गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ ।
नेकपा (माओवादी) केन्द्र संसदीय दलले देवकोटालाई कारवाही गरेको पत्र शुक्रबारको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाउनु भएपछि उहाँ पदमुक्त हुनुभएको हो ।
माओवादी केन्द्रको संसदीय दलले देवकोटालाई निष्काशन गरिएको पत्र प्रदेशसभा सचिवालयमा शुक्रबार पठाएको थियो । सभामुख धितालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजित दल त्याग गरेको सूचना प्राप्त हुन आएकाले देवकोटा पदमक्त भएको जानकारी प्रदेश सभालाई दिनुभएको हो ।
सर्वाेच्च अदालतको जेठ १६ गतेको परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले मङ्गलबार देवकोटालाई मन्त्री नियुक्त गर्नुभएको थियो । संविधानको धारा १६९ को १ ग बमोजिम संसद् नरहेपछि उहाँ पदमुक्त हुनुभएको छ ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित उहाँले जेठ २८ गते माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो
प्रतिक्रिया