‘नेशनल फिल्म अवार्ड्स युके २०२५’ मा टंक अभिनित ‘कामा’ मनोनीत

इनेप्लिज २०८२ जेठ १४ गते १०:४२ मा प्रकाशित

काठमाडौँ ।

बेलायतमा रहेका नेपाली अभिनेता टंक धमलाले आफ्नो अभिनय करियरमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । उनले मुख्य भूमिका निर्वाह गरेको बेलायती फिचर फिल्म ‘कामा’ ‘नेशनल फिल्म अवार्ड्स युके २०२५’ मा ‘वेस्ट इन्डिपेन्डेन्ट फिल्म’ विधामा मनोनीत भएको छ । यसअघि, डिसेम्बर २०२४ मा इटालीको इन्टरनेशनल मिलान फिल्म फेस्टिभलमा धमलाले ‘कामा’ मा आफ्नो सशक्त अभिनयका लागि ‘उत्कृष्ट अंग्रेजी भाषाको फिचर फिल्म अभिनेता’ को अवार्ड जितेका थिए ।

‘कामा’ को निर्देशन भीमसेन लामाले गरेका हुन् भने निर्मातामा बिक्रम डि. जोशी (कार्यकारी निर्माता), हिराल जोशी, इश्वर श्रेष्ठ र एमजी अमीन छन् । फिल्ममा अभिनेता धमलासँगै समीर गुरुङ, पूजा गुप्ता, म्याथ्यु वेबफोर्ड, जेमिमा टोम्स र मिया बेनेटलगायतका कलाकारहरूले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

कथा स्व. बिशारद बस्नेतले लेखेका हुन् भने पटकथा र संवाद लक्ष्मण सुवेदी, बिक्रम डि. जोशी र हिराल जोशीले तयार पारेका छन् । नेशनल फिल्म एकेडेमी, बेलायतद्वारा आयोजित ‘नेशनल फिल्म अवार्ड्स युके’ बेलायतको सबैभन्दा सम्मानित जनमतमा आधारित अवार्ड समारोहहरू मध्ये एक हो । यो अवार्डले स्वतन्त्र र मुख्यधारा दुवैखाले फिल्म तथा टेलिभिजनमा उत्कृष्टतालाई सम्मान गर्छ । प्रत्येक वर्ष ३० लाखभन्दा बढी प्रशंसकहरूले भोटिङ प्रक्रियामा भाग लिने भएकाले यो अवार्ड बेलायती मनोरञ्जन क्षेत्रमा जनमतको सशक्त प्रतिबिम्ब मानिन्छ ।

यस वर्षको अवार्डमा बक्सअफिस हिट फिल्महरू र प्रशंसित टेलिभिजन प्रस्तुतिहरूसहित कडा प्रतिस्पर्धात्मक मनोनयनहरू समावेश छन् । ‘कामा’ ले ‘ट्रेडिङ वाटर’, ‘डिमाइस’, ‘बिफोर निक्काहा’, ‘ल्याला’, ‘ब्ल्याक क्याव’, ‘फोर मर्दस्’, ‘अ ब्रदर्स बोन्ड’, ‘डोन्ट टर्न आउट दि लाइट्स’, ‘कुक्स्टर–द डार्केस्ट डेज’ र ‘रेपुटेशन’ जस्ता फिल्महरूसँग प्रतिस्पर्धा गर्नेछ ।

नेशनल फिल्म अवार्ड्स युकेको रेड कार्पेटमा विगतमा इद्रिस एल्बा, रोवान एट्किन्सन, केट बेकिन्सेल, बेनेडिक्ट कम्बरब्याच, डुआ लिपा, डेनियल कालुया र जेम्मा आर्टरटनजस्ता विश्वप्रसिद्ध सेलिब्रेटीहरूको उपस्थिति रहँदै आएको छ । ‘१९१७’, ‘बोहेमियन र्‍याप्सोडी’ र ‘पिकी ब्लाइन्डर्स’ जस्ता प्रतिष्ठित कृतिहरूलाई सम्मानित गर्दै यो समारोहले बेलायती र अन्तर्राष्ट्रिय सिनेमामा आफ्नो प्रतिष्ठा स्थापित गरेको छ ।

‘कामा’ को मनोनयन टंक धमलाका लागि मात्र नभई समग्र नेपाली फिल्म उद्योगका लागि गर्वको क्षण हो । यो फिल्मले आफ्नो मौलिक कथावस्तु, सशक्त कथावाचन र भावनात्मक गहिराइका कारण अन्तर्राष्ट्रिय दर्शक र समीक्षकहरूबाट प्रशंसा पाइरहेको छ । ‘बेलायतको नेशनल अवार्डमा मनोनीत हुनु हामी सबैका लागि गर्वको कुरा हो,’ उनी भन्छन्,‘त्यसकारण सबैले ‘कामा’ लाई भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

टंक धमला आगामी २ जुलाई २०२५ मा लन्डनमा आयोजना हुने भव्य समारोहमा ‘कामा’ को प्रतिनिधित्व गर्दै रेड कार्पेटमा सहभागी हुनेछन् । विजेताहरूको घोषणा उक्त समारोहमा फिल्म र टेलिभिजन क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उपस्थितिमा गरिनेछ । धमलाले विश्वभरका नेपाली समुदायलाई ‘कामा’ लाई भोट गरी जिताउन आह्वान गरेका छन् ।

यो मनोनयनले नेपाली फिल्म उद्योगको विश्वव्यापी पहिचान र सम्भावनालाई थप उजागर गरेको छ । ‘कामा’ को यो उपलब्धिले नेपाली स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा प्रस्तुत हुने प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया