नेपाली कांग्रेका नेता डा.शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैङ्क लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै उहाँले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा गरी आठवटा सरकार २३ पटक परिवर्तन भएको बताउनुभयो ।
वरिष्ठ नेता कोइरालाले भन्नुभयो, “राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हासिल गर्न सकिँदैन ।” मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने उहाँको भनाइ छ । वरिष्ठ नेता डा.कोइरालाले राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।” सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषय छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने बताउँदै वरिष्ठ नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारेसमेत पुनः विचार गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैङ्क लिमिटेडको भविष्य उज्ज्वल रहेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले केही वर्षअघिसम्म पुरानो ढर्राबाट सञ्चालित नेपाल बैङ्क लिमिटेडले पछिल्लो समय अत्याधुनिक र समयसापेक्ष प्रविधिसहित सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउन सफल भएको प्रतिक्रिया दिनुभयो
प्रतिक्रिया