स्वस्तिका सिम्खडाको बिसौँ जन्मजयन्ती भव्यतापूर्वक सम्पन्न

इनेप्लिज २०८१ वैशाख १८ गते २१:१६ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिको स्रष्टा साँझ अमेरिकाद्वारा आयोजित दिवंगत स्रष्टा स्वस्तिका सिम्खडाद्वारा रचित ‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहको पाण्डुलिपीउपर परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

उनको बिसौं जन्म जयन्तीको अवसर पारेर २०८१ बैशाख १६ गते साँझ ६ः१५ बजेदेखि जुम र फेसबुक लाइभमार्फत उक्त कार्यक्रम गरेको हो । खेमराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी रिजाल, ममता मृदुल, रमेशमोहन अधिकारी, टङ्क बहादुर आलेमगर, रमेन्द्र कोइराला, मनोहर पोखरेल, नन्दलाल आचार्य, धीरकुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, खेमराज पोखरेल, मीना साह (एन्जल निलु) ले स्वस्तिका सिम्खडाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

‘प्राणप्रतिष्ठा’का आधारमा स्वस्तिका सिम्खडाको कथाकारिता विषयमा खेमराज पोखरेलले चर्चा गरेका थिए । डा. कुसुमाकर शर्मा गौतमले भने ‘प्राणप्रतिष्ठा’ कृतिको शल्यक्रिया विषयमा बोलेका थिए । धीरकुमार श्रेष्ठ ‘प्राणप्रतिष्ठा’उपर दृष्टिप्रक्षेपण शीर्षकमा आफ्ना भनाइ राखेका थिए । त्यस्तै ‘प्राणप्रतिष्ठा’मा नारी चेतना विषयमा ममता मृदुलले आफ्नो बुझाइ पस्केकी थिइन् । रमेशमोहन अधिकारीले भने ‘प्राणप्रतिष्ठा’ भित्रको बुढ्यौली साहित्यको लेखाजोखा गरेका थिए । टङ्क बहादुर आलेमगर स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मानको चर्चा गरेका थिए । रमेन्द्र कोइराला ‘प्राणप्रतिष्ठा’ कृतिका सुधारात्मक पक्ष केलाएका थिए । मनोहर पोखरेलले स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान २०८१ लघुकथा प्रतिष्ठान, नेपालकी प्रस्तोता तथा मधेस प्रदेसकी उम्दा नारी लघुकथाकार मीना साह (एन्जल निलु) लाई प्रदान गरिने कुरा घोषणा गरेका थिए । ‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक समेत रहेकी लक्ष्मी रिजालले सम्पादकीय धारणा व्यक्त गरेकी थिइन् । नन्दलाल आचार्यले स्वस्तिका सिम्खडाको व्यक्तित्व बारे केही कुराहरू राखेका थिए । अन्त्यमा सम्मानित स्रष्टा मीना साह (एन्जल निलु) ले स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान–२०८१ प्राप्त गरेपछि प्रतिक्रियात्मक मन्तव्य राखेकी थिइन् । विश्वराज अधिकारीद्वारा सञ्चालित उक्त कार्यक्रम दुई घण्टासम्म चलेको थियो । संसारभरका सयौं दर्शकस्रोताले लाइभ कार्यक्रम हेरेसुनेका थिए ।

प्रस्तुत छ– उक्त अवसरमा ‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक लक्ष्मी रिजालद्वारा व्यक्त विचारको सम्पादित अंश । धन्यवाद, विश्वराज अधिकारी सर । नमस्कार, ‘प्राणप्रतिष्ठा लघुकथाकृतिको परिचर्चा कार्यक्रम’का सभाध्यक्षज्यू, अतिथिज्यूहरु, परिचर्चाकारज्यू, जुम र फेसबुक लाइभ हेर्नेसुन्ने महानुभावहरू साथै पछि अफलाइनमा सुन्नुहुने सम्पूर्ण अग्रज, समकालीन र अनुज वर्गमा म लक्ष्मी रिजालको हार्दिक नमस्कार र स्वागत छ ।

स्वस्तिका सिम्खडाद्वारा लिखित ‘प्राणप्रतिष्ठा’ लघुकथाकृतिको परिचर्चा गर्ने क्रममा मैले ‘प्राणप्रतिष्ठा’ कृति सम्पादन गर्दाका अनुभूतिहरू भन्नुपर्ने भएको छ । अब म यसैमा केन्द्रित हुँदै छु ।

पुस्तक सम्पादन गर्नु र पुस्तक लेख्नु कुन सजिलो ? कसैले सोध्यो भने म त भन्छु पुस्तक लेख्नु धेरै सजिलो हो । किनभने लेख्दा आफ्नो सुर र शैलीले आफ्नो बुझाइ आफ्नै पाराले व्यक्त गर्न मिल्छ । जति रचना भयो उति मन प्रफुल्ल हुन्छ । आत्मसन्तुष्टि मिल्छ । तर सम्पादन गर्दा अर्काका शब्द र भावभङ्गीलाई छाँटकाँट गरेर पठनीय बनाउनुपर्छ । यसमा धुकचुक मन हुन्छ । लेखकको सोच र धारणा सम्बोधन भयो भएन भन्ने त्रास हुन्छ । लेखकले एउटा सोचले लेखेका कुरा सम्पादकलाई नजँचे त्यहीँ छाडिदिनुपर्दो रहेछ । यस्ता धेरै अप्ठ्यारासँग मैले जुधेर ‘प्राणप्रतिष्ठा’ कृति तयार हुन पुगेको हो ।

‘प्राणप्रतिष्ठा’ को परिवेशको साक्षी र भुक्तभोगी भएका कारण स्वस्तिकाको कलमी आवाजलाई मैले सहजै ठम्याउन सकेँ । अझै पनि कतिपय सर्जकका लागि प्राणप्रतिष्ठाका लघुकथा क्लिष्ट लाग्न सक्छन् । तर सबै कथा स्वस्तिकाकै जीवन वरपर हिँडेका छन् । यो लघुकथा कृति भनेर छापिँदै छ तर मलाई त कताकता उपन्यास जस्तो पनि लाग्छ । आत्मवृतान्त जस्तो पनि सुगन्ध आउँछ । कतिपय दैनिकी पनि हुन् कि भन्ने लाग्न सक्छ । पोथी गद्यको सुवास आउने केही कथाहरु पनि परेका छन् । तिनलाई लघुकथाको आयाममा ढाल्न मुटु मिचेर धेरै शब्दहरु तौलेर राख्ने कोशिस गरेकी छु । यहाँ भएका कमजोरी पक्ष मेरो सम्पादनको भूल हो ।
मरेर पनि जिउने कर्म गर्न सकिँने रहेछ । स्वस्तिकाका अक्षरहरु केलाउँदा यही बोध भयो । उनी लुकेर लेख्थिन् । लुकाएरै राख्थिन् । केही सिर्जना मात्रै प्रकाशन र प्रशारणमा आएका थिए । उनका अक्षर खोज्न हुटहुटी लगाइरहनुभयो नन्दलाल आचार्यले । पहिले त गाह्रो लाग्यो । साहित्यमा उनको दूरदृष्टि, मौलिक भावयुक्त शब्द र अग्र्यानिक चिन्तन भेट्दा बटुल्ने हैन पढ्ने मन गरेँ । पढ्दै जाँदा ३३ थुँगा फूलको बोट देखेँ । यसै कृतिले पनि स्वस्तिकाले यस धर्तीमा १९ वसन्त फुलाएको सार्थक हुने देखेर मेरी जेठी नातिनीलाई ‘प्राणप्रतिष्ठा’ गराउने महायज्ञ शुभारम्भ गरेकी हुँ ।

उनी पुग नपुग अढाई वर्ष गोलबजारमा हामीसँग बसेर कक्षा ११ र १२ पढिन् । आँखामा राखे पनि नबिझाउने व्यवहार थियो । लेखपढमा जोतिएर लाग्ने बानी थियो । साहित्य साधनामा जुधेको भने मैले त्यति भेटिनँ । लज्जालु बानी र हतपत नबोल्ने स्वभावले यदाकदा म आजित हुन्थेँ । जायज कुरा बोल्न नसके घाटा बेहोर्नुपर्छ भनेर सम्झाउन खोज्थेँ । मुसुक्क मुस्कुराएर मलाई नै भुतुक्क पार्थिन् । उनी साँच्चीकै दया र मायाकी प्रतिमूर्ति नै थिइन् । उनको यस बौद्धिक खेतीको व्याजले उनी युगौँयुग बाचून् । अल्पायुमै धर्ती छाडेर गइन् । दैवले राम्रा मान्छेलाई नै रोजेर लाँदो रहेछ । उनको जीवन हरभरा देख्ने चाहना अधुरै भयो । उनले पाउने दशैंको दक्षिणास्वरुप उनको बौद्धिक सम्पत्तिलाई पुस्तकको रुप दिने सौभाग्य मिल्यो । उनको आत्माले सदैव शान्ति भेटोस् । माहिली हजुरआमैको यही बन्दना छ नातिनी !

अन्तमा यत्रो भव्य र सभ्य कार्यक्रम सञ्चालन गरी स्वस्तिका सिम्खडाको बिसौँ जन्म जयन्ती मनाउने, उनको कृति ‘प्राणप्रतिष्ठा’को चर्चा गर्ने र उनको नामको ‘स्वस्तिका सिम्खडा स्मृति लघुकथा सम्मान–२०८१’ घोषणा गर्ने मञ्च दिलाउनुभएकोमा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद अमेरिका, नेपाली भाषा, साहित्य समिति, स्रष्टा साँझ अमेरिका परिवार र विशेष विश्वराज अधिकारी सर एवं परिचर्चाकार र स्रोतागणमा आभार व्यक्त गर्दै यस मञ्चबाट विदा हुन्छु । धन्यवाद ।

त्यसै गरी अब प्रस्तुत छ, स्वस्तिका सिम्खडाको व्यक्तित्व माथि प्रकाश पारेको नन्दलाल आचार्यको मन्तव्यको सम्पादित अंश–
फुटकर लेखनमा बामे सर्दै हामी बिच २०८० साउन २० गते अस्ताएकी स्वस्तिका सिम्खडाको बिसौं जन्म जयन्तीको अवसरमा आज २०८१ बैशाख १६ गते “स्रष्टा साँझ अमेरिका“द्वारा आयोजित “प्राणप्रतिष्ठा लघुकथाकृतिको पाण्डुलिपिउपर चर्चा” कार्यक्रमका सभाध्यक्षज्यू, व्यानरमा समाविष्ट विमर्शकर्ता महानुभावहरू तथा सञ्चालक विश्वराज अधिकारीलगायतका अग्रज एवं समकक्षी महानुभावहरूमा म नन्दलाल आचार्यको सादर नमस्कार छ ।

आज म नवोदित स्रष्टा स्वस्तिका सिम्खडाको व्यक्तितब बारे एकाध कुराहरू सार्वजनिक गर्न उपस्थित छु र अनुमति चाहन्छु ।

स्वस्तिका सिम्खडा नपत्याउने खोला हुन् । उनीभित्र भिन्न दृष्टिकोण थियो । हरेक चिजबिज र परिस्थितिलाई हेर्ने अलग्गै सोच थियोे । उनको एउटै मात्रै कमजोरी थियो, त्यो हो– आफ्ना कुरा मनमै पकाएर राख्ने । मौकामा सार्वजनिक नगर्ने र परिस्थितिले धेरै चिमटेमा एकै पटक विस्फोट गर्ने बानी थियो । यस हिसाबले उनको जीवनशैली नै लघुकथा सिद्धान्तबाट बनेको थियोे । मेरै उक्साहटमा उनले लघुकथा लेखेर सार्वजनिक गर्ने गरेकी थिइन् । मधुर स्वरकी धनी स्वस्तिकाको स्वरमा मेरो कथाकृति ‘शल्यक्रिया’ का दर्जन अधिक कथाहरू रेकर्ड भएका थिए । लघुकथा प्रतिष्ठान नेपालका दैनिक कार्यक्रमका केही श्रृङखलामा उनको स्वर छ । धेरै कुरा बुझ्ने, राम्रा अक्षर बनाउने र विनम्र मनोदशामा प्रस्तुत हुने उनको स्वभावले संगत गर्ने सबैलाई मोहित बनाउँथ्यो । पिताश्री छविलाल सिम्खडा र माताश्री हिरा आचार्य सिम्खडाकी ज्येष्ठ सुपुत्रीका रूपमा बेलका २, भागलपुर, उदयपुरमा जन्मेकी स्वस्तिकाले थुप्रै कुराहरू लेखेकी थिइन् । उनको निवासमा पुगेका पाण्डुलिपी कतिपय जलाइए, कतिपय बाँकी नै होलान् । यहाँ गोलबजारमा रहेका डायरी र कापी तथा पूर्व सार्वजनिक लघुकथा जम्मा पारी लक्ष्मी रिजालको सामान्य सम्पादनमा ‘प्राणप्रतिष्ठा’ नामक कृति प्रकाशित हुनै लागेको छ । नाताले उनी हाम्री नातिनी भएकीले यो हाम्रो परिवारका लागि खुशी र गौरवको विषय हो । बिसौं जन्म जयन्तीको अवसरमा उनको नामको पुरस्कार प्राप्त गर्ने नवोदित नारी लघुकथाकारको घोषणा हुनु र विज्ञ महानुभावबाट उनको व्यक्तित्व र कृतित्वमा चर्चा हुनु आफैंमा बन्दनीय कार्य हो । यस महान् कार्यमा सघाउने सम्पूर्ण महानुभावहरू प्रति कृतज्ञता ज्ञापन गर्दै म आफ्नो भनाइलाई यही बिट मार्छु । हाम्री नातिनी स्वस्तिका परलोकमा पनि इहलोकमा जस्तै उसरी नै मुस्कुराई रहून् । यही चाहना र कामना गर्दछु । धन्यवाद ।

(२०८१ बैशाख १६ गते नन्दलाल आचार्यद्वारा जुम र फेसबुक लाइभ कार्यक्रममा प्रस्तुत विचार ।)

प्रतिक्रिया