वासिङ्टन डिसीमा एकाबिहानै झिसमिसेमा ७ जनालाई गोली प्रहार ,२ को मृत्यु ५ घाइते

इनेप्लिज २०८० चैत ४ गते १३:०८ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एकाबिहानै झिसमिसेमा ७ जनालाई गोली प्रहार गरिएको छ। डिसी महानगर प्रहरीका अनुसार गोली लागेका ७ जना मध्ये २ जनाको मृत्यु भएको छ भने अन्य ५ घाइते भएका छन् ।

उक्त गोलीकाण्ड वासिङ्टन डिसीमा आइतबार बिहान भएको हो । डिसी महानगर प्रहरी विभागका अनुसार गोलाबारी बिहान ३ बजेतिर डिसीको ७ औं गल्ली र पी मार्ग उत्तरपश्चिम केनेडी मनोरन्जन केन्द्र बीच नजिकै भएको थियो।

पीडितहरू सबै वयस्क रहेका छन् भने स्थानीय अस्पतालमा लगिएको छ । महानगर प्रहरीका कार्यकारी सहायक प्रमुख जेफ्री क्यारोलले उनीहरुको अवस्थाको बारेमा कुनै जानकारी नभएको बताए ।

ह्वाइट हाउसको उत्तरपूर्वमा करिब एक दर्जन घरसमूह(ब्लक)मा भएको गोलाबारी कसले गर्यो अथवा के कारणले गोली चल्यो भन्ने स्पष्ट नभएको जनाईएको छ । प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन भने कसैको पनि नाम अहिले सम्म सार्वजनिक नगरेको सिएनएनले जनाएको छ ।

यस घटनासँग सम्बन्धित कुनै पनि जानकारी भएमा महानगरीय प्रहरी विभागले सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया