आरती शाहको परिवार सरकारबीच पाँच बुँदे सहमति

बेद प्रसाद घिमिरे २०८० फागुन ३० गते २:१२ मा प्रकाशित

लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ।

जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएर उक्त सहमति गरेका हुन्। त्यसक्रममा अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको मन्त्रालयले जनाएको छ।

अनुसन्धान टोलीले मृतक आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र अनुसन्धान थालिएको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।

अनुसन्धान टोलीले आरतीको मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरूका सम्बन्धमा अनुसन्धान गर्नेछ। आरतीको परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान हुनेछ।

घटनाबारे नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएका प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने सहमति भएको छ। घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिनेछ।

अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गरिनेछ। यसैगरी आरतीको परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ। सहमतिसँगै आरतीको परिवारको तर्फबाट भइरहेको आन्दोलन फिर्ता भएको छ।

सहमतिमा परिवारका तर्फबाट निर्मलादेवी साह, दाजु प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया