केसी डान्स सेन्टरको छैठौ बार्षिक दिवसमा कलिवुड नाइट -२०२४ सेप्टेम्बर २८ मा हुने घोषणा

इनेप्लिज २०८० चैत ४ गते ०:१७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको छैठौ बार्षिक दिवस बिभिन्न कार्यक्रमको आयोजना गर्दै उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । साथै अमेरिकाका बिभिन्न राज्यहरुमा आयोजना हुने विभिन्न कार्यक्रमहरु मध्ये कै सर्वाधिक चर्चित तथा लोकप्रिय कार्यक्रम कलिवुड नाइट २०२४ सेप्टेम्बर २८ का दिन शनिबार हुने घोषणा गरिएको छ ।

समारोहमा केसी डान्स सेन्टरका संस्थापक द्वय नबिन केसी तथा लुना श्रेष्ठले कलिवुड नाइट -२०२४ सेप्टेम्बर २८ शनिबारका दिन हुने घोषणा गरे । त्यस्तै उक्त कार्यक्रमका कार्यक्रम संचालक परशु तिमल्सिनाले २०८१ सालको बिजया दशमीको घटस्थापनाको ठीक एक हप्ता अगाडी हुने जानकारी गराए ।

साथै बिगत बर्ष झैँ यस बर्ष पनि ठीक त्यही समयमै हुने भन्दै यस क्षेत्रका सबै नेपाली समुदायलाई अहिले देखि नै दिन र समय कलिवुड नाइटलाई छुट्याउन आग्रह गरिएको छ । सबैलाई आफ्नो भित्ते पात्रो( क्यालेन्डरमा )मा चिन्ह लगाउन संस्थापक केसीले आह्वान गरे ।

कार्यकम संचालक परशु तिमल्सिना तथा नबिन केसीले उक्त समयको सेरोफेरोमा त्यस्ता प्रकारका कार्यक्रमहरु नल्याउन आग्रहको साथै उक्त समयमा कार्यक्रम नराख्न समेत अग्रिम रुपमा सबै संघ/संस्था तथा नेपाली समुदायलाई आह्वान गरेका छन् । साथै यस पटक अझ राम्रा प्रस्तुति लिएर आउने प्रतिबद्धताको साथै अहिले देखि नै यस कार्यक्रमको तयारीमा आयोजक जुट्ने बताईएको छ ।

केसी डान्स सेन्टरको छैठौ बार्षिक दिवसमा महाबाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेम राजा महत प्रमुख अतिथि रहेका थिए । यस पटक महतकि जीवन संगिनी कविता महतको पनि गरिमामय उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि महतलाई बालिकाहरुले पुष्प गुच्छाद्वारा स्वागत गरेका थिए । बार्षिक दिवसमा केसी डान्स सेन्टरमै नृत्य सिक्ने बिधार्थीहरु र दोश्रो पुस्ताका बालबालिकाहरुका दर्जनौ प्रस्तुतिहरु रहेका थिए । समारोहमा केसी डान्स सेन्टरलाई हरेक बर्ष गर्ने प्रायोजन गर्ने बिभिन्न व्यवसाय ,संचार माध्यम ,प्रायोजक ,अहोरात्र खटिई सेवा पुर्याउने निस्वार्थ रुपमा सेवा गर्ने स्वयमसेवक लगायतलाई ताम्रपत्र तथा दोसल्ला समेत ओढाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि महतले सम्मान पत्र प्रदान गरेका थिए भने संस्थापक द्वय नविन केसी /लुना श्रेष्ठ लगायतले समेत बिभिन्न व्यक्तिहरुलाई सहयोग गरेका थिए । समारोहमा केसी डान्स सेन्टरको बारेमा अभिभावकको तर्फबाट एक जना ,केसी डान्स सेन्टरलाई प्रशिक्षण कक्ष उपलब्ध गराई सहयोग पुर्याउदै आएका प्रा मेदनी अधिकारी,संघ/संस्थाको तर्फबाट प्रेम संग्रौला ,अधिवक्ता बन्दिता शर्मा दाहालले बोलेका थिए ।

अधिवक्ता दाहालले यस बर्ष देखि बिगत वर्ष भन्दा दोब्बर सहयोग गर्ने घोषणा गरिन । संग्रौलाले केसी डान्स एकाडेमी भएको हेर्न चाहेको र एकाडेमी होस् भन्ने कामना समेत गरे ।

प्रमुख अतिथि महतले पानसमा बत्ति बालि कार्यक्रमको शुभारम्भ गरेका थिए भने प्रमुख अतिथिको तर्फबाट मन्तब्य समेत राखेका थिए । कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान केसी डान्स सेन्टरकै बिद्यार्थीहरुले आफ्नै मौलिक आफ्नै स्वरमा गाएका थिए ।

कार्यक्रम संचालन परशु तिमल्सिना तथा केसी डान्स सेन्टर कै बिधार्थीले सयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया