धर्मको पगरी लगाएर महिलामाथि हिंसा गर्ने ?

इनेप्लिज २०८० चैत ६ गते १३:०५ मा प्रकाशित

हिन्दु धर्मगुरु आचार्य श्रीनिवास शीतलकृष्ण महाराज कहलिएका व्यक्तिले श्रीमतीमाथि हिंसा गरेको आरोप उनकै विवाहित पत्नीले सञ्चार माध्यमबाट रुँदै न्यायको अपिल गरेकी छन्।

हिन्दु सनातन धर्मशास्त्रमा मानवजातीको भावनात्मक सम्बन्ध विवाह पश्चात् कहिँ कतै सम्बन्ध विच्छेदको बारेमा चर्चा गरेको भेटिँदैन । धर्मको आड बनाएर, पारिवारका सबैको मिलेमतोमा पत्नीको गर्भपतन गराई, सम्बन्ध विच्छेदको लागि श्रीमतीलाई बाध्य पार्नु धर्मको नाममा गरिएको उपहास,कानुनी राज्यको बेवास्ता गरि धर्मभित्र अपराधीकरण गर्नु हो । यस्ता गुरुहरुलाई सनातन समाजले बहिष्कार गर्न सक्नु पर्छ ।

आचार्य श्रीनिवास शीतलकृष्णलाई हिन्दू सनातनि अन्य गुरुहरुले पटकपटक सम्झाएको,अपराध नगर्न अनुरोध गरेको तर नमानेको भन्ने कुरा पनि छापाहरु र सामाजिक सञ्जालमा प्रसस्तै देखिन्छन् । यस्ता अनेकौं प्रयासहरुको बेवास्ता गर्दै आचार्यले आफ्नी श्रीमतीलाई राज्यसँग मात्रै होइन दुनियाँसँग अपिल गर्ने ठाउँमा पुर्याउनु धर्म हो र ? यो सवालको जवाफ कस्ले दिने हो ?

अन्य गुरुहरुले शितलकृष्णलाई पटक–पटक सम्झाएको सम्झाउँदा हिंसा भएको थाहा पाएको,शितल कृष्णकी पत्नीमाथि शितलकृष्णले अत्याचारी र बेविचारी ब्यवहार गरेको पुष्ठि भएको कुरा पनि सञ्चार माध्यमबाट बाहिरिएको छ। यसरी धर्म धर्मगुरुहरूले नै महिलामाथि हिंसा गरेको कुराहरू बाहिरिँदा धर्म गुरुको मात्रै होइन सनातन धर्मको अस्तित्व माथि प्रश्न उठ्ने अवस्था बन्छ ” भन्दा पनि शितलकृष्णले नमानेको भन्ने कुरा बाहिरिँदा पनि पिडितले किन न्याय नपाएको ? हिंसाको विषयलाई पिडितले सार्वजनिक गर्दा पनि सरकारको कार्यनयन गर्ने निकाय,मानवअधिकारकर्मी, महिला अधिकारकर्मी र राजनीतिक दल चुपचाप बसेको देख्दा सर्वसाधारण नागरिक असुरक्षित महशुस गरेका छन् ।

धर्म गुरु बन्ने मन परुनजेल अर्काकी छोरीलाई पाले पुन्य,मारे पाप भनेर अग्नि साक्षी राखेर विवाह गरेर त्याउने र अनेकौं पारिवारिक स्वार्थ सिद्ध हुने नदेखेपछि गर्भपतन गराएर छोड्न मिल्ने कुरा कुन धर्मशास्त्रमा लेखेको छ ?

सम्बन्ध विच्छेदको कारण के ?श्रीमतीसँग उपासना पद्धति मिलेन, बुबाआमासँग राम्रो व्यवहार भएन । मलाई इच्छा लागेन भन्दै बतुराएर सम्बन्ध विच्छेद गर्न पाइन्छ ? यस्ता गुरुले समाजमा कस्तो शिक्षा र दीक्षा दिन्छन् ? समाजका सयौं नागरिकको प्रश्न यहाँ नेर जन्मेको छ ।

पत्नीले पति र पतिको परिवारमा सम्पर्क,सम्बन्ध ,सरसल्लाह नै गर्न निशेध गरेर नयाँ घरजम्मको तयारी गर्नु धर्मको पालना गर्नु हो ? सनातन धर्मावलम्बीले एक पटक सोच्नु पर्ने बेला आएको होइन र ?

सम्बन्ध विच्छेद भन्ने शब्द हिन्दू धर्मशास्त्रमा छ ? छैन । धर्मशास्त्रमा नै नभएको शब्द र कर्म धर्मगुरुले गर्न मिल्छ ? कसले उत्तर दिने ?

धर्मशास्त्रको मर्यादा गर्नु भनेको धर्मले सिकाएका नैतिक पक्षहरुको धारण गर्ने र गराउने कार्य हो । यसरी नैतिक पक्षमा जोडिएका सकारात्मक कुराहरुले मानिसलाई पेसाको कर्मको धर्मसँग एकीकृत हुन सहयोग गर्ने कारण धर्मलाई सामाजिक र आर्थिक कानुनको रुपमन अनुसरण गर्ने,गराउने गरिन्छ । पति र पत्नीविचको सम्बन्धलाई धर्मले सात जुनी सँगै बस्न,सहयत्रामा दुबैले,दुबैलाई साथ दिन,सुख र दुखमा जोडिँदै नयाँ परिवार बनाउँन अग्निसमक्ष सपथ खाने विधि बनाउने पक्षहरुले नै तोड्दै जाने हो भने आउने पुस्ताले के सिक्छ र के सिकाउँछ ? प्रश्न यहाँ पनि जोडिएको छ ।यस्तो बेला पत्नीका मातापिताको अवस्था के भएको होला ? विचार गरौं त ?

कसैको छोरीलाई ल्याएर , दुई/चार वर्ष राखेर,आफ्नो यौनिक मन भरिएपछि , चौरासीवयन्जन चाखे झै महिला चाखेर हिड्नेले व्यवहार मिलेन भनेर पत्नीलाई चटक्कै छोड्न पाइन्छ ?

अझै अदालतमा केही सम्पत्ति नभएको भनेर ऋण देखाएर मुद्दा दर्ता गर्ने पति र पतिका परिवारले त्यो केटीलाई कतिसम्म यातना दिए होलान ! अनुमान गरौं त !

बिहे गरेर श्रीमतीलाई खुसी दिन सकिदैन विवाह किन गर्नु? साधु या जोगी बनेको भए भैहाल्थ्यो नि ! गृहस्थका सुख,दुखसँग लत बसेका यस्ता स्वाँठहरुले त लगौटी दरो बेरेर मसानघाटतिर साधना गरेर बसे फल मिल्छ होला ।

साउन महिनादेखि बेखर्ची भएको कुरा सार्वजनिक गर्दै न्याय माग्न सञ्चार माध्यम पुगेकी पत्नीले अब गर्ने आत्महत्या बाहेक केही छैन ।तर पनि शितलकृष्णको लिला चलेको चलैछ ।

अब भन्नुस ! धर्मगुरुले जे मन लाग्यो त्यही गर्दै हिड्ने ? मात्तिने ? धर्म पेशा हो र ? व्यासपिठको मर्यादा यहि हो र ? पत्नी होइन दासी बनेर सेवा गर्छु भन्दा पनि परिवार नै मिलेर बहिष्कार गर्ने ?

बिहे गर्नेबेला आखाँ फुटेको थियो ।उनकी छोरी या बहिनीलाई यहि ब्यवहार ज्वाईंले गरेको भए उनले के गर्ने थिए । छोरीको जीवनमा विवाह महत्त्वपूर्ण विषय हो र यो संवेदनशील पनि छ । एकपटक घर विग्रियो भने फेरि बसाउन गाह्रो हुन्छ ।यो विषयलाई धर्मले नै समाजमा स्थापित गर्नु पर्छ भनेर हिजो समाजमा स्थापित गराएको विषय थियोे र अझै छ।

हेक्का रहोस् ! शितलकृष्णजी ! तपाईले पत्नी माथि हिंसा गरेर धर्ममाथि खेलवाड गर्ने,बेविचारी मानिस हुनु भयो । अब तपाईं सामाजिक बहिष्कारमा पर्दै हुनुहुन्छ ।गल्ती सुधार्न मानव धर्म हो । त्यसैले तपाईंले तुरुन्तै अन्याय छोडेर सत्यको मार्गमा आफुलाई उभ्याउनुस् ।

सीता ओझा
२०८०/१२/०६

प्रतिक्रिया