आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोचोटि विश्वासको मत लिँदै

बेद प्रसाद घिमिरे २०८० फागुन ३० गते २:०६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।

२०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले पहिलो पटक पुष २६ गते संसदमा विश्वासको मत लिनु भएको थियो । यही कार्यकालका दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिनु भएको थियो भने एउटै कार्याकालमा अहिले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा एमाले, रास्वपा, राप्रपालगायतका दलहरुको समर्थनमा २०७९ साल पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिनु भएको थियो ।

पहिलो पटक विश्वासको मत लिंदा नेपाली कांग्रेससहितको समर्थनमा प्रचण्डले २ सय ६८ मत पाउनु भएको थियो जुन ९८ प्रतिशत भन्दा बढी हो । संघीय संसदमा सांसदहरुको २ सय ७५ रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन छोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । त्यसपछि प्रचण्डले पुन : दोश्रो पटक चैत्र ६ गते विश्वासको मत लिनु भयो । यसपटक उहाँले १ सय ७२ मत प्राप्त गर्नु भएको थियो ।

यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित रास्वपा, नेकपा एकिकृत समाजवादी, जसपा लगायतको नयाँ गठबन्धन बनेपछि यही कार्यकालमा प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

हाल कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धनसहितको सरकारका लागि विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।

फागुन २१ गते बनेको नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ ।

हालसम्म प्रधानमन्त्रीलाई पाँच दलको १५२ सांसदको समर्थन जुट्ने देखिएको छ । संसद्‌मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीको चार-चार गर्दा ११६ मत गठबन्धन बाहिर छ ।

प्रतिक्रिया