र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा, खुल्यो अडिसन

इनेप्लिज २०८१ जेठ ११ गते ११:२६ मा प्रकाशित

चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल WHATSAPP NUMBER 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

‘नेपहपको श्रीपेच’को पहिलो संस्करण लगभग २ वर्ष पहिले सम्पन्न भएको थियो । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले बाजी मारेका थिए भने सह-विजेताका रूपमा जेनिश क्षेत्रीले आफ्नो नाम लेखाएर दुबई, अस्ट्रेलिया साथै नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच -२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने निर्देशकमा निकेश खड्का रहने तय भएको छ । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ “दोङ” रहनेछन् । काठमान्डौका मेयर समेत रहेका बालेन भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदिप पोख्रेलले बताए ।  

त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाउने छिन् भने ब्रोड्कास्टिङ्ग पार्टनरको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ । कार्यक्रम असारको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ ।  

प्रतिक्रिया