प्रवासमा ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

इनेप्लिज २०८० चैत २ गते १०:०९ मा प्रकाशित

फिल्म । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपाल झैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो ।

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् ।

उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ । अर्थात् यस अगाडि साउदी अरेबियामा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन । एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलााकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ ।

प्रतिक्रिया