बाल्टिमोरमा हुने श्रीमद् भागवत सप्ताहमा चौरासीपूजा ,सामूहिक व्रतबन्ध, सामूहिक वेल विवाह,दिव्य कलशयात्रा र सामूहिक झाँकी आदी हुने

इनेप्लिज २०८० चैत २ गते २२:५२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजना हुने श्रीमद् भागवत सप्ताहमा चौरासीपूजा ,सामूहिक व्रतबन्ध, सामूहिक वेल विवाह,दिव्य कलशयात्रा र सामूहिक झाँकी आदी थुप्रै कार्यक्रमहरु हुने भएका छन् ।

अबको ठिक दुई हप्तामा सुरु हुन् लागेको उक्त सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” मा आयोजक समितिहरु अहोरात्र खटिई रहेका छन् । बिभिन्न समितिहरुले द्रुत रुपमा काम गरि रहेको र सबै समिति आ-आफ्नो तयारीमा जुटी रहेको ईनेप्लिज संगको कुराकानीमा जानकारी गराएका छन् ।

आगामी मार्च ३० शनिबार देखि अप्रिल ६ शनिबार (चैत्र १७ – चैत्र २४) हिन्दु बुद्ध मन्दिर परिसरमा वाचनप्रविण पं. दीनबन्धु पोखरेलको प्रमुख बाचकत्वमा बिशाल सप्ताहब्यापी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुनेछ ।

ईनेप्लिजसंगको कुराकानीमा बिभिन्न समितिका स्वयम सेवकहरुले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई सहभागिता जनाउन बिशेष आह्वान गरेका छन् । साथै बिभिन्न समितिमा जिम्मेवार बहन गरेका स्वयम सेवकहरुले सवारी साधन नभएमा पूर्व सूचना दिएमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” मा दर्शन गराउने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

पटक पटक बस्ने बैठकहरुमा सबैलाई आमन्त्रण गरिनुको साथै जो पनि प्रवेश गर्न सकिने बताईएको छ । इनेप्लिजसंगको अन्तर्वार्तामा बिगतमा मन्दिरलाई छिमेकीहरुले अदालत दायर गरेको मुद्धाको कारण केही आर्थिक क्षति भएता पनि अब मन्दिर बनाउने अनुमति पाईएको र मन्दिरको पक्षमा फैसला आएकोले सबै आर्थिक हरहिसाव पारदर्शी रुपमा मन्दिरको सूचना पाटीमा र सामाजिक संजालमा समेत प्रकाशन गरिएको आयोजकले जानकारी दिएका छन् ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दिव्य कलशयात्रा,सामूहिक झाँकी,संगीतमय कथावाचन, भजनकीर्तन ,तुलादान ,१०८ शालिग्राम दर्शन,लाखबत्ती प्रज्वलनपितृमुक्ति हेतु पाठपारायण एवम् दीप प्रज्वलन ,प्रतिदिन रुद्राभिषेक,चौरासीपूजा ,सामूहिक व्रतबन्ध,सामूहिक वेल विवाह तथा हवन एवं सामूहिक ग्रहशान्ति पूजन आदि गरिने छ ।

सप्ताहब्यापी रुपमा हुन लागेको आध्यात्मिक ज्ञान-महायज्ञलाई ऐतिहासिक रुपमा सफल बनाउन “घर घरबाट सब जुटौं, बस्ती बस्तीबाट सबै उठौं र यस महाअभियानमा कोही पनि नछुटौं भन्ने नारालाई उच्च प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया