बागमती प्रदेशका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुभएको छ

बेद प्रसाद घिमिरे २०८० चैत २० गते ९:४१ मा प्रकाशित

२०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त जम्कट्टेलले सोमबार तेस्रोपटक विश्वासको मत लिनुभएको हो । पहिलोपटक १ सय ५ र दोस्रो पटक ६७ मात पाउनुभएका उहाँले तेस्रोपटकमा भने न्यूनतम् मत पाउनुभएको छ।

उहाँलाई सोमबार आफ्नै दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ मध्ये १ जना सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रह्यो ।

विश्वासको मतको विपक्षमा ३७ मत परेको छ। १५ सांसद तटस्थ बसेका छन्। सोमबार प्रदेशसभामा १ सय ८ सदस्य सहभागी थिए । मतदान प्रक्रियामा हानेपाकी १ सांसद भने अनुपस्थित हुनुभएको छ। प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ।

सरकार टिकाउन थप १ मत आवश्यक रहँदा हानेपाका शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएर मुख्यमन्त्रीले संकट टार्नुभएको छ। दोस्रो चरणमा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री दिने केन्द्रीय ‘सहमति’ पछि समाजवादी सकारात्मक भएको हो।

फागुन २३ मा कांग्रेसले आफ्ना ६ मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था पुग्नुभएको थियो।

प्रदेशसभा सभामुख भुवनकुमार पाठकले विश्वासको मत प्राप्त गरेकोमा मुख्यमन्त्री जम्कट्टेललाई बधाईसहित आगामी कार्यकालको शुभकामना दिँदै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गर्नुभएको छ।

मुख्यमन्त्रीले पहिलोपटक २०७९ माघ ३ मा विश्वासको मत लिँदा उहाँलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उहाँले १ सय १० मध्ये १ सय ५ सांसद्को समर्थन पाउनुभएको थियो। त्यति बेला उहाँलाई नेपाल मजदुर किसान पार्टीका ३ सांसद्ले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए। तर, नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उहाँले दोस्रोपटक २०७९ चैत १० मा विश्वासको मत लिनुभएको थियो ।

त्यति बेला उहाँलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उहाँको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसद थिए।

प्रतिक्रिया