दिपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न रुपन्देही अदालतको आदेश

बेद प्रसाद घिमिरे २०८० चैत ४ गते १३:०८ मा प्रकाशित

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई थप आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ ।

काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ ।

रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न रुपन्देही प्रहरीले दीपेशलाई हिरासतमा राखेको हो । ८३ करोड रुपैयाँ हिनामिना भएको भन्दै एक हजार ७३० सहकारीपीडितले उजुरी दिएका थिए । दीपेश यो सहकारीका संस्थापक कोषाध्यक्ष हुन् । सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राई भने फरार छन् ।

सहकारी ठगीको संगठित अपराधमा भइरहेको अनुसन्धानका लागि सहकारीका अध्यक्ष ओम गुरुङ र कर्मचारी दुर्गा चापागाइँ पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् । कास्कीमा पक्राउ परेर हिरासतमा रहेका भविश्वर अर्याल र कुमार रम्तेललाई पनि बयानका लागि रुपन्देही नै पुर्याइएको छ ।

बचतकर्ताको रकम निजी कम्पनी गोर्खा मिडिया ग्रुपमा लगानी गरेको अभियोग लागेका जीबी राईको खोजी प्रहरीले जारी राखेको छ । जीबी राईसँगै सुप्रिम सहकारीकै रकम हिनामिनाको आरोप उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि लाग्दै आएको छ ।

पूर्वउपराष्ट्रपतिका छोरा दीपेशमाथि सुन तस्करीमा संलग्न रहेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ । ६० किलो सुन तस्करीका आरोपी चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग निकट सम्बन्ध बनाएका दीपेश सुन तस्करीमा संलग्न रहेको आशंका गरिए पनि राजनीतिक दबाबका कारण उम्किँदै आएका थिए । दीपेशकै दाइ जितेन्द्र पुनको पनि सुन तस्करसँग तमसुक गरेको भिडियो नै सार्वजनिक भइसकेको छ

प्रतिक्रिया