११४औ अन्तर्राष्ट्रिय महिला दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

बेद प्रसाद घिमिरे २०८० फागुन २५ गते १०:३५ मा प्रकाशित

११४औँ अन्तर्राष्ट्रिय महिला दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ ।

यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्र सङ्घबाट ‘महिलामाथि लगानी गरौँः प्रगतिलाई द्रुत गति प्रदान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । यस वर्ष नेपालमा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव भइन् । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग गर्दै महिलाहरूले विशाल जुलुस निकालेका थिए ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरणमा हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गरेपछि सन् १९११ यो दिवस मनाउन थालिएको हो

प्रतिक्रिया