अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्ट आज अगस्त १४ बुधबारका दिन अर्थात् १४ औ दिन सम्म पनि फेला परेकी छैनन् । ममता काफ्लेको लागि खोजीमा मनासस पार्क प्रहरीले १६ घन्टा सम्म काम गरि रहेको प्रहरीले बताएको छ ।
आज अगस्त १४ बुधवारका दिन बिहान डिसी क्षेत्रकै स्थानिय राजनितिज्ञ ,पूर्व अमेरिकी सेना तथा पूर्व प्रहरी समेत रहेका एड्रियन पोखरेलले प्रहरीसँग कुरा गर्दा १६ घण्टा सम्म काम गरि रहेको प्रहरीले बताएका छन् । साथै नेपाली समुदायले आयोजना गरि रहेको क्रियाकलाप प्रति कृतज्ञता व्यक्त गरेको छ ।
एड्रियनले मनासस पार्क प्रहरीसँगकुरा गरे पछि त्यही बाहिरबाट गाडी मै बसेर lets speak up for Mamta kafle नामक सामाजिक संजाल समूहमा बिहान भेट्ने बित्तिकै उक्त कुराको जानकारी दिएका थिए । उनले प्रहरीले राम्रो काम गरि रहेको समेत समूहमा सन्देश राखेका छन् ।
आज दिउसो पनि मनासस पार्क प्रहरी बिभाग अगाडी सबै समुदायका व्यक्तिहरु ,संचार माध्यम ,ममताका साथीहरु ,स्वास्थ्यकर्मी ,शुभ चिन्तक ,बिभिन्न संघ/संस्थाका प्रतिनिधि,स्थानीय नेतृत्ववर्ग ,समाज सेवी ,भर्जिनिया राज्यका लागि राज्य सिनेटर ड्यानिका रोम लगायतको बिशेष उपस्थिति रहेको थियो ।
सिनेटर ड्यानिका रोम लगायत भर्जिनियाका सांसद ,राज्य सिनेटर तथा अमेरिकी सिनेटरहरुलाई एड्रियन पोखरेलले सम्पर्क गरि रहेका छन् भने उनले ड्यानिकालाई बोलाएका थिए । त्यस्तै अर्का राज्य सिनेटर सुहास सुब्रमन्यमलाई समेत खबर गरिएको र उनले ममताको सूचना सामाजिक संजालमा राखेको एड्रियनले ईनेप्लिजलाई बताए ।
मनासस पार्क प्रहरी अगाडी शान्तिपूर्ण भेलामा सिनेटर ड्यानिका रोम ,राजनीतिज्ञ एड्रियन पोखरेल, ममताका श्रीमान नरेश भट्ट ,समाजसेवी प्रभा भट्टराई देउजा लगायतले बोलेका थिए ।
ममताका श्रीमान नरेश भट्टले समुदायलाई धन्यवाद समेत दिएका थिए । एड्रियनको माध्यमबाट फक्स न्यूजसँग नरेश भट्ट र एड्रियन पोखरेलले अन्तर्वार्ता दिएका छन् ।
नरेश स्वयम ११ महिनाकी छोरी लिएर चौकीमा आएका थिए । गत अगस्त १३ का दिन एड्रियन सहित नेपाली मूलका पूर्व अमेरिकी सैनिकहरु (भेटरन )हरु नरेश भट्टको घरमा भेला भएका थिए । कुराकानी गर्ने क्रममा एड्रियनका अनुसार नरेश भट्टले ममताको राहदानी (पासपोर्ट )र ग्रिनकार्ड (स्थायी आवासीय पत्र )पनि घरमा नभेटिएको बताए ।
साथै २-४ वटा लुगा र चप्पल पनि नभएको एड्रियनलाई नरेशले जानकारी दिए तर उनले ममताले शायद काम ( वर्क) मा आवश्यक पर्ने हुनाले कार्यस्थल(काम)मा जॅादा आफ्नो झोला( व्याग) मा राखेको हुन सक्ने बताए। घरमा हेर्दा नदेखिएको बताए।
आज पनि ब्यापक रुपमा स्थलगत रुपमा स्थानीय संचार माध्यम ,मनासस पार्क प्रहरीले व्यापक रुपमा नेपाली समुदायहरु सहित ममताको खोजीमा लागेका छन् । १४ औ दिन सम्म यत्र तत्र सर्वत्र उनको खोजी भै रहेको छ भने अरु समुदायहरु पनि उनको खोजीमा सहभागिता जनाउन थालेका छन् ।
उनको समर्थन र खोज गर्न सामाजिक संजालमा व्यापक प्रचार भै रहेको छ । नेपाली समुदायका संचार माध्यम लगायत अमेरिकी मूलधारका संचार माध्यम फक्सन्यूज ,एबिसी७ ,एनबिसी ४ ,डब्लुटिओपि ,लगायत थुप्रै स्थानीय पत्रपत्रिकाले प्राथमिकताको साथमा ममता बेपत्ता भएको समाचारहरु निरन्तर प्रकाशित भै रहेका छन् । ममतालाई खोज्न र सुरक्षित र सकुशल रुपमा घर फर्काउन नेपाली समुदायले ऐक्यबद्धता जनाउदै भेला भै खोज तलास गर्न सबैलाई आह्वान गरेका छन् । सामाजिक संजालमा जताततै ममता बेपत्ता भएको सूचना अत्यधिक रुपमा प्रचार प्रसार गरिएको छ ।
अगस्त १४ बुधबारका दिन समेत ममताको अनुसन्धान गरि रहेको मनासस पार्क प्रहरी चौकी अगाडी शान्तिपूर्वक भेलाको आयोजना गरियो । उक्त भेला चौकी अगाडी नै भेला भएका सबै समुदायले ऐक्यबद्धता जनाएका छन् । सहभागीहरुले ममताको बारेमा बिभिन्न प्रचार सामग्री (ब्यानर)बोक्दै प्रहरी चौकीलाई दबाबको साथै शीघ्र खोज गर्न आह्वान गरे ।
यो कार्य निरन्तर हुने जनाईएको छ । जब सम्म ममतालाई भेटिदैन दैनिक रुपमा प्रहरी विभागलाई दबाव दिन र छिटो भन्दा छिटो ममतालाई पत्ता लगाउन भेलाको आयोजना गरिने तय गरिएको छ ।
ममता काफ्ले गत अगस्त १ देखि हराई रहेकी छिन्। लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट(lets Speak Up For Mamta Kafle Bhatta )भन्ने सामाजिक संजाल समूह निर्माण गरिएको छ । ममता बेपत्ता भए देखि यसै समूह मार्फत सबैले आआफ्ना कुराहरु राखी रहेका छन् ।
प्रतिक्रिया