आऊ प्रिय आऊ !

रामप्रसाद खनाल २०८० फागुन २४ गते २२:३७ मा प्रकाशित

आऊ प्रिय आऊ

भागेर टाढा नजाऊ

तिमीलाई नि नचिनेको हो र ?

ठुला कुरा गरेर फुर्ती नलगाऊ

तिमी र म पनि अब

केही बुँदे सहमति गरौँ

एक अर्काको भर परौँ

फेरी अर्को गठबन्धन गरौँ !

नीति, सिद्धान्त, देश जनता,

यी त सब भन्ने कुरा न हुन !

तिमी पनि उस्तै

म पनि उस्तै

नपत्याए हेरौँ ऐना

छैन कुनै फरक,

देखिन्छौँ दुरुस्तै !

नाम र अनुहार न हो फरक

उस्तै त हो हाम्रो विगत

फुर्ती नगर

घुर्की नगर

तिमीले मेरा विरुद्ध नबोल्नु

म तिम्रा विरुद्ध बोल्दिन

तिम्रो वेश्यावृत्तिको विगत र वर्तमान

मरिजाम म पनि खोल्दै खोल्दिन

नखोल्नु तिमीले मेरो पनि

नबोल्नु तिमीले मेरो पनि

आऊ प्रिय नजिक आऊ

भागेर टाढा नजाऊ

बरु मेरो फेरो समाऊ

तिमीलाई नि नचिनेको हो र ?

ठुला कुरा गरेर फुर्ती नलगाऊ

तिमी र म पनि अब

केही बुँदे सहमति गरौँ

एक अर्काको भर परौँ

फेरी अर्को गठबन्धन गरौँ !

तिमीलाई म राम्रो भाग दिन्छु

मालदार भाग म पनि लिन्छु

बचे खुचेको पिछलग्गुहरूलाई दिन्छु

बढी कनकन नगर

बाहिर बसेर थन थन नगर

मेरो भर पर

न तिमी चोखो

न म चोखो

दुनियाँले थाहा पाउन हुन्न

एक अर्कामा आरोप लाउनु हुन्न

त्यसैले फेरी पनि भन्दै छु

आऊ प्रिय आऊ

भागेर टाढा नजाऊ

तिमीलाई नि नचिनेको हो र ?

ठुला कुरा गरेर फुर्ती नलगाऊ

तिमी र म पनि अब

केही बुँदे सहमति गरौँ

एक अर्काको भर परौँ

फेरी अर्को गठबन्धन गरौँ !

– रामप्रसाद खनाल, March 07, 2024

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया