एउटा जङ्गली ब्वाँसो
छिर्यो शहर शिकार गर्न छोडें भन्दै !
कहिले कता, कहिले कता
वेश्यालयका वेश्याहरू जस्तै !
आफूलाई भर्जिन छु भन्दै
झुक्क्याउँदै, छक्क्याउँदै
बिहान उ एउटा सँग
दिउँसो अर्को सँग
साँझ अर्को सँग
गरिरहन्थ्यो अप्राकृतिक सहवास
उ आफू बाँच्नकै लागि
गर्थ्यो अनेक नाटक र नौटङ्कीहरू
रन भुल्ल पर्थे सोझा गाई र भैँसीहरू
केही भेडा, बाख्रा र गधाहरू
केही स्याल र हुँडारहरू
केही छेपारा र गोरुहरू
यत्तिकैमा अचानक एउटा चाटिरहेको
थारो भैँसीको साथ छोड्दै
हुइँकियो उ तिल्के गोरु भए तिर !
जङ्गली ब्वाँसो लाई गन्दै नगन्ने
आफू बाहेक कोही अरू छ भन्दै नभन्ने
त्यो सिङ फुस्किएको बुढो रोगी गोरु
कुन दिन भिरबाट गुल्टिने हो भर नभएको गोरु
अघि पछि डुक्रिने र आफै कुना थन्किने गोरु
यस पटक पनि पोहोर साल जस्तै
लताक लुतुक्क भयो,
फुर्ती फार्ती पनि खोइ कुन्नि कता गयो
आयो ब्वाँसोका अगाडि र थाल्यो चाट्न
थारो भैँसीले चाटे जसरी
बुझी नसक्नु र अचम्मको कुरा
अझ भनौँ आठौँ आश्चर्यको कुरा
अहिले जङ्गली ब्वाँसो र त्यो गोरु
नारिएर हिँड्न थालेका छन् फेरी
छुटिनु अघि पहिला पहिला जस्तै !
अझै भन्छन् ब्वाँसो र गोरुहरूको एकता गर्छौँ
जङ्गललाई पनि शहर जस्तै सुन्दर पार्छौँ
तर मलाई भने ब्वाँसो र गोरुहरूको एकता
एकता होइन, “खोइ कता ??” भने जस्तै लाग्दै छ
यत्तिकैमा लर लहैमा पछि लागेका गधाहरू
रङ फेरिरहने छेपाराहरू
आकाश थाम्छौँ भन्ने हुटिट्याउँहरू
अनि यी र यिनीहरूका पछाडि लाग्ने
अरू पशुहरू देख्दा,
मरी मरी हाँस्न मन लाग्छ !
म हाँस्छु पनि खित्का छोडेर
तर उनीहरू मलाई नै भन्छन् रे यो बहुलायो
म बहुलाएँ या चाल पाएँ
कुर्दै छु भोली बिहान सम्म
उज्यालो त होस
अनि बल्ल खुल्ने छ होस उनीहरूको
र बुझ्ने छन् मलाई
थाहा पाउने छन् बल्ल
म किन बहुलाएको रहेछु भनेर !
– रामप्रसाद खनाल, मार्च ५, २०२४, हाल अमेरिका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया