलिनको कारण ६ वटा राज्यहरुमा आपतकाल अवस्थाको घोषणा गरिएको छ । र अहिले सम्म ४ जनाको मृत्यु भएको एबिसीन्यूजले जनाएको छ ।
नर्थ क्यारोलाइना शार्लोट, मेक्लेनबर्ग ईएमएसका अनुसार एक घरमा रूख खस्दा एक व्यक्तिको मृत्यु भएको छ र अर्को एक जना घाइते भएका छन् ।
जर्जियाका गभर्नर ब्रायन केम्पले बिहीबार राति व्हीलर काउन्टीमा दुई जनाको ज्यान गएको कुरा थाहा पाएर दुख भएको बताए। उनले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।
फ्लोरिडामा गभर्नर रन डिसेन्टिसका अनुसार बिहीबार टाम्पा नजिकैको अन्तरराज्य एक राजमार्गमा एउटा गाडीमा रुख खसेपछि एक व्यक्तिको मृत्यु भएको छ । हेलिन आँधीका कारण दक्षिणमा शुक्रबार बिहान २० लाख भन्दा बढी ग्राहकहरू बिजुलीबिहिन भएका छन् ।
फ्लोरिडामा १२ लाख भन्दा बढी ग्राहकहरू बिजुलीविहीन भएका छन् । त्यस्तै जर्जियामा ८ लाख भन्दा बढी मानिसहरु अन्धकारमा रहन बाध्य भएका छन्।
साउथ क्यारोलाइनामा ५००,००० भन्दा बढी र नर्थ क्यारोलाइनामा १९०,००० भन्दा बढी बिजुलीविहीन हुन् पुगेका छन् । फ्लोरिडाको पास्को काउन्टीमा बढ्दो पानीबाट २०० जनाको उद्धार गरिएको छ।
पास्को शेरिफको कार्यालयका अनुसार टाम्पाको उत्तरमा रहेको पास्को काउन्टी, फ्लोरिडामा बढ्दो बाढीको पानीबाट राती करिब २०० व्यक्तिको उद्धार गरिएको छ । एटलान्टामा पनि २५ भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ ।
पिचट्री पार्क अपार्टमेन्ट(आवासगृह) भवनमा खाडी बगिरहेको अवस्थामा करिब ११ जनाको उद्धार गरिएको थियो । केही बासिन्दाहरूलाई सार्वजनिक यात्रीयान (बस)बाट इलाकाबाट बाहिर लगिएको छ । केहीले छोड्न अस्वीकार गरे भने विस्थापितहरूलाई आश्रयस्थलमा लगिएको सिएनएनले जनाएको छ ।
शुक्रबार बिहान वर्षा कम र पानी घटिरहेको छ भने उद्धार सूचना दिनेहरुको संख्या पनि सुस्त भएको अधिकारीहरूले बताएका छन्। अमेरिकाको १२ वटा राज्यहरूमा ६ करोड मानिसहरू यो समुन्द्री आँधी हेलिनको प्रभावमा रहेको र चेतावनीहरूमा रहेका छन् । फ्लोरिडाका गभर्नर रन डिसान्टिसले फ्लोरिडाका ६७ काउन्टीहरू मध्ये ६१ वटामा हाल आपतकालिन अवस्थामा रहेको बताएका छन्।
जर्जियाका १५९ वटा काउन्टीहरूलाई आपतकालिन अवस्था अन्तर्गत राखिएको छ । त्यस्तै साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनाका गभर्नरहरुले सबैलाई सतर्क हुन् अनुरोध गरेका छन् । हेलिन समुन्द्री आंधी खतरनाक आँधी भएकोले भारी वर्षा र सम्भावित विनाशकारी बाढी ल्याउने खतरा भएकोले चेतावनी दिइएको छ ।
अलाबामामा पनि राष्ट्रपति जो बाइडेनले राज्यको लागि आपतकालीन घोषणालाई अनुमोदन गरेका छन् । त्यस्तै भर्जिनियाका गभर्नर ग्लेन यङकिनले सबैलाई सतर्क रहन आह्वान गरेका छन् ।
प्रतिक्रिया