रौतहट÷जब कसैले निस्वार्थ काम गर्दछन् तब तिनको प्रशंसा हुन्छ र जब कसैले परमार्थ काम गर्दछन् तब उनलाई समाजले सम्मान गर्दछ । यस्तै, आफू कार्यरत विद्यालयमा निरन्तर निजी सम्पत्ति लगानी गर्दै आएका रौतहटमा एक जना प्रअलाई समाजले खुलेर सम्मान गरेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित उचिडिहस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहालाई समुदायले नै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दा कुशवाहा अत्यन्त भावुक भए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी दिएर जान पाऊँ ।
आफू विद्यालयमा शिक्षकको रुपमा हाजिर हुन आउँदा विद्यालयको कार्यालयमा हाजिरी रजिस्टरसमेत राख्ने अवस्था नरहेको सम्झँदै प्रअ कुशवाहाले भने – म तत्कालीन हेड सरको घरमा गएर नै विद्यालयको हाजिरी रजिस्टरमा हाजिरी गरेको हुँ ।
विद्यालयलाई एक कट्टा सात धुर घडेरीको जमिन उपलब्ध गराएको कारण समुदायले प्रअ कुशवाहालाई सम्मानित गरेको हो । प्रअ कुशवाहाले आफ्नो निजी लगानीमा गाउँको बिचमा रहेको विद्यालयमा एक कट्टा सात धुर जमिन किनिदिएर विद्यालयको नाममा पास गरिदिएका छन् । अहिले विद्यालय भवन बनिरहेको छ ।
पहिले सात धुर जमिन किनि दिएका थिए । त्यसमा एउटा ट्रस्ट बनिसकेको छ । केही समय पहिले एक कट्ठा जमिन किनिदिएका छन् । अहिले किनेको जमिन आठ लाखभन्दा बढी मूल्यको भएको स्थानीयहरु बताउँछन् । संयोग यस्तो बन्यो – प्रअ कुशवाहाले विद्यालयलाई किनिदिएको जमिनमा बनेको ट्रस्ट भवनमै जनसमुदायले दर्जनौँ गमछा, दर्जनौँ माला र हजारौँ शुभकामना दिएर सम्मानित गरे ।
प्रअ कुशवाहा भन्छन् – विद्यालयको प्रांगणमा म आफ्नै लगानीमा सरस्वती मन्दिरको निर्माण गराउँछ । आगामी केही दिनमै मन्दिरको शिलान्यास गरिने प्रअ कुशवाहाले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसै गरी विद्यालयलाई कक्षोन्नति गर्दै माध्यमिक तहसम्म पु¥याउने आफ्नो चाहना रहेको प्रअ कुशवाहाको भनाइ छ । विद्यालयमा भवन पूरा गरिदिने तथा अन्य सुविधाहरुले पनि विद्यालयलाई सम्पन्न गरेर माध्यमिक तहसम्म विद्यालय संचालन गरेपछि समाजले भनेजस्तै आफूले गर्न तयार रहेको प्रअ कुशवाहाको भनाइ छ ।
प्रअ कुशवाहालाई देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले सम्मानित गर्दै प्रशंसा गरेका छन् । विद्यालयमा विभिन्न किसिमको राजनीति हुने गरेको र सकारात्मक कामलाई पनि केही मानिसले प्रभावित गर्न खोजेको बताउँदै नगर प्रमुख साहले सबै किसिमको नकारात्मक विचारलाई चिर्दै विद्यालय सही किसिमले संचालन भएको र विद्यालयले जग्गा प्राप्त गरेको बताएका छन् । नगर प्रमुख साहले विद्यालयलाई जमिन दिने कुराको पनि विरोध भएकोतर्फ संकेत गरेका छन् । विद्यालयलाई निजी लगानीमा जमिन किनिदिएकोमा नगरपालिकाको तर्फबाट नगर प्रमुख साहले पहिले नै सम्मानित गरिसकेका छन् ।
प्रअ कुशवाहालाई भवन निर्माण समिति, पूर्व विद्यालय व्यवस्थापन समिति तथा स्थानीय रुपमा सक्रिय आम जनता पार्टी लगायत समुदायले सम्मानित गरेको हो । प्रअ कुशवाहालाई सम्मानित गर्दै स्थानीयबासीले निकै प्रशंसा गरेका छन् । विद्यालयमा जमिन दिन तथा विद्यालयको निर्माणमा आफूहरुले दिएको भन्दा धेरै बढी योगदान प्रअ कुशवाहाको रहेको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।
सम्मान ग्रहण गरेपछि प्रअ कुशवाहा खुसी भएका छन् । उनी भन्छन् – ममाथि अझ बढी दायित्व थपिएको छ ।
प्रतिक्रिया