विष्णु शीतल
नेपालका परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाकोे हालै सम्पन्न पाँच दिने भारत भ्रमणका क्रममा देखिएका दृष्यहरुलाई लिएर विभिन्न अडकलबाजी भइरहेका छन । नेपाल भारत बीचका आन्तरिक सम्बन्धका विविध पक्षलाई हेरेर मानिसहरु दुई देशबीचको राजकीय वा कुटनीतिक भ्रमणलाई लिएर विभिन्न अडकलबाजी गर्ने गर्र्दछन । अहिले पनि त्यहि भइरहेको छ ।
परराष्ट्र मन्त्री डा. राणा प्रधान मन्त्री केपी शर्मा ओलीको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा लिएर अगष्ट १८ देखि २२ सम्मको पाँच दिने भारत भ्रमणमा गएकी थिइन । त्यहाँ भारतीय पक्षले विगतमा भन्दा अलि फरक अर्थात राष्ट्र प्रमुखलाई जस्तो सम्मान दिएको भनेर नेपालमा विपक्षी दलले अनेक अडकलबाजी गर्दै प्रचार शुरु गरेका थिए । त्यहाँ उनलाई भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री यस जयशंकरलगायतले भेटघाट र सौहार्दपूर्ण कुराकानी गरेका थिए । प्रधान मन्त्री मोदीले सामाजिक सञ्जालमासमेत नेपालका विदेश मन्त्रीसँगको भेटघाटलाई महत्व दिएर स्टाटस लेखे पछि नेपाल र भारतमा पनि सामाजिक सञ्जाल र अन्य मिडियाहरुमा पनि चर्चा परिचर्चा भएको थियो ।
नेपाल भारत सम्बन्धमा थोरै मात्र चासो राख्ने जो कोहीले यस भ्रमणलाई लिएर आफ्नो धारणा बनाएको देखिन्छ । भारतको विगतको व्यबहारसँग मेल नखाने दृष्यहरु देखिए पछि यस पटक बढी टिका टिप्पणी भएको हुन सक्छ । नेपाल भारतबीचको सम्बन्ध केही विशेष किसिमको भएकाले पनि बेला बखत दुई पक्षीय भ्रमणलाई लिएर पनि चर्चा परिचर्चा हुने गर्दछन ।
यहाँ थोरै मात्र भए पनि नेपाल भारत सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक ठान्दछु । यी दुई देश बीचको सम्बन्ध भारतीय नेताहरुले भन्ने गरे जस्तो रोटी–बेटीको सम्बन्ध पनि नभएको हैन । तर त्योभन्दा पनि कुटनीति,भूगोल,भाषा,सँस्कृति,अर्थत्रन्त्र, व्यापारलगायत हरेक हिसाबले भारतसँग नेपालको सम्बन्ध विशेष नै छ । भारतमा ब्रिटेनले शासन गर्दाका बखत र त्यस यता हालसम्म नै पनि दुई देश बीचको सम्बन्ध उस्तै उस्तै छ । अलि अलि उतार चडाव त हुन्छ तर दुबै पक्षले एक अर्कालाई ठूलो नोक्सान पुर्याएका छैनन । नेपालको आफ्नो भूपरिबेष्ठित भूगोल र कमजोर अर्थतन्त्रको फाईदा भारतीय व्यापारीहरुले लिने गरेको पाईन्छ । यस्तै नेपालको अर्को छिमेकी चीनसँग भारतको सम्बन्ध परापूर्व कालदेखि नै धमिलोे रहदै आएको कारणले पनि नेपाल भारत कुटनीतिक सम्बन्ध विशेष रहने गर्दछ । भनिन्छ नेपाली उपभोक्ताले सीयोदेखि बहुमूल्य जुहारतसम्म प्राथमिकताका साथ भारतबाटै लिने गर्दछन । यति मात्र हैन नेपाल र भारतबीच साँस्कृतिक सम्बन्ध पनि सदीऔंदेखि गहिरो छ । नेपालमा हजारौं भारतीय चेलीहरु बुहारीका रुपमा भित्रिएका छन । त्यसरी नै नेपाली चेलीहरु पनि भारतीय बुहारी भएर बाहिरिएका छन । लाखभन्दा बढी नेपालीहरुका लागि भारत सहज उपलब्ध श्रम बजार हो ।
नेपाली उत्पादनले पनि भारतीय बजारमा राम्रै स्थान पाएको छ । हाम्रा उत्पादक र बजार प्रबन्धकहरुको कमजोरीको फाइदा उठाएर भारतीय व्यापारीहरुले राम्रै फाइदा उठाएका होलान त्यो भिन्न पाटो हो । अर्को प्रसंगमा चर्चा गरौंला ।
यसैगरी नेपालको प्रमुख आर्थिक श्रोत बन्दै गएको जल विद्युत पनि ेभारतले खरिद गरिदिने संझौता जो भएको छ । यो हाम्रो दुई देशबीचको सम्बन्धको उल्लेख्य पक्ष हो । नेपाल भारतबीचमा खुला सीमाना भएको र सीमावर्ती क्षेत्रलाई व्यबस्थित निगरानी गर्न नसक्दा हुने गरेका चोरी तस्करी प्रमुख समस्या भएका छन । यसै गरी नेपालले हालै मात्र सञ्चालनमा ल्याएका दुईवटा अन्तराष्ट्रिय हवाई मैदानमा अवतरण गर्न अन्तराष्ट्रिय उडानले भैरहवा, नेपालगंज र महेन्द्र नगरबाट नेपाल प्रबेश गर्न भारतीय आकाश प्रयोग गर्न अनुमति पाएको छैन । पोखरा र लुम्बिनीमा बनेका अन्तराष्ट्रिय हवाई मैदानले माग गरिएका नाकाबाट प्रबेश नपाउदा पूर्व र दक्षिणमा सीमराबाट मात्र प्रबेश गरेर लुम्बिनी वा पोखरा गएर ल्याण्ड गर्नु परेको छ ।
सुक्ष्म र व्यापक दुबै तहमा दुई देशबीच जटिल समस्याहरु छन । भारतले देखिने गरी नै कुनै दल विशेषलाई नजिक ठान्ने र कुनैलाई टाढा राख्ने गरेको अनुभव नेपालको राजनीतिमा थोरै मात्र चासो राख्नेलाई थाहा छ । नेपाललाई भारतले हेर्ने दृष्टिकोण एक सार्वभौम राष्ट्रको सम्मानजनक र इज्जतदार देखिदैन । त्यहाँका राजनीतिक नेतादेखि सामान्य कर्मचारीले समेत नेपाल र नेपालीलाई सानो भाई जो निमुखा छ, जे गरे पनि हुन्छ भन्ने आशयको व्यबहार गरेको देखिन्छ ।
सन २०१५ मा नेपालले आफ्नो गणतान्त्रिक सम्बिधान आफैंले बनायो र जारी गर्यो । यसमा भारतले विमती जनायो । भारतले सामान्य विमति मात्र जनाएन, तराइतिर राजनीति गर्ने केही पार्टीहरुलाई अप्रत्यक्ष रुपमा सहयोग गरेर नेपालमाथि व्यापारिक नाकाबन्दी नै गर्यो । यो नेपाली जनता प्रति भारतले गरेको निकै ठूलो धोकाबाजी थियो । परिणाम स्वरुप नेपालमा इन्धन,खाद्यान्न र औषधिको अभाव खडा गरिदियो । तत्कालिन प्रधान मन्त्री केपी ओलीले चीनसँग हिमालय सीमापार बाणिज्य सन्धी गरेर अत्याबश्यक वस्तु आपूर्तिको व्यबस्था गरे पछि विस्तारै नाकाबन्दी हटाएको थियो ।
नेपालको अन्तराष्टिय «सीमानाको तीन तिर भारत बेष्ठित छ । आफ्नो सामुन्द्रिक जलमार्ग नभएको हुँदा समुन्द्रसम्म पुग्न भारत वा चीनकै स्थल मार्ग प्रयोग गर्नु पर्ने बाध्यता हुन्छ । भारतले नाकाबन्दी गरे पछि अर्को छिमेकीसँग संझौता गर्नु नेपालको निर्विकल्प उपाय थियो । चीनसँगको पारबहन संझौताले भारत लचिलो बन्दै गयो र नाकाबन्दी विस्तारै हट्दै गएको थियो ।
यसको केही समय पछि नेपालले कालापानी लिम्पियाधुरा समेटिएको पुरानो छुटेको भूभाग समेटेर बनाइएको चुच्चे नक्सा जारी गरेको थियो । यस घट्ना पछि पनि दुई देशबीचको सम्बन्ध निकै चिसिएको थियो ।
नेपाललाई भारतले हेर्ने दृष्टिकोण एक सार्वभौम राष्ट्रको सम्मानजनक र इज्जतदार देखिदैन । त्यहाँका राजनीतिक नेतादेखि सामान्य कर्मचारीले समेत नेपाल र नेपालीलाई सानो भाई जो निमुखा छ, जे गरे पनि हुन्छ भन्ने आशयको व्यबहार गरेको देखिन्छ ।
नेपाली राजनीतिमा भारतसँगको समबन्धलाई लिएर बादविबाद छेडखान हुने गर्दछ । पक्ष विपक्षमा बिभाजन हुने परिपाटी छ । यसै क्रममा नेपाली राजनीतिमा दुई विपरित ध्रुवमा फर्किएका प्रमुख दुई पार्टी मिलेर सरकार बनेको वर्तमान अवस्थामा नेपाली काँग्रेसको तर्फबाट परराष्ट्र मन्त्री भएकी देउवा पत्नि आरजु राणाको भारत भ्रमणमा भए गरिएको तामझामलाई चासोका साथ हेर्नु र यसको सकारात्मक एवम नकारात्मक टीकाटिप्पणी हुनु विलकुल स्वभाविक हो । भारतले नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यबहारलाई बडो उत्सुकताका साथ हेरिनु पनि स्वभाविक छ ।
यस पटकको भ्रमण विगतको भन्दा केही पृथक र भारतीय पक्षले महत्वका साथ लिएको जस्तो देखिएको छ । भ्रमणको क्रममा परराष्ट्र मन्त्री राणासँग भारतका प्रधान मन्त्री नरेन्द्र मोदी,विदेश मन्त्री यस जय शंकरलगायत उच्च पदस्थ अधिकारीहरुले दुई पक्षीय सम्बन्धका विविध विधामा छलफल गरेका थिए । हुन सक्छ नेपाल पक्षले धेरै तयारी गरेको थिएन । तर पनि विषयहरु उठान भएको भारतस्थित नेपाली राजदूतावासले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । यस अघि व्यस्तताको कारण देखाउदै नेपालका प्रधान मन्त्रीलाई समेत भेट नदिने भारतीय अधिकारीहरु यस पटक परराष्ट्र मन्त्रीसँग सौहार्दता देखाउनुलाई केही अस्वभाविक नौलो व्यबहारका रुपमा हेरिएको छ । यो व्यबहारबाट कसैले केही शंका गर्नु पर्ने वा कोही हौसिनु पर्ने कारण चाहिँ देखिदैन । यद्यपि यसको विश्लेषण भने आवश्यक छ ।
आरजु राणा कुटनीतिमा प्रखर भएर वा दुई पक्षीय सम्बन्धका बारेमा विशेष जानकार व्यक्तिका रुपमा हेरिने व्यक्तित्व भएर अहिले भारतीय अधिकारीहरु यो रुपमा प्रस्तुत भएका अबश्य हैनन । यो भ्रमणको धेरै अघिदेखिको तयारी भएको र विशेष कुराकानी उठाउन खोजीएको भएर पनि हैन । मन्त्री राणासँग कुटनीमिा खास अनुभव भएकोले यो मन्त्रालयको जिम्मेवारी पाएको पनि ह्रैन । नेपाल भारतबीचमा दर्जनौं अत्याबश्यक विषयहरु छन । जुन विना तयारी भएको भेटघाटमा कुनै उपलब्धि हुने संभावना देखिदैन । पञ्चेश्वरमा भारतले गरेको ढिलाईले नेपाललाई पुगेको नोक्सानी, बुढी गण्डकीमा भारतीय पक्षले देखाएको व्यबहार, पश्चिम नेपालबाट प्रबेश गर्न भारतीय हवाई मार्ग दिन गरेको आनाकानीले लुम्बिनी र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा भएको अप्ठ्यारो, कालापानी लिम्पियाधुरामा नेपाललाई आफ्नो प्रशासनिक इकाई खडा गर्न भारतले सहजीकरण गर्नु पर्ने विषय जस्ता जटिल विषयमा कुरा गर्न दुबै पक्षले धेरै तयारी गर्नु पर्दछ । यी अल्झनहरु नसुल्झिएसम्म दुई देशबीच हुने कुनै सौहार्द भेटघाट र कुराकानीले खास कुटनीतिक महत्व राख्दैन ।
यस भ्रमणमा नेपाललाई हेर्ने दृष्टिकोण नै फेरिएको झल्को दिने गरी भ्रमणलाई महत्व दिएपछि यस पंतिकारले नेपालका एक उद्योगपति जो पूर्व सभासद पनि हुन राजेन्द्र खेतानको धारणा जान्न चाहेको थियो । खेतानलाई लागेको रहेछ– आरजु राणा नेपालको एक पढालेखा महिला राजनीतिक व्यक्तित्व, उनको पारिवारिक नाता भारतको कुनै राजनीतिक घरानासँग भएको,भारतमै पढेको, यस अघि नै प्रथम महिला पनि भइसकेकी र नेपालको पुरानो अनि ठूलो पार्टी नेपाली काँग्रेसकी नेतृ पनि भएकाले उनले भारतमा यस्तो सम्मान पाएकी हुन । यसभन्दा अरु पनि कारण हुन सक्छन भारतले यस्तो सौहार्दता देखाउनमा ।
हालै मात्र भारतले छिमेकीहरुसँग राम्रो सम्बन्ध बनाउन एक नीति अवलम्बन गरेको छ । छिमेकी पहिला “नेभर फष्ट” नीति अनुसार छिमेकीहरुसँगको सम्बन्धमा पुनरावलोकन गर्ने क्रममा नेपालसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको हुन सक्छ । त्यस्तै दक्षिण एसियामा भारतको हैकम चर्को बन्दै गएको भनेर विश्व समुदायले फरक नजरले हेर्न थाले पछि छिमेकीहरुसँग सौहार्दता बढाउन खोजेको हुन सक्छ ।
नरेन्द्र मोदी गठबन्धन गरेर भए पनि तेश्रो पटक प्रधान मन्त्री भए पछि भरखरै “ छिमेकी पहिला” भन्ने एक सम्मानजनक कार्यक्रम ल्याएका हुन । जसले छिमेकीहरुसँगको सम्बन्ध सुदृढ बनाउने सन्देशसहितको कार्यक्रम तय गरेको छ । संयोग कस्तोसम्म परेको छ भने बंगलादेशमा हालै मात्र जन विद्रोह भएको छ । त्यहाँका इतिहास निर्माता शेख मुजीबर रहमानकी छोरी शेख हसिनाको सत्ता पलट भएको छ । हसिना भारतकी प्रिय पात्र हुँदा हुँदै पनि उनको सत्ता जोगाउन भारतले प्रयास गरेको देखिएन । भारतले ग्लानी सहेर भएपनि यस मामलामा हस्तक्षेप नगरी “छिमेकी पहिला”कै नीति अवलम्बन गरेको हो भन्ने तर्क बलियो छ । डा.आरजुले पाएको सम्मानमा यिनै कारणहरु निहित छन । यसमा धेरै उत्साहित हुन वा कुनै अन्यौल वा भ्रम लिएर हिड्न आबश्यक देखिदैन । यदि भारतकै कारणले नेपालमा समस्यामा परिरहेका परियोजनाहरुको बाटो खोलिदिएको भए, बौद्धिक समुहले तयार पारेको सम्बन्ध सुधारको रिपोर्ट बुझिदिएको भए मात्र दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले उचाई थपेको मान्न सकिन्थ्यो । तब मात्र भ्रमण फलदायी भएको टिप्पणी गर्नु उपयुक्त ठानिन्छ ।
प्रतिक्रिया