मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका श्रेष्ठले नेपाली महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा तस्बिरहरु कैद गरेका छन् । बिगत बर्ष देखि नै तीज पर्वमा समुदायका सबै प्रकारका महिलाहरुलाई प्राथमिकता दिदै क्रमस फरक फरक महिला दिदीबैनी र चेलीबेटीहरुको तीजका पोशाकमा सजिएकाहरुको सुन्दर तस्बिरहरु कैद गर्दौ आएकोमा यस बर्ष पनि उनले त्यो क्रमलाई निरन्तरता दिएका छन् ।
यसपाली ३ पटक बिभिन्न महिला/युवतीहरुका तस्बिरहरु कैद गर्ने क्रममा श्रेष्ठले मेरिल्याण्ड स्थित फोटो बैंक स्टुडियोमा कैद गरेका हुन् ।
अमेरिका- कुनै बेला नेपाली मनोरञ्जन क्षेत्र खासगरि नेपाली चलचित्र जगतमा आफ्नो जीवनचर्या बनाउन चाहने युवा–युवतीहरुले आफ्नो अभिनय यात्राको प्रारम्भमा लोकप्रिय छायाचित्रकार (फोटोग्राफर )राजीव श्रेष्ठसंग फोटोसेसन ( तस्बिर खिच्न)नगरि अघि बढ्दैन थियो । नेपाली चलचित्र क्षेत्रमा अहिलेका अधिकांश दिग्गज अभिनेता–अभिनेत्रीहरुको अभिनय करियर यीनै छायाचित्रकार (फोटोग्राफर)संग फोटोसेसन गरेर प्रारम्भ भएको हो ।
कुनै बेला भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर, राजेश हमाल, सरोज खनाल, विपना थापा, जल शाहदेखि २०५० को दशकमा नेपाली चलचित्र क्षेत्रमा जमेका अधिकांश अभिनेता–अभिनेत्रीहरुले राजीव श्रेष्ठसंग तस्बिर खिच्न (फोटोसेसन)का लागि समय नै लिनु पर्ने अवस्था थियो ।
ललितपुरको कुपण्डोल तथा काठमाडौंको बागबजारमा रहेका राजीव श्रेष्ठका भव्य स्टुडियो ‘फोटो बैंक’ मा फिल्म क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवतीहरु फोटोसेसनका लागि समय मिलाउन भेला भैरहन्थे ।
अत्यन्त सुन्दर तथा बान्की मिलेका तस्विरहरु खिच्न सिपालु राजीव श्रेष्ठसंग फोटोसेसन गरेपछि २०५२ सालदेखि प्रकाशनमा आएको कान्तिपुर पब्लिकेशन्सको मनोरञ्जनात्मक पत्रिका ‘साप्ताहिक’ को मध्यपृष्ठमा प्रकाशित हुने लोभमा समेत कतिपय युवतीहरु यीनै फोटोग्राफरसंग फोटोसेसन गर्न चाहन्थे । ‘साप्ताहिक’ का लागि राजीव श्रेष्ठले सयौं युवतीका सुन्दर तस्विरहरु खिचे । उनले खिचेका सयौं तस्विरहरुले साप्ताहिकको ‘ब्लोअप’ सेक्सन नै लोकप्रिय भएको थियो ।
यतिमात्र होइन, कुनै बेला नेपाली फिल्मका पोस्टरमा समेत राजीव श्रेष्ठले खिचेका तस्विरमात्र समावेश हुन्थे । उनले उत्कृष्ट प्रकाश संयोजनसहित खिचेका सयौं तस्विरहरु विभिन्न नेपाली फिल्मका पोस्टरमा समावेश भएका छन् ।
नेपालमा सेलिब्रेटी ग्ल्यामर फोटोग्राफरको छवि बनाएका राजीव श्रेष्ठले खिचेका सयौं तस्विरहरु विभिन्न पत्रिकाका आवरण तस्विरको रुपमा समेत प्रकाशित भएका छन् । कान्तिपुर पब्लिकेशन्सको मासिक पत्रिका नारी, कामना मासिक, ढुकढुकी, गिताञ्जली आदि पत्रिकाका आवरणमा राजिव ले नै खिचेका विभिन्न अभिनेता अभिनेत्रीका तस्विरहरु प्रकाशित हुन्थे ।
पछिल्लो समय राजीव श्रेष्ठ अमेरिकामा छन् । उनी अमेरिकामै रहेर पनि आफ्नो फोटोग्राफी करियरमै आवद्ध छन् । हरेक वर्ष ग्ल्याम क्यालेण्डरका लागि आकर्षक तस्विरहरु खिचिरहेका उनी अमेरिकामा विभिन्न राज्यहरुमा आयोजना हुने कार्यक्रमहरुमा समेत सहभागिता जनाइरहेका छन् ।
३५ वर्षभन्दा लामो समयदेखि सेलिब्रेटीहरुको फोटोसेसन गर्दै आएका राजीव श्रेष्ठ फोटोग्राफीकै लागि जन्मिएका हुन भन्दा फरक पर्दैन । शालिन र शान्त स्वभावका राजीव श्रेष्ठ आफ्नो कामप्रतिको ईमान्दारिता तथा लगनाशिलताका कारण पनि अमेरिकासमेत सफल फोटोग्राफरको रुपमा स्थापित भएका छन् ।
पछिल्लो समय उनी अमेरिकामा इभेन्ट फोटोग्राफीका कारण पनि चर्चामा छन् । उनका अनुसार अहिले नेपाली समुदायमा इभेन्ट फोटोग्राफीको महत्व बढिरहेको छ भने यो प्रचलन लोकप्रिय समेत भैरहेको छ । नेपाली समुदायमा आयोजना हुने विवाह, ब्रतवन्ध, जन्मदिन, वैवाहिक उत्सव आदि इभेन्टहरुमा समेत राजीव श्रेष्ठको फोटोग्राफीको माग रहेको छ ।
अमेरिकामै उनले फोटो बैंकको व्यवस्थापन गर्दै आएका छन् भने आफ्नो व्यवसायिक फोटोग्राफीलाई निरन्तरता दिँदै आइरहेका छन् । यो अवधिमा उनले अमेरिकामा बसोबास गरेका लोकप्रिय नेपाली कलाकार, श्रष्टा, मोडल, समाजबाट सञ्चालन भएका विभिन्न इभेन्टहरुमा फोटोसेसन गर्दै आइरहेका छन् ।
नेपालमै छँदा विभिन्न सेलिब्रेटीहरुलाई लिएर दशैँ, तिहार, शिवरात्रि, फागू पूर्णिमा, नयाँ वर्ष, तीज आदि विशेष अवसरहरुमा फेस्टिभ फोटोसेसन गरेर बेग्लै पहिचान बनाएका फोटोग्राफर राजीव श्रेष्ठले अमेरिकामा समेत यो कार्यलाई निरन्तरता दिइरहेका छन् ।
उनी अमेरिकामा रहेर पनि फेस्टिभ फोटोसेसन गरिरहेका छन् । उनलाई विभिन्न बुटिक तथा डिजाइनरहरु यस्ता फेस्टिभ फोटोसेसनका अभिनेत्रीहरुलाई आफ्नो डिजाइनर पहिरनहरु लगाउने व्यवस्था मिलाउँदै आएका थिए ।
यसैबीच, नजिकिँदै गएको तीजको अवसर पारेर राजीव श्रेष्ठले अमेरिकामै पनि तीज स्पेशल फोटोसेसन गर्दै आइरहेका छन् । यो वर्ष त उनले चर्चित वेब सीरीज हिरामण्डीको सेटको कन्सेप्टमा आफ्नै स्टुडियोमा तीज स्पेशल फोटोग्राफी गरिरहेका छन् ।
प्रतिक्रिया