दुबईमा नेपाल मगर संघ शाखा युएईको साधारण सभा सम्पन्न

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ असोज ७ गते २३:५९ मा प्रकाशित

दुबई । गएको २२ सेप्टेम्बर २०२४ आईतबारका दिन दुबई स्थित सिल्भर स्पून रेष्टुरेण्टको हलमा नेपाल मगर संघ शाखा युएईको १९औं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । सो सभा विविध सांगीतिक माहौलमा विभिन्न नेपाली परिकारका स्वादसंगै रात्री भोजका साथ भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल मगर संघ शाखा युएईका संरक्षक टंक थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ शाखा युएईका अध्यक्ष नयन घर्ती मगरले गर्नु भएको थियो । अन्य अतिथिहरुमा निवर्तमान अध्यक्ष, संरक्षक, उपसंरक्षक, सल्लाहकारहरु र त्यस्तै गरि वर्तमान पदाधिकारीहरु रहेका थिए । त्यसैगरी दुबई, शारजाह, अबुधावी र एल ऐनका क्षेत्रीय प्रमुखहरु पनि अतिथिमा रहनुभएको थियो ।

प्रमुख अतिथि, अध्यक्ष र अतिथिहरुको दीप प्रज्योलनका साथ थालनी भएको कार्यक्रममा नेपाली राष्ट्रिय गानको लगत्तै केन्द्रीय सचिव मेहर थापाको शुभकामना मन्तव्य रहेको थियो । सोही अवसरमा विभिन्न पदाधिकारीहरुले आ–आफ्ना मन्तव्यहरु समेत राखेका थिए । साथै २००५ मा स्थापना भएको मगर संघलाई अझै क्रियाशिल बनाउनका लागि नयां कार्यनितिहरु तैयार पार्नमा जोड दिएका थिए ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष आरती दर्लामी मगरको लामो प्रतिवेदन सकिएपछि क्रमशः दुबई क्षेत्रीय समितिबाट नरजीत राना, शारजाहबाट नुन सिंजाली मगर, एल ऐनबाट ठाकुर काप्छाकी मगर र अबुधावीबाट कविता राना मगरको बार्षिक प्रतिवेदन रहेको थियो । केन्द्रदेखि क्षेत्रीय समितिसम्म सबैको प्रतिवेदन सन्तोषजनक रहेको पाईन्छ । जस्मा सबैले ताली बजाएर पास गरेको छ ।

कुनै पनि किसिमको कार्यक्रम हुदा सांगीतिक माहौल भएन भने सायद कार्यक्रमनै अधुरो रहने गर्दछ । दर्शकहरुलाई तताउनका लागि स्टेजमा प्रदीप पुन मगर, प्रदीप राना, सिर्जना श्रीस, बविता घर्ती मगर, नेपालबाट आएकी मोडल तथा नायिका सिर्जना मगरका साथ थुप्रै स्थानीय कलाकारहरुका प्रस्तुतिले हललाई नै संगीतमय बनाई दिएको थियो । साथै नौमती पंञ्चेबाजाले झनै सुनमा सुगन्ध थपिदिएको थियो ।

सुरुवाटदेखि अन्तसम्म औपचारिक कार्यक्रमलाई नेपाल मगर संघ शाखा युएईका महासचिव होम रजाली मगर र सांस्कृतिक कार्यक्रमलाई प्रदीप रानाले कुशलतापूर्वक संचालन गरेका थिए ।

लालबहादुर ढेंगा, दुबई, युएई

प्रतिक्रिया