राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २८ गते उम्मेदवारी दर्ता

बेद प्रसाद घिमिरे २०८० फागुन २६ गते २:०५ मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भन्नुभयो, “दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो ।” उहाँको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भावित कार्यतालिकालाई प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ ।” यसअघि राष्ट्रिय सभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो । सहायक प्रवक्ता धमलाले भन्नुभयो, “फागुन २७ गते आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने छ ।” फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको छवर्षे पदावधि सम्पन्न भएको थियो । सोसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रिय सभाले अध्यक्ष चयनको प्रक्रिया अगाडि बढाउन थालेको हो । रिक्त हुन पुगेका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भएका छन् । बाँकी एक सदस्य महिला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुहुने छ । अध्यक्ष नहुँदा उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाको बैठक तथा नियमित कारबाही सञ्चालन गर्नुभएको छ।

प्रतिक्रिया