सत्यम्,शिवम्,सुन्दरम् !

सीता ओझा महिला अध्ययन केन्द्र २०८१ जेठ ९ गते १०:३१ मा प्रकाशित

सत्यम,शिवम र सुन्दरम शब्द मानिसले हजारौं पटक सुनेको र बोलेको हुन्छ । यसरी हजारौं पटक सुनेको र बोलेको शव्दको वास्तविकता पत्तालगाउन र परिभाषा गर्न सकिन्छ कि सकिदैन – भन्ने विषयमा चर्चा गर्न अति आवश्यक छ । मानवजातीले आफूले नित्य बोलेका र सुनेका कतिपय कुरा यतिकै,नजानी,नबुझी नै बोल्ने र प्रयोग गर्ने गर्छौ भने कतिपय कुरा सदियौंदेखि गर्दै आएको कारण अर्थै नबुझी परिभाषित गरिदिन्छौं । यसो गर्दा सत्य लुक्न जान्छ र पछिल्लो पुस्ता भ्रममा पर्दै व्यवहारमा असत्य ( तथ्यहिन ) बाटोतिर लाग्ने खतरा बढ्ने अवस्था आएको छ । कालान्तरसम्म यसरी चल्दै जाँदा शास्त्रहरूको (धार्मिक शास्त्रहरू बौद्ध, वैदिक आदि सबै दर्शन र सिद्धान्तहरू) महत्त्व र आकर्षण घट्दै जाने खतरा हुन्छ । ज्ञान या चैतन्य विकासमा अवरोध भएको अवस्थामा यसको महत्त्व या आकर्षण घट्नु स्वाभाविक ह‍ोला । तर ज्ञान या चैतन्य नै लोप गराउनेतिर गइयो भने धार्मिक विषय र सांस्कृतिक विषयमा असन्तुलन हुन जान्छ । त्यो असन्तुलनले हाम्रो पहिचान र अस्तित्व नै लोप हुनसक्छ । त्यसैले पौरत्स्य आलोकका ज्ञानको खोजी गर्न जरूरी देखिन्छ । पौरत्स्य आलोकका दर्शनले सत्यम,शिवम र सुन्दरमको व्याख्याभित्र धेरै विषयलाई निष्ठाका रूपमा सत्कर्मको मार्ग भनेर जोडिदिएको देखिन्छ ।एक पटक सत्यम,शिवम र सुन्दरमको अर्थको विश्लेषण गरौं !

सत्यमको अर्थ इश्वर ( सत्य ) शिवमको अर्थ शिव र सुन्दरमको अर्थ कला हो । अर्थात शिवमा भएको अदभूत कला र ज्ञानको श्रोत नै इश्वरको स्वरूप हो भन्ने अर्थ लगाउदा अनुपयुक्त नहोला ।यस्तो अर्थबाट हेर्ने हो भने शिवमा योग,ध्याज,तप,जप,तन्त्र ,मन्त्र सहितको शान्तिको श्रोत मानिएको पाइन्छ ।

वेद,उपनिषद् तथा पुराणहरूमा सत्यम,शिवम् र सुन्दरमको व्याख्या र महिमा कसरी गरिएको छ त ?
सत्यम : योगको अर्को अङ्ग नै सत्य हो । हिन्दु धर्म अनुसार ब्रह्म नै सत्य हो । ब्रह्म ( आफू)ले परमेश्वर बाहेक सबैको बारेमा बताउन सक्छ / जानेको हुन्छ ।व्यक्तिले जीवन पर्यन्त सारा जीवन भ्रममा बिताउछ । ब्रह्म निराकार,निर्विकार र निर्गुण हुन्छ । ब्रह्म बुझ्ने विकल्प पनि आफैं हो अर्थात आत्माले मात्रै इश्वरीय ज्ञानप्राप्त गर्न सक्छ । –

” आत्मा नै सत्य हो,जुन अजर,अमर ,निर्विकार र निर्गुण “

हुने गर्दछ भनिएको छ । शरीरभित्र भएको त्यो सत्यको पहिचान गर्न नसक्नु नै मानिसको भुल हो भनिएकोछ ।
” सत( ईश्वर ) एक हुन्छ । त्यसलाई इन्द्र,वरूण/ अग्नि आदि नामाकरणले पुकारिन्छ । – ऋग्वेद
” जो सर्वप्रथम ईश्वर इहलोक अथवा परलोकमा फरकफरक स्वरूपमा देखिन्छन । त्यो मृत्युदेखि मृत्युसम्म हुन्छ अर्थात बारम्बार जन्म र मरणको चक्रमार्गमा फसेको हुन्छ ।”

  • कठोपनिषद – ।।१०।।

सत्यको अलौकिक अर्थ : सत्य वचन मनुष्यलाई सम्झन कठिन हुन्छ तर सत्यको लागि धर्म र शास्त्रले सरल ढङ्गले ब्याख्या गरेको छ ।आम मानिसले सत्यका बारेमा जान्नु भनेको सत्य बोल्नु हो। सत्य शब्द सत् र तत् धातु मिलेर बनेको हुन्छ/ हो । त्यसैकारण सत्यको अर्थ परआत्माको सर्वव्यापी / जगतभर आत्माको जालोको रूपमा फैलिएको हुन्छ भनेर मानिएको/ ठानिएको छ ।

सत्यको अलौकिक अर्थ : सत्य सम्झन नै कठिन छ र मानिन्छ । धर्म र दर्शनसगँ जोडिएको कठिन विषय भएकोले बुझ्न पनि कठिन छ भनिएको हो ।सत्य इश्वरले बाहेक अरूले पहिचान गर्न नसकिने रहस्यको विषय हो भनेर ब्याख्या गरियो । यसको अर्थ यो र त्यो हो । सत्य एक तर्फि हुदैन त्यसैले यो र त्यो दुबै ईश्वरीय अंश हुन ।

जीवन,संसार र मन एक अर्कामा विरोधी छन् । यहि विरोधभित्र लुकेको स्थितप्रज्ञ आत्मा र ईश्वर हो । सत्यलाई चिन्न तर्कशक्ति,बुद्धि र बोध गम्य क्षमताको ज्ञान हुनु जरूरी छ । तर्क र बुद्धिको कसरतले द्वन्द र दुविधाको अन्त्य हुन्छ भन्ने अर्थमा पनि सत्यको व्याख्या गरेको भेटिन्छ ।

शास्त्रमा आत्मा,परआत्मा,प्रेम र धर्मलई नै सत्य मानेको पनि भेटिन्छ । संसार / चराचर जगतमा सत्य भन्दा ठूलो केही छैन । सत्यको साथले नै मानवको दुख पीडा हटेर मन हल्का,शरीर स्वास्थ र चित्त प्रसन्न गराउछ साथै सत्यको उपयोगिताले विचारको विमर्श र क्षमताको प्रयोग गर्न सहयोग गर्दछ , भनिएको छ । अर्थात सत चित आनन्दको प्राप्ति हुन्छ भनिएको छ ।

” सत चित आनन्द ” को अर्थ : सत् अर्थात मुल कण या तत्व,चित्त अर्थात आत्मा र आनन्दको अर्थ प्रकृति र आत्माको मिलनबाट उत्पन्न अनुभुती हो / शुद्ध आत्माको अनुभव/ सकारात्मक अनुभव !परात्मा र आत्मा / अरूको भावना र आफ्नो भावनाको सम्मान नै सत्य हो । आत्मा सत सत्य र चित चितको एकाग्रताले प्राप्त गर्ने आनन्दको महसुस गर्नु नै ” सत चित आनन्द (सतचितानन्द) प्राप्त ” गर्नु हो । भनिएको छ ।

सत्यको लौकिक अर्थ : सत्य बुझ्न कठिन छ।ईश्वर नै सत्य हो।सत्य बोल्नु ,बताउनु र समर्थन गर्नु सत्य हो।सत्य सम्झनु,सम्झाउनु र आचरणमा सत्य देखाउनु नै सत्यको लौकिक अर्थ हो तर मानिसको भौतिक वस्तुप्रतिको मोह,पारिवारिक सुख र गृहस्थको कारण सत्य बोल्न,बोलाउन र व्यवहारमा देखाउन कठिन छ । यहि कठिनाइले मानिसलाई अर्धमी / पापी ( झुट) बनाइ रहेको छ – त्यहीँ असत्यको बारेमा बुझेपछि मानिसले सत्य खोज्ने विषयलाई ज्ञान / बोधको रूपमा मानिएको भेटिन्छ ।

सत्यको व्यवहारीक पक्ष कठिन भएको कारण मानिस सत्य भन्दा टाढा बस्छ । असत्यको वकालत गर्ने मानिसमा आफैंभित्र भ्रम र द्वन्द हुन्छ । आफुभित्र प्रवेश गरेको भ्रम र द्वन्दले अशान्ति उत्पन्न गराउछ र मानिस रोगी हुन जान्छ । मानिसको मन रोगी भएपछि शरीरमा रोग लाग्छ । रोगले धन र मन दुबैलाई विस्तारै सिद्धयाउछ । त्यसैले मानिसले सत्य र सतचरित्रको अनुसरण गर्नु पर्दछ । त्यो अरूको लागि,अरूलाई देखाउनको लागि हैन् आफुमा रहेको भ्रम र द्वन्दको अन्त्य गर्दै चैतन्यलाई बलियो बनाउनको लागि सतमार्गमा लाग्नुपर्छ भन्न खोजिएको छ र हो ।

सत् र तत् धातु मिलेर सत्य शब्द बनेको हो । यसको अर्थ हो यहाँ, वहाँ र जहाँ पनि छ भनेर सत्यको पक्षमा उभिनु नै परम सत्य हो – अर्थात सत्य एकलौटी हुदैन भन्न खोजीएको छ । कुनै वस्तुको छाँयालाई वस्तु मान्नु सत्य होइन ।वस्तु नै भेट्नु या देख्नु मात्रा सत्य हो । त्यसैले सत्य खोज्दा भ्रम उत्पन्न हुनु हुदैन – सत्यको खोजको लागि तर्क र सत्य वचनमा टेकेर मात्रै गर्नु पर्ने हुन्छ । सुख र दुखलाई जीवनको सत्य मान्नु भुल हो। सत्य वचन र व्यवहारले सिकाएको अनुभवले आचरणमा शुद्धिकरण गर्दछ ।आचरणको शुद्धतासगँ आत्मबल बलियो बनाउने शक्ति हुन्छ र मनका विकारहरू बाहिरीन सहयोग पुग्छ । – भनिएको छ ।

शिवम : शिवम शब्द प्राय महादेवसगँ जोडिएर आउने गर्छ । शिवमको अर्थलाई शिवसगँ जोड्नु हुदैन । यसको अर्थ हो ; निराकार, निरञ्जन ,निर्गुण र अमुर्त सत्य हो । शिवम शुभ,सत्य र राम्रो भन्ने अर्थ जोडिएको मानव कलाको र सुन्दरता भन्ने अर्थ जोडिएको शब्दमा हो । सत्यम,शिवमको प्राप्ति / ज्ञान/ ध्यान एकाग्रताबाट प्राप्त हुने चरम आनन्द/ सुखको अनुभूति नै शिवम हो ।- भनेर हाम्रा आध्यात्मिक दर्शनहरूमा लेखेको भेटिन्छ ।

सत्यम,शिवम,सुन्दरमको आध्यात्मिक परिभाषाभित्र परेका सयौंको,हजारौं सत्यलाई छोडेर हामीले सामाजिक पछौटेपनका अवशेषहरूलाई अझै अवलम्बन गर्दै धर्म ,संस्कार धारण गर्ने र संस्कृतिसगँ जोडिरहेका छौ । यस्तो दार्शनिक पक्षसँग विज्ञान जोडिएको हुन्छ । तर हामी त्यहाँको विज्ञान नखोजी हाम्रो व्यवहारआडम्बरले भिजाउँछौं । अझै नपुगेर हामी सत्य र तथ्य छोडेर अनेकौं अन्धविश्वास र रूडताले हाम्रो चिन्तन र विचारलाई रूग्ण बनारहेका छौ । सत्यम,शिवम र सुन्दरमको अर्थ तोडेर समाजलाई विभेदकारी व्यवहार,लोभ र मोहको चक्रमा रूमल्न खोज्दै छौ । त्यही विकारले जिर्ण व्यवहार गर्दैछौं। हामीले मान्ने हरेक धर्म,संस्कृति र संस्कारहरूलाई तथ्यको आधारमा सत्य व्यवहार गर्न सकुन्नु पर्दछ भने पौरत्स्य दर्शनको आलोकको त्यो प्रकाश हराउने / मेटाउने दिशामा लिन छौँ ।यस्ता विषयमा सम्बन्धित निकायहरूको ध्यान जानु जरूरी देखिन्छ ।

यो साउन महिनालाई विशेशगरि शिवको महिना मानिन्छ । शिवलाई सम्झदा अन्धकार मात्रै बुझ्नेहरुले अन्धकारभित्र रहेको ज्ञान,ध्यान,योग,तप,जप र वैराग्य सम्झन सक्नु पर्दछ । शिवम शब्दभित्रको ज्ञान,ज्ञानभित्रको परिभाषा केलाउन सक्यो भने शिव त्यहिँ भित्र भेट्न सकिन्छ ।त्यो विषय भन्दा बाहिर गएर सत्यम,शिवम् , सुन्दरमलाई परिभाषित गर्न खोज्दा शिवमको रूप विग्रिएर भाँङ,धतुरो,सोमरस चटाउने जटाधारी, अघोरी शिव हुन पुग्छ ।त्यसैले जे गर्ने हो या गरिन्छ त्यो विषयलाई गहिरो अध्ययन,चिन्तन र मनन् गरेर लागू गर्न सक्यो भने उत्तम हुने कुरा पौरत्स्य दर्शनबाट प्राप्त गर्न सकिन्छ । सनातन धर्म र सनातन धर्मभित्रका कर्ममा नै सत्य र ज्ञानका सयौं उपाय बताइएको छ।त्यो बुझ्न मानिसको चेत र चैतन्य खुल्नु आवश्यक छ ।

सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र

प्रतिक्रिया