दुबईमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस मनायो

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ भदौ १ गते १५:३४ मा प्रकाशित

दुबई । गएको ११ अगष्ट आईतबारका दिन दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूसाहरुको प्रदर्शन र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा सम्पन्न गरेको छ । विगतमा जस्तै यसपालि पनि ११ वटा जातिय संस्थाहरुको प्रतिनिधित्व गरेको संस्था नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर दिनबन्धु सुवेदी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरु रहेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण जातिय सांस्कृतिक झांकी प्रदर्शन, जातिय विभिन्न खानपानका परिकारहरुको स्टल, जातिय भेष भूसाहरुको स्टल र पूराना बस्तुहरुको प्रदर्शन रहेको थियो । प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष र अतिथिहरुले विभिन्न जातिय स्टलहरुमा अवलोकंन गर्दै स्टलमा प्रदर्शन गरिएका सरसामान र खानपानका बारेमा जिज्ञासा लिएका थिए । साथै अतिथि तथा सम्पूर्ण दर्शकहरुले जातिय विभिन्न परिकारका खानाको स्वादको आनन्द लिएको प्रत्यक्ष देख्न सकिन्थ्यो । एकातिर जातिय सांगीतिक रमझम रहेको थियो भने अर्कोतिर जातिय खानपानको अलगै स्वादको संसार चलेको थियो । कार्यक्रममा बिशेष गरि विभिन्न जातिय जीवन शैलीलाई चित्रण गरिएको पाईन्छ ।

स्थानीय कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरुसंगै मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा जम्मा ९ वटा संस्थाहरुबाट सहभागिता जनाएको थियो । हरेक संस्थाबाट एकजना मिस्टर र एकजना मिस गरि जम्मा १८ जना कन्टेस्टेन्ट सहभागी थिए । जस्मा मिस इन्डिजिनियस युएई–२०२४ का लागि शेर्पा किदुक युएईबाट टासी डोल्मा शेर्पाले हात पार्नमा सफल भएकी छिन् भने मिस्टर इन्डिजिनियस युएई–२०२४ का लागि नेपाल मगर संघ शाखा युएईबाट होम रजाली मगरको भागमा परेको छ । दुबैजना विजेतालाई उपस्थित सबैले शुभकामना दिएको थियो ।

प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष लगायत अतिथिहरुको संयुक्त दीप प्रज्योजन गरि उद्घाट्न भएको कार्यक्रममा कार्यक्रम संयोजक सुरेन्द्र लामाको शुभकामना मन्तव्य रहेको थियो । दुई चरणमा विभाजित गरिएको पहिलो चरणको औपचारिक कार्यक्रमलाई सोही महासंघका महासचिव डि के किरांतीले संचालन गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमलाई मनिषा लिम्बु र रोहित तामाङले संयुक्त रुपमा संचालन गरेका थिए । कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाईन टिभीले जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया