युरोपको लिथुआनियामा नाभाल्नीका पूर्व प्रमुख कर्मचारी लियोनिद भोल्कोभमाथि हथौडा आक्रमण

इनेप्लिज २०८० फागुन २९ गते २३:४५ मा प्रकाशित

युरोप लिथुआनियामा नाभाल्नीका पूर्व चीफ अफ स्टाफ अर्थात् प्रमुख सहयोगी कर्मचारी लियोनिद भोल्कोभमाथि हथौडा आक्रमण भएको छ ।

रुसी विपक्षी कार्यकर्ता लियोनिद भोल्कोभ जो दिवंगत रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका प्रमुख कर्मचारी हुन् जसलाई मङ्गलबार लिथुआनियाको राजधानी भिल्नियसमा उनको घरबाहिर हमला भएको नाभाल्नीका प्रवक्ता किरा यार्मिसले बताए।

कसैले निजी गाडी (कार)को झ्याल तोड्यो र उनको आँखामा अश्रु ग्यास छर्क्यो र त्यसपछि आक्रमणकारीले लियोनिदलाई हथौडाले हिर्काउन थालेको यार्मिशले सामाजिक सञ्जालमा जानकारी गराएका छन् । प्रवक्ताले भोल्कोभलाई उनको घर बाहिर हमला गरिएको जनाएका छन् ।

नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसन(प्रतिष्ठान)का निर्देशक इभान झ्डानोभका अनुसार भोल्कोभलाई “घर नजिकै” आक्रमण गरिएको थियो । उनको खुट्टामा र हातमा हथौडाले हिर्काएको बताएका छन् ।

लिथुआनियाली अधिकारीहरूले मंगलबारको आक्रमणको अनुसन्धान गरिरहेका छन् । विदेशमन्त्री ग्याब्रिएलियस ल्यान्ड्सबर्गिसले अपराधीहरूले उनीहरूको अपराधको जवाफ दिनुपर्ने र आक्रमणलाई “चकित पार्ने” भन्दै वर्णन गरेका छन् ।

यो हमला रुसको राष्ट्रपति चुनावको केही दिन अघि भएको छ जहाँ राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौं कार्यकाल जित्ने निश्चित रहेको सिएनएनले जनाएको छ ।

रुसमा सबैभन्दा प्रमुख पुटिन विरोधी आवाज भएका नाभाल्नीको गत महिना रूसी कारागारमा मृत्यु भएको थियो। उनको मृत्युमा विश्व नेताहरूको निन्दा र उनका सहयोगीहरूले उनको हत्या भएको आरोप लगाएका थिए। क्रेमलिनले उनको मृत्युमा कुनै संलग्नता नरहेको दावी गर्दै आरोप अस्वीकार गरेको छ।

प्रतिक्रिया