पुष्कर विश्वकर्माले एकल म्याराथन पूरा गरे

इनेप्लिज २०८१ वैशाख ६ गते ११:११ मा प्रकाशित

बर्दिया निवासी बर्ष ६५ का पुष्कर विश्वकर्माले २०८१ बैशाख ५ गते रामनवमीको दिन “वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पूरै रिङ्ग रोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गर्नुभयो । कलंकिबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलंकिमा समापन भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ज् का डिस्ट्रिक गभर्नर लायन शम्भु बहादुर थापाले उक्त म्याराथन शुरु गराउनुभएको थियो । उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलंकि वृतका प्रहरी नायव निरीक्षक श्री यम बहादुर थापाको नेतृत्वमा कुशल संयोजन गरिदिनुभएको थियो । म्याराथन शुरु हुनुभन्दा अगाडि आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले यो कार्यक्रम आयोजना गरिनुको उद्देश्यको बारेमा स्पष्ट पानुभयो । धावक श्री पुष्कर विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश समेत बाँड्नुभएको थियो । म्याराथन सम्पन्न पश्चात गभर्नर लायन शम्भु बहादुर थापाले धावकलाई यो साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाइ बधाइ तथा शुभकामना दिनुभयो ।

आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने कुरा आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया