खोटाङको हलेसी धाममा रामनवमी मेला सुरु

बेद प्रसाद घिमिरे २०८१ वैशाख ४ गते ११:३० मा प्रकाशित

वैशाख ४ गते । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो । यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो । “रामनवमीको अघिल्लो रात अर्थात आज बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेवलाई पहिर्याउने गरिन्छ”, उहाँले भन्नुभयो, “महादेवलाई गहना पहिर्याउने समयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसै पर्वको अवसरमा यस वर्ष मेला आयोजना गरिएकाले मन्दिरमा धेरै भक्तजनको घुइँचो लागेको छ ।” मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याएर आउना गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार रामनवमीका दिन सबैभन्दा बढी दर्शनार्थी यहाँ आउने भएकाले उनीहरुलाई सहजरुपमा पूजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ । राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएपछि यहाँ आउने अधिकांश दर्शनार्थीले आफैँले सवारीसाधन लिएर आउने गरेका उहाँले जानकारी दिनुभयो । पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन, मेलालाई व्यवस्थित र शान्तिपूर्णरुपमा सञ्चालन गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताउनुभयो । उहाँका अनुसार धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपासमा महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्वारलगायत द्वारहरु छन् । प्राकृतिक भू-बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । त्रिधार्मिक स्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसरमा लाग्ने मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया