२०९औँ ऐतिहासिक समनपुर बैरिया मेला सुरु

इनेप्लिज २०८० चैत १० गते ९:४७ मा प्रकाशित

रौतहट÷रौतहटको समनपुरमा २०९औँ ऐतिहासिक समनपुर बैरिया मेला शुक्रबारदेखि सुरु भएको छ । नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) को क्रममा रौतहटको समनपुरमा भएको लडाईँमा स्थानीयवासीले अंग्रेज पक्षलाई हराएको सम्झनामा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको समयमा मेला लाग्दै आएको छ ।

पहिले दुई महिनासम्म लाग्दै आएको बैरिया मेला अब चार दिनमा सीमित भएको हो । शुक्रबार ऐतिहासिक समनपुर बैरिया मेलाको एक समारोहबिच संघीय साँसद देवप्रसाद तिमल्सिना र गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

मेलाको उद्घाट गर्दै साँसद तिमल्सिनाले समनपुरलाई ऐतिहासिक ठाउँ भएको बताउँदै समनपुरको विकासमा आफूले सहयोग गरिरहेको र निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसै गरी नगर प्रमुख यादवले पुर्खाले नेपालको इतिहासमा दिएको योगदानको सम्मान गर्न सयौँ वर्षदेखि मेला लाग्दै आएको र वर्तमानमा पुर्खाको योगदानको कदर गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् । नगर प्रमुख यादवले बैरिया मेलाले ऐतिहासिकता बोकेको र होलीको सामान घरघरमा पु¥याउन पनि मदत गरेको बताएका छन् ।

समनपुरको इतिहासलाई उजागर गर्न नेपाली सेनाले दिइरहेको योगदानको पनि नगर प्रमुख यादवले प्रशंसा गरेका छन् । नेपाली सेनाले समनपुरमा युद्ध स्मारकको निर्माण गरेको छ । उदघाटन सत्रमा स्थानीय कलाकारका साथै नेपाली सेनाको टोलीले देशभक्तिसम्बन्धी विभिन्न प्रस्तुतिहरु दिएका छन् ।

उद्घाटन सभालाई सम्बोधन गर्दै प्रदेश राज्यमन्त्री शेख अबुल कलाम आजादले समनपुरको विकासको लागि आफूले प्रदेश सरकारबाट सम्भव भइरहेको प्रयास गरिरहेको तथा संघीय साँसद तिमल्सिनाले अझ बढी प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । राज्यमन्त्री आजादले ऐतिहासिक समनपुरको विकास सबै तहको सरकार मिलेर गर्नुपर्ने धारणा राखेका छन् ।

उद्घाटन सत्रमा विभिन्न वडाध्यक्ष तथा पूर्व वडाध्यक्षले पनि समनपुरको ऐतिहासिकतालाई जोगाउने र पितापुर्खाको पहिचानलाई कायम राख्ने काम मेलाले गरेको धारणा राखेका छन् ।

सोमवारसम्म चल्ने मेलामा होलीका विभिन्न सामग्री पाउनुका साथै फर्निचर, घरायसी प्रयोजनका विभिन्न फलामे सामग्री, किराना तथा खेलतमासाहरु रहेका छन् । मेलामा खेलतमासा भने बाहिरबाट आएको र फर्निचर तथा फलामे सामग्रीहरु जिल्लाको विभिन्न भागबाट बिक्रीका लागि ल्याएको छ ।

मेला भर्न पहिले भारतका साथै नेपालको सिन्धुली, मकवानपुर, बारा, सर्लाही र रौतहटका मानिसहरु आउने गरेका भए पनि हाल स्थानीयहरुको मात्र उपस्थिति हुने गरेको छ ।

मेलामा हरेक दिन र राति पनि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया