सहकारी ठगीमा रवि लामिछानेविरुद्ध छानबिन समिति बनाउनेबारे ईश्वर पोखरेलको टिप्पणी : प्रश्न उठेपछि अडिट हुनको लागि तयार हुनुपर्छ (भिडिओसहित)

इनेप्लिज २०८१ वैशाख १ गते १०:५५ मा प्रकाशित

काठमाडौं, १ बैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरुमाथि प्रश्न उठेपछि अडिट हुनको लागि तयार हुनुपर्ने बताएका छन् । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरेको सन्दर्भमा एमाले नेता पोखरेलको यस्तो भनाई आएको हो ।

हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले लजिक र तथ्यको आधारमा प्रश्नहरु उठिसकेपछि यथोचित प्रक्रियाबाट छानबिन हुने कुरा स्वभाविक भएको प्रतिक्रिया दिए । उनले भने,‘यसमा डराउनुपर्ने जरुरी छैन् । मलाई ईण्डिपेण्डली भन्नुहुन्छ भने कुनैपनि लजिकको आधारमा र तथ्यको आधारमा प्रश्नहरु उठिसकेपछि यथोचित प्रक्रियाबाट छानबिन हुने कुरा अस्वभाविक होईन । डेमोक्रेटिक प्राक्टिसमा र डेमोक्रेसीमा यस्ता कुरा स्वभाविक नै मान्नुपर्छ । हामी सार्वजनिक ओहोदामा बसेका मान्छे, मन्त्री होउँला, सांसद होउँला या कुनै पदीय जिम्मेवारीमा होउँला । प्रश्नहरु उठ्यो, ठीक छ छिनोफानो भएको छैन् । प्रश्न उठेपछि अडिट हुनको लागि तयार हुनुपर्छ ।’

पोखरेलले आफूहरुलाई संसदीय छानबिन समिति बनाउन कुनै आपत्ति नभएको र बनाउन सकिने धारणा राखे । उनले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नहरुको बारेमा संसद्को रोष्ट्रममा उभिएर जवाफ दिन्छु भन्दा त्यो अवसर नदिईएकोमा आपत्ति जनाए ।

प्रतिक्रिया