नेपाली पत्रकारिताको ‘सिङ्गल पिस’ ऋषि धमला

इनेप्लिज २०८० चैत १७ गते १०:२८ मा प्रकाशित

विश्व पत्रकारिता इतिहासको तुलनामा नेपालको छोटो छ । नेपाली पत्रकारिताको विकास र विस्तार धीमा गतिमा छापा, रेडियो हुँदै टेलिभिजनसम्म आइपुग्यो । नेपाल टेलिभिजनले २०४२ पुस १४ गते पहिलो पटक पाँच मिनेटको समाचार प्रसारण गरेको थियो। त्यतिबेला टेलिभिजनकर्मी दुर्गानाथ शर्माले भनेका थिए– ‘१० मिनेट समाचार पढ्न खोजेका थियौ, सकेनौ। आज पाँच मिनेट प्रसारण गरेका छौ, भोलिदेखि १० मिनेट गर्छौं ।’ रमा सिंहले पढेकी थिइन् त्यो समाचार बुलेटिन ।

छापाको तुलनामा टेलिभिजनको इतिहास अझै छोटो छ । अमेरिकी राष्ट्रपति ट्र्याक्लिन डेलानो रुजबेल्टले सन् १९३९ मा भव्य कार्यक्रम गरेर टेलिभिजनको विधिवत् सुरूवात गरेका थिए । टेलिभिजन ‘ब्ल्याक एन्ड ह्वाइट’ थियो मुस्किलले । उनले भनेका थिए, ‘नयाँ भविष्यको नयाँ युगको सुरुवात हो, टेलिभिजन प्रसारण।’ सन् १९५३ मा आइपुग्दा त्यसले रंगीनको रूप लिएको थियो ।

पहिले नेपालमा पत्रकारहरुका संगठन थिएनन् । बिस्तारै पत्रकारहरुका संघसंस्था बन्न थाले । पत्रकारहरु व्यावसायिक बन्दै गए र नेपाल पत्रकार संघ खुल्यो । राष्ट्रिय समाचार समितिजस्ता न्युज एजेन्सीहरु पनि खुले ्र विचार अनुकूलका संघसंस्था पनि बन्न थाले । श्रमजीवी पत्रकारहरुका संगठन खुले । आफ्नो ‘हुनर’ देखाउनुपर्छ भन्ने केही पत्रकारहरु पनि देखिए । त्यसक्रममा रिपोर्टर्स क्लब नेपालजस्ता क्लब पनि खुले । पछिल्लो समय अनलाइन, सामाजिक सञ्जाल, आदि इत्यादि आएका छन् । झन्डै १० हजारको आसपास अनलाइन मिडिया होलान् ।

रिपोर्टर्स क्लब आफ्नो सक्रिय जीवनको २५औं वर्षमा प्रवेश गरेको छ । क्लबले अर्को वर्ष चौथाइ शताब्दी पूरा गर्छ । त्यो त्यति लामो समय भने हुँदो रहेनछ । मानिसको जिन्दगी पनि आफैँमा त्यति लामो हुँदो रहेनछ । चौथाइ शताब्दी काम सुरू गर्नै लाग्छ । अर्को चौथाइ शताब्दी मजाले काम गर्छ । अर्को चौथाइ शताब्दीमा अनुभवको आवरणमा बुढौती, निष्क्रियता र सिथिलताको अवस्थातिर जान्छ । विस्तारै नयाँ खालका साथीहरूलाई लिँदै जानुपर्छ अनि समयानुकूल ढाँचाकाँचाका साथै गति समाउनुपर्ने हुन्छ ।

बेस्सरी पत्रकारिता गयो भने पनि क्रियाशील हुने उमेर ७०–७५ वर्षसम्म मात्र हो । त्यस हिसाबले आधा शताब्दी एउटा मानिसको कार्यावधि हुन्छ । तर कसै कसैले छोटो जीवनमा पनि उत्पातै काम गर्दा रहेछन् । कवि मोतीराम भट्ट त्यस्ता सत्पात्र हुन् । उनी ३० वर्षको कलिलै उमेरमा बिते । तर उनले भारत जीवन र पाशुपत छापाखाना स्थापना गरे। बनारसमै गोरखा भारतजीवन पत्रिका निकाले । मोतीकृष्ण कम्पनी खोले । कविता र गजल लेखे भानुभक्त आचार्यलाई चिनाए । आदिकवि पनि बनाए ।

घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो, मो भानुभक्त धनि भै कन आज यस्तो ( मेरा इनार न त सत्तल पाटी केही छन्, जे चीज र धनहरु छन् घरभित्र नै छन जस्तो कविता लेखेर भानुभक्तका नाममा छपाए। भानुभक्त तनहुँमा जन्मेका हुन् । न त्यहाँ घाँस काटी बेच्ने पेशवर घाँसी हुन्थ्यो, न त इनार नै थियो। काठमाडौमा इनार हुन्थ्यो, तनहुँमा कुवा । मोतीरामको घर काठमाडौ हो। उनी यहाँबाट वनारस गए। इनार काठमाडौमा पनि छ, वनारसमा पनि छ । घाँस काट्ने पेशा काठमाडौमा थिएन । वनारसमा थियो ।

आज पत्रकारिताको चर्चा गर्दा हामी कवि मोतीरामलाई सम्झन्छौ । उनले छोटो जीवनमै उधुमै गरे। नेपाली पत्रकारिताको इतिहास केलाउँदा मोतीरामले विक्रम संवत् १९४३ मा पहिलो नेपाली पत्रिका निकाले, भारतबाट । नेपालबाट निक्लेको पहिलो पत्रिका भने ‘सुधासागर’ (विसं १९५५) हो । त्यो कालखण्ड गणना गर्दा १३७ वर्षको भएछ नेपाली पत्रकारिता ।

भारतमा इस्ट इन्डिया कम्पनी रहेकै बेला एक जना बिट्रिसले त्योभन्दा धेरै पहिले नै पत्रकारिता सुरू गरेका थिए। पत्रकारिता स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता थियो तिनको । तत्कालीन गभर्नरकी श्रीमतीको कुनै कामका बारेमा आलोचनात्मक टिप्पणी गर्दा उनको जागिर खोसियो ।

पत्रिका नै बन्द गरिएको थियो । केही समय जेल पनि हालियो । ब्रिटिस डेमाक्रेसी वा जे भने पनि आफ्ना लागि स्वतन्त्रता हुन्छ, अरुका लागि नियन्त्रण जरूरी परिहाल्छ । यसबीचमा नेपालमा २०४६ चैत २६ गते राति ११ बजे राजा वीरेन्द्रले अस्पष्ट सम्बोधन गरे । मैले सक्रिय शासन छाडे, संवैधानिक भएँ पनि भनेनन् । सो बहुदलीय व्यवस्था दिएँ पनि भनेनन् । उनले मरिचमानसिंह श्रेष्ठलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए। प्रज्ञाभवनको कार्यक्रममै नागरिक समाजले लोकेन्द्रलाई मान्दैनौ भनेर घेराउ गरेपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए ।

त्यसले हरेक क्षेत्रमा परिवर्तन ल्यायो । जनतामा एउटा आत्मविश्वास, आशा, उत्साह र अपेक्षा जाग्यो । संघसंस्था खोल्न पाइने भो । वाक् तथा प्रकाशन स्वतन्त्रता भयो । त्यतिबेला लोकतन्त्रको आवरणमा केही टाठाबाठा र छट्टुहरु हावी हुन्छन् भन्ने कल्पना पनि गरिदैनथ्यो ।

यसकै पृष्ठभूमिमा रिपोर्टर्स क्लब नेपालको स्थापना भएको हो । सुरुसुरुमा मानिसले यसलाई पत्याएनन् । कतिपय मानिसले हँसिमजाकको विषय बनाए । कसैले उडाए पनि । तर कालान्तरमा रिपोर्टर्स क्लब अन्यायमा परेका मानिसको आश्रय स्थलजस्तो भयो । कसैलाई मर्का पर्यो, कसैले अन्याय गन्यो भने म रिपोर्टर्स क्लबमा जाऊँ त भन्ने स्थिति बन्यो । होइन होइन त्यसो त नगर, यसो गरौंला भनेर बाहिर कम्प्रोमाइज खोज्ने तर रिपोर्टर्स क्लबमा जान नदिनेसम्को स्थिति बन्यो । त्यहाँ पर्दाफास हुन्छ, भन्डाफोर हुन्छ, सार्वजनिक हुन्छ भन्ने खालको जनधारणा बन्यो ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ असोज १८ मा प्रतिगमन सुरू गरे । कति कुरा जायज पनि होलान्, कति कुराको सीमापार पनि भयो होला । तानशाही नियन्त्रणका बेला रिपोर्टर्स क्लबले भूमिगत मानिसलाई समेत ल्याएर बोल्न लगायो । क्लबमा जनताले सुन्न नपाउने आवाज पनि सुनाउने प्रयास गन्यो । त्यो धेरै राम्रो योगदान हो । नेपालको लोकतान्त्रिक जागरण र संघर्षका सन्दर्भमा त्यो महत्त्वपूर्ण कुरा हो। रिपोर्टर्स क्लबले पत्रकारिता क्षेत्रमार्फत नेपालको राजनीतिक परिवर्तनमा पुयाएको योगदान सकारात्मक मात्र होइन, सराहनीय पनि छ । प्रशंसायोग्य छ ।

आगामी दिनमा रिपोर्टर्स क्लबले नबहकिईकन पत्रकारिताको निष्पक्षताको धर्म निर्वाह गर्न सकोस् । जनताको सुसूचित गर्ने हक आफूले पनि उल्लंघन नगरोस् । जनतामा कतैबाट गलत सूचना प्रवाह भयो भने त्यसलाई सही बाटोमा फर्काउने काम गर्न सकोस् । म यही शुभकामना भन्न चाहन्छु ।

हालका दिनहरुमा सामाजिक सञ्जालको बढोत्तरीसँगै रिपोर्टर्स क्लबको भूमिकामा केही कमी अवश्य आएको छ । सूचना सम्प्रेषणमा पहिले रिपोर्टर्स क्लबको एकाधिकारजस्तो थियो। अहिले सामाजिक सञ्जालका कारण त्यो स्थिति रहेन ।

आफ्ना कुरा युट्युबमा अपलोड गरिदिए संसारभरि पुगिहाल्छ । अहिले त्यसलाई ुभाइरलु भन्ने चलन छ । सामाजिक सञ्जालले आम सञ्चारमाध्यमको परिभाषालाई साँच्चै पूर्णता दिएको छ । अब आफ्नो कुरा सर्वव्यापी वा विश्वव्यापी बनाउन पर्यो भने कसैको सहारा र मद्दत चाहिँदैन ।

अब रिपोर्टर्स क्लबले बदलिँदो परिस्थितिमा कसरी आफूलाई उभ्याउँछ ? कसरी आफूलाई प्रतिस्पर्धात्मक ढंगले अगाडि बढाउँछ ? यो निकै चुनौतीपूर्ण छ । यो पत्रकारहरूको म्याद गुजिएको वा आउटडेटेड खालको संस्था नहोस् । संस्था बनाइहालिएको छ, कर्मकाण्ड पुयाइदिँदै गरौं भन्ने वा बिस्तारै गतिविधि न्यून हुँदै वार्षिकोत्सव मात्र मनाउनेमा सीमित नहोस् । रिपोर्टर्स क्लबमा दैनिकोत्सव गर्नुपर्छ । त्यो कसरी कायम हुन्छ, त्यस बाटोमा रिपोर्टर्स क्लब जानुपर्छ ।

ऋषि धमला नेपालको एउटा जर्बजस्त पत्रकार हो । बलजफ्ती आफू र आफ्नो रिपोर्टर्स क्लबलाई परिचित र स्थापित गर्ने र जबर्जस्ती अगाडि बढ्ने व्यक्ति हो । एकेडेमिक क्वालिफिकेसन, आर्थिक अवस्था र पत्रकारिताको अनुभवको परिपक्वता वा अन्य अनेक कुराले ऋषि धमलाजस्तो एउटा ठिटोलाई रिपोर्टर्स क्लब गठन र सञ्चालन गर्न अनुमति दिँदैनथ्यो । जोसुकैले सक्दा पनि सक्दैनथ्यो । अनेक कुराको बावजूद त्यो ऋषि धमला भएर मात्र सकेको हो ।

ब्रान्डेड कम्पनीहरुले कुनै कुनै सिंगल वा स्पेसल आइटम निकाल्छन् । रिपोर्टर्स क्लब पनि सिंगल पिस हो। ऋषि धमला त्यो सिंगल पिस तयार गर्ने अर्को सिंगल पिस हो । नेपालमा अनेक पत्रकार छन् । तर ऋषि धमलाजस्तो अर्को प्रोडक्सन छैन । नेपालको पत्रकारितामा ऋषि धमला सिंगल पिस नै हो ।

(रजतोत्सवको अवसरमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानीमा आधारित)

प्रतिक्रिया